मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुमघाम

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ताप्लेजुङको तिम्बुङ पोखरी

काठमाडौँ– जाडोयाम शुरु भएसँगै हामीमध्ये अधिकांश प्राकृतिक वातावरणमा रमाउन चाहन्छौँ । अझ सामुहिक रुपमा लामो दिनका लागि ट्रेकिङको योजना बनाउन थालिहाल्छौं ।

यदि तपाईँ पनि यस्तै योजना बुन्ने तयारीमा हुनुहुन्छ भने ताप्लेजुङको तिम्बुङ पोखरी उत्कृष्ट गन्तव्य बन्न सक्छ । जसका लागि तपाईंले कम्तिमा एक हप्तादेखि १० दिनसम्मको समय छुट्याउनु पर्ने हुन्छ ।

यो यात्राका लागि तपाईँ काठमाडौँबाट बिर्तामोडसम्म सार्वजनिक यातायातमा जान सक्नुहुन्छ । सार्वजनिक यातायातमा यहाँसम्म पुग्नको लागि तपाईंलाई कम्तीमा एक दिन लाग्छ । झापाको बिर्तामोडबाट थार्पुमा बजार  पुग्नको लागि एक दिन लाग्छ ।

बिर्तामोडबाट स्थानीय क्षेत्रमा पाइने सवारी साधनको प्रयोग गरी थार्पुमा पुग्नुहुन्छ । थार्पुबाट फलैँचा हुँदै बेतैनीसम्म गाडीमा जान सक्नुहुन्छ । यहाँसम्म मात्रै गाडी जाने भएकोले अब तपाईंहरुको पैदलयात्रा शुरु हुन्छ ।

तपाईंको पैदल यात्रा जङ्गल र खोल्साको बाटो हुँदै अघि बढ्छ । जङ्गलबाट आउने चिसो हावामा खोल्साबाट आउने कलकल सङ्गीतले तपाईंको यात्रालाई थप रमाइलो र यादगार बनाउँछ । अझ तपाईँ यी दुई सङ्गीतको समिश्रणमा रमाउन सक्नुभयो भने यात्रामा सुनमा सुगन्ध हुनेछ ।

यो क्षेत्र अलैँची उत्पादनको लागि निकै राम्रो मानिन्छ । त्यसैले यात्राको क्रममा बाटोमा अलैँची र अलैँचीको बोटहरु निकै देख्न सक्नुहुन्छ । यात्रामा तपाईंको भारी बोक्नको लागि सहयोगी स्वरुप स्थानीयहरु तयार रहेर बसेका हुन्छन् । जसले तपाईंको यात्रालाई आवश्यक सहयोग पनि गर्नेछन् ।

ताप्लेजुङ र पाँचथरको बोडर हुँदै यात्रा गर्नुहुन्छ । यहाँ असारदेखि मंसिरसम्म यात्रा गर्नु राम्रो मानिन्छ । करीब तीन घण्टाको पैदल यात्रा पछि तपाईं कालीगाउँ पुग्नुहुन्छ ।

उकालो बाटोमा थकाइ मेट्नको लागि गोठहरु बनाइएको छ । बाटोमा विभिन्न आकर्षक ढुङ्गाहरु तपाईंको पखाईमा बसेका हुन्छन् । ठाडो उकालामा तपाईंले ढुङ्गामा थकान मेट्दै जान सक्नुहुन्छ । यसका साथै यस क्षेत्रमा सानो पाथीभरा पनि रहेको छ ।

सामुन्द्रिक सतहबाट ३६०२ मिटर उचाइमा रहेको यो क्षेत्रमा हिउँजस्तै पर्ने पानीले तपाईंलाई हिमाली क्षेत्रको यात्रा गरेको महसूस गराउँछ ।

करिब ३८०० उचाइमा तपाईंमा बिर्खेचौर भन्ने स्थानमा पुग्नुहुन्छ । यहाँबाट तपाईंको गन्तव्य पुग्नको लागि करिब पाँच किलोमिटर मात्रै बाँकी छ । तर त्यहाँ पुग्नको लागि करिब चार देखि पाँच घण्टासम्म लाग्छ । ढुङ्गाको ठाडो उकालो भएकोले तपाईंलाई यात्रा गर्न केही समस्या हुन्छ ।

बाटोमा कासी धारा भन्ने स्थान भेटिन्छ । सो धाराबाट आउने पानीले हात खुट्टा धोएर तिम्बुङ पोखरी दर्शन गर्नुपर्ने मान्यता रहेको छ । यसो गरेमा मनले चिताएको कुरा पुरा हुने मान्यता रहेको छ ।

सामुन्द्रिक सतहबाट ४२०० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीको आफ्नै अलौकिक तथा प्राकृतिक महत्व रहेको छ । कुनै समय ब्रिटिसका मानिसहरु घुम्न गएको समयमा पोखरी क्षेत्रमा सुनको धातुसँगै सुनको गाई रहेको र ती बटुलेर लिएर गएको मान्यता रहेको छ ।

लिम्बुहरुले पोखरीलाई तिम्बोक बन्दुकको रुपमा लिने गरेका छन् । गाउँमा केही नराम्रो हुने भएमा संकेतको रुपमा सो पोखरी आफैँ  पड्किने गरेको मान्यता रहेको स्थानीयको छ । सो पोखरीलाई नेपाली भाषामा विष्णु पोखरी पनि भनिन्छ ।

पोखरी क्षेत्र वरीपरी कान्छी पोखरी, लक्ष्मी पोखरी, थाङ्मा पोखरी, हाडी पोखरी जस्ता करिब ११ वटा पोखरी रहेको स्थानीय बताउँछन् । ती अधिकांश पोखरीको पानी नीलो सङ्लो पानी, वाफ उडेजस्तो देखिन्छ । यस क्षेत्रमा सगरमाथा र कञ्जनजङ्गाजस्ता अग्ला हिमालहरुलाई नजिकैबाट नियाल्न सकिन्छ ।

बाटोमा काली खोला क्षेत्र रहेको छ । सो क्षेत्रमा करीब १०० भन्दा बढी जनावरको पाइला रहेको विचित्रको ढुङ्गा छ । सो विचित्रको ढुङ्गालाई स्थानीयले ८० पाइले ढुङ्गा पनि भन्ने गरेको पाइन्छ ।

स्थानीयको भनाइ अनुसार सो ढुङ्गामा कुनै समय विभिन्न देवी देवताहरु आएर नाच्ने रमाइलो गर्ने र आफ्नो गन्तव्यमा जाने मान्यता रहेको छ । यति मात्रै नभई गाउँमा केही नराम्रो हुने भएमा सो ढुङ्गाले विभिन्न संकेत पनि गर्छ । यो ढुंगा भएको स्थानमा जानको लागि तपाईंले स्थानीय बासिन्दाको सहयोग लिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?