मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाल पुस्तकालयलाई सहयोगको हातेमालो

गण्डकी– विसं २००३ मा स्थापित बागलुङको विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालय सञ्चालनका लागि सहयोग अभियान सुरु गरेको छ । उक्त अभियानअन्तर्गत हालसम्म चार अक्षयकोषसहित रु पाँच लाख सङ्कलन भएको छ ।

बाल पुस्तकालयको स्रोत व्यवस्थापन र दिगोपनाका लागि विभिन्न दाताहरुले अक्षयकोष खडा गरेको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पुस्तकालयका सल्लाहकार परिषद् सदस्य एवं पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले आफ्नी छोरी आराजु श्रेष्ठको स्मृतिमा रु ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गरेका हुन् ।

गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहेका लक्ष्मी थापा, अष्ट्रेलियमा रहेका पुनम थापा, पूजा थापा र काठमाडौँमा रहेका कृपा थापाले आफ्ना दिवङ्गत हजुरबुबा महावीर थापा र हजुरआमा पवित्राकुमारी थापाको नाममा रु ५१ हजार आठ सय १७ को ‘महावीर–पवित्रा स्मृति अक्षयकोष’ स्थापना गरेको सचिव शर्माले बताए ।

यस्तै, पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ गुठी निवासी गगन पुनले आफ्ना बुबा टीकाराम पुनको स्मृतिमा रु ५० हजार राशिको र बागलुङ–२ निवासी सुन्दरी श्रेष्ठले आफ्नी आमा भद्रकुमारी राजभण्डारीको स्मृतिमा रु २५ हजारको अक्षयकोष स्थापना गरे ।

पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी र उनको परिवारको तर्फबाट बाल पुस्तकालयका लागि रु २५ हजार, शिवशक्ति अटोमोबाइल्सका तर्फबाट सञ्चालक शिवशङ्कर शाहले रु २५ हजार, एनप्याब्सन बागलुङ नगर समितिकोतर्फबाट रु १५ हजार प्राप्त भएको पुस्तकालयले जनाएको छ ।

यसअघि गत माघमा आयोजित पुस्तकालयको स्थापना दिवसमा पुस्तकालयका सल्लाहकार परिषद् सदस्य श्याम श्रेष्ठले रु एक लाख सहयोग गरेसँगै बाल पुस्तकालयका लागि सहयोग जुट्न सुरु गरेका थियो ।

यसबीचमा गलकोट नगरपालिका–७ मल्म घर घई हाल जापानमा रहेका तलवीर थापाले रु २० हजार, कूलवीर थापाले रु १० हजार, बागलुङ बजार निवासी मछिन्द्र शाक्यले रु पाँच हजार, सिगाना निवासी बुद्धिविनायक कार्कीले रु पाँच हजार सहयोग प्रदान गर्नुभएको पुस्तकालयले जनाएको छ ।

यस्तै गलकोट, मल्म घर भई काठमाडौँमा व्यवसाय गर्ने राजु थापाले रु पाँच हजार, बागलुङ बजारका व्यवसायी अशोककुमार श्रेष्ठले रु पाँच हजार, पुस्तकालयका पूर्वअध्यक्ष पद्ममचन्द्र राजभण्डारीले रु पाँच हजार र गुठी निवासी गगन पुनले रु तीन हजार प्रदान गरे ।

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालबाट रु पाँच हजार, कोरियामा रहनुभएका सज्जनकुमार सिंहबाट रु पाँच हजार पाँच सय ५५, काठखोला गाउँपापलिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेबाट रु तीन हजार सहयोग प्राप्त भएको सचिव शर्माले जानकारी दिए ।

“बाल पुस्तकालयका लागि बागलुङ नगरपालिका, विभिन्न वडा कार्यालयबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको छ”, उनले भने, “कसैले बालबालिकाका पुस्तकलगायत भौतिक सामग्री प्रदान गरिरहनुभएको छ ।”

बाल पुस्तकालयका लागि आवश्यक पर्ने सूचना–प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङरोगन र साजसज्जाका लागि विभिन्न सामग्री सहयोगदाताहरुले उपलब्ध गराउन सक्ने पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले बताए । उनले बाल पुस्तकालयलाई लागि रु १२ लाख लागत लाग्ने अनुमान गरिएको उल्लेख गरे ।

पुस्तकालयक भवनको छुट्टै कक्षमा बाल पुस्तकालय सञ्चालनमा ल्याउन लागिएको उपाध्यक्ष शर्माले बताए । पुस्तकालयले सेवाको विविधीकरणसँगै आन्तरिक व्यवस्थापन र सुधारका काममा आफूलाई केन्द्रित गरेको उनको भनाइ छ । बाल पुस्तकालय सञ्चालनका लागि जनस्तरबाट आर्थिक–भौतिक सहयोग जुट्नेक्रम जारी रहेको उनले बताए ।

बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै विद्यालय उमेरका बालबालिकामा पठन सीपको विकास गर्ने ध्येयले बाल पुस्तकालय सञ्चालन गर्न लागिएको हो । पुस्तकालयले पठन संस्कृतिको प्रवर्द्धन, भाषा, साहित्य र कलाको जगेर्ना एवं उत्थान, सामाजिक जागरण, सचेतना, सीप तथा नेतृत्व विकास, प्रतिभा पहिचानलगायत गतिविधि सञ्चालन गर्दै आएको छ ।

जहाँनिया राणाकालको प्रतिकूल समयमा स्थापना भएका कारण पनि विद्यामन्दिर पुस्तकालयको छुट्टै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा यस पुस्तकालयलाई लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?