मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुराना कलाकारलाई फिल्ममा कमब्याकको हुटहुटी, विरासत जोगाउन कति चुनौती ?

काठमाडौँ– पछिल्लो समयमा नेपाली सिनेमा जगतमा पुराना चर्चित कलाकारले कमब्याक गर्ने ट्रेन्ड नै चलेको छ । कुनै समय अभिनयबाटै राम्रो नाम र दाम कमाइसकेका र लामो समय सिनेमा क्षेत्रबाट टाढै रहेका कलाकारलाई कमब्याक गर्ने हुटहुटी नै चलेको छ ।

केही चर्चित अभिनेता तथा अभिनेत्रीहरु अभिनयसँगै नेपाली भूमिलाई नै छोडेर विदेशमा सेटलसमेत भइसकेका छन् । केही भने सिनेमा क्षेत्रबाट टाढा रहे पनि म्युजिक भिडिओ, विज्ञापन तथा जनचेतनामूलक सन्देशका भिडिओमा अभिनय गर्दै आएका थिए । तर पछिल्लो समय पुराना कलाकारहरु चलचित्रमा पुनरागमन गर्न तम्सिएका छन् । विदेशमा बसेका कतिपय कलाकार पनि फिल्ममा अभिनय गर्नकै लागि स्वदेश फर्कन थालेका छन् ।

महानायक राजेश हमाल सात वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका छन् । दिवाकर भट्टराईको निर्देशनमा रहने फिल्म ‘नरसिंहा अवतार’ मार्फत उनले कमब्याक गर्न लागेका हुन् । नेपाली सिने जगतको सुपरस्टार हिरोको रुपमा परिचित महानायक हमाल पछिल्लो समय म्युजिक भिडिओ, टेलिभिजन कार्यक्रम तथा जनचेतनामूलक सन्देश दिने भिडिओमा व्यस्त हुँदै आएका थिए ।

उनले यसअघि फिल्म ‘शकुन्तला’ मा अभिनय गरेका थिए । त्यसयता उनी कुनै पनि फिल्ममा देखा परेका थिएनन् । अहिले भने उनी फिल्मको तयारीमा छन् । यो फिल्मको लागि उनले दाह्री समेत पाल्न थालेका छन् ।

फिल्म ‘पर्खी बसे’बाट हिट भएका अभिनेता राजबल्लभ कोइराला पनि नेपाली सिनेमामा कमब्याक गर्न लागेका छन् । उनी फिल्म ‘एक्टर’ मार्फत कमब्याक गर्न लागेका हुन् । फिल्ममा उनीसँगै अभिनेता प्रदीप खड्का पनि मुख्य भूमिकामा छन् । कुनै समय राम्रो नाम कमाएका उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए ।

फिल्मको छायांकनलगायत सबै कार्य पुरा भइसकेर यही १५ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको थियो । तर विविध कारण देखाउँदै फिल्म आगामी माघ १६ गते रिलिज गर्ने घोषणा गरेको छ ।

अभिनेत्री विपना थापाले पनि लामो समयपछि कमब्याक गरेकी छिन् । उनले फिल्म ‘ह्रस्वदीर्घ’ बाट कमब्याक गरेकी हुन् । भारतका आशुतोष भारद्वाजसँग विवाह गरेपछि उनी नेपाली सिनेमा क्षेत्रसँग टाढा थिइन् । पछिल्लो समय ‘संघर्ष जिन्दगीको’ फिल्ममा देखिएपछि विपना थापाले कुनै पनि फिल्ममा अभिनय गरेकी थिइनन् ।

उनले नीता फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा अभिनय गरेकी हुन् । फिल्मको निर्माण कार्य सम्पन्न भइसकेको छ । आगामी कार्तिक ३० गते फिल्म रिलिज हुनेछ ।

अभिनेत्री रेजिना उप्रेतीले नौ वर्षपछि नेपाली सिनेमा क्षेत्रमा कमब्याक गरेकी छिन् । उनी फिल्म ‘वरदान’ मा काम गरेपछि अभिनय क्षेत्रबाट टाढै थिइन् । लामो समयसम्म फिल्मबाट टाढा रहेकी रेजिनाले शंकर कोइरालाको निर्देशनमा ‘मोदीबेनी’ मा काम गरेकी हुन् । रेजिनाले लामो समयपछि फिल्ममा अभिनय गरेपनि  व्यावसायिक रुपमा सफल भने हुन सकेन ।  प्रदर्शनमा आएको पहिलो हप्तामै अधिकांश हलले फिल्मलाई उतारे ।

अभिनेत्री ऋचा घिमिरेले पनि लामो समयपछि फिल्म ‘तेलभिसा’ मार्फत कमब्याक गरेकी छिन् । शंकर घिमिरेको निर्देशन तथा लेखन रहेको फिल्म आगामी मंसिर ७ गते रिलिज मिति तोकिएको छ । उनले करिब एक दशकपछि नेपाली सिनेमामा कमब्याक गरेकी हुन् ।

यससँगै अभिनेत्री निरुता सिंह पनि म्युजिक भिडिओमा अभिनय गर्नको लागि  नेपाल फर्किएकी छिन् । उनले करिब १२ वर्षपछि अभिनेता उत्तम प्रधानसँग स्क्रिन शेयर गरेकी छिन् ।

स्टारडमभन्दा पात्रलाई ध्यान दिए पुरानालाई धेरै अवसर छ : निर्देशक पण्डित

निर्देशक तथा फिल्म समीक्षक मनोज पण्डितका अनुसार पुराना कलाकाले आफ्नो पुरानो स्टारडमलाई त्यागेर नयाँ शैलीको प्रयोग गरी फिल्मी क्षेत्रमा काम गर्न सकेमा सुनमा सुगन्ध हुनेछ । यसो गरेमा पुराना कलाकारलाई फिल्मी क्षेत्रमा पुनः स्थापित हुनलाई सहज हुनुको साथै फिल्ममा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ छ ।

‘पुराना कलाकार नयाँ भएर आउँदा चलचित्र क्षेत्रमा धेरै फाइदा हुन्छ । तर पुरानै शैलीमा आयो भने कुनै फाइदा हुँदैन । किनकि सिनेमालाई निर्माण गर्ने प्रक्रिया, दृष्टिकोण फरक भइसकेको छ,’ उनले जोयनेपालसँगको कुराकानीमा भने ।

पुराना कलाकारको कार्यशैली तत्कालीन समयमा परिमार्जित हुन नसकेको कारणले गर्दा चलचित्रबाट विस्थापित हुनु परेको उनको आरोप छ । त्यसले गर्दा अहिले पनि उहाँहरुसँग चुनौती र अवसर दुवै छ । ‘हिजो गरेकै काम र कुरा राम्रो भएको भए उहाँहरु यो क्षेत्रबाट आउट हुन नपर्ने हो । तर उहाँहरुले जुन शैलीमा गरेको काम नै सर्वेसर्वा भएको भए नयाँ कलाकार आइरहँदा उहाँहरु किन विस्थापित हुनपथ्र्यो,’ उनले भने ।

अहिले पनि पुराना कलाकारले पुराना समस्यालाई मनन गरी सुधार गर्दै जानको उनी सल्लाह दिन्छन् । ‘फिल्म क्षेत्रको राजनीति, संस्कृति र प्रक्रिया उहाँहरुले बुझ्नुभएको छ । सिनेमा कसरी बनाइन्छ भन्ने सबै आधारहरु पुराना कलाकारलाई थाहा भएकाले अवसर धेरै छ । तर वैचारिक आधारमा उहाँहरुको धारणा, दृष्टिकोण र अवधारणा फरक छ । कालखण्ड पनि परिवर्तन भइसकेको छ,’ उनले भने ।

पछिल्लो समय नयाँ पुस्ता पनि आइसकेकाले पनि पुरानालाई केही चुनौती हुन सक्ने उनको भनाइ छ । उनले भने, ‘अहिले अर्को पुस्ता आइसकेको छ । उनीहरुको सोच्ने तरिका फरक छ । लेख्न कथा फरक छ । कलाकारिताको मानक फरक मानेका छन् । कार्य शैली र परिधिसँगै कलाकारिताप्रति नयाँ पुस्ताको आफ्नै शैली र व्याकरणको निर्माण भइसकेको छ । पुस्तान्तरण भएकाले गर्दा पनि उहाँहरुलाई चुनौती छ ।’

फिल्ममा कुनै समय थोरै अभिनय धेरै गीत र फाइटलाई फोकस गरे पनि हाल सो उपयुक्त नहुने उनको तर्क छ । कलाकारसँगै दर्शक पनि नयाँ आइसकेकोले आजभोलि हरेक फिल्ममा पात्र र अभिनयलाई ध्यान दिए मात्रै चलचित्रले बजार लिन सकेको थुप्रै उदाहरणहरु रहेका छन् । उनका अनुसार त्यसैले पुराना कलाकारले पनि पात्रलाई ध्यान दिनुपर्छ ।

उनले जोडे, ‘पर्दाभन्दा पनि पात्रलाई ध्यान दिनुपर्छ । अभिनय नदेखिने कुरा हो । अभिनय देखिनुभन्दा नदेखिएर बाँच्नुमा महत्वपूर्ण कुरा हो भन्ने दर्शन नै रुपान्तरण गर्न आवश्यक छ । यसो गरेमा उहाँहरुमा झन निखारता बढछ ।’ बलिउड र हलिउडमा कलाकार जति पुरानो भयो त्यति नै उनीहरुको काम निखारिँदै गएको उनको भनाइ छ । पुराना कलाकारले भव्य काम भइरहेको छ । कमब्याक भएको कलाकारले पनि निकै राम्रो काम गर्दै आएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?