मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

हामीले खाएको खाना राम्रोसँग नपच्ने कारण के हो ?

बदलिँदो व्यस्त जीवनशैलीले बाहिरी जंकफुडहरुको अत्याधिक सेवन, प्रदुषित वातावरण, अस्वस्थ खानपानका कारण पेटको समस्या धेरैले भोग्दै आएको पाइन्छ । अहिलेको अवस्था त झन बेमौसमी सिजनको छ ।

अहिले भाइरल रोगको संक्रमण पनि उस्तै रहन्छ भने पेटसम्बन्धि रोगले पनि सताउने गर्छ । अहिलेको अवस्थामा अपच, कब्जियत झाडापखला जस्ता समस्या यो समयमा सामान्य जस्ता भइसकेका छन् । मानव शरीरमाकिन अपचको समस्या हुन्छ भन्ने सन्दर्भमा पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

सामान्यतया अपचको समस्या किन हुन्छ ?

खाना राम्रोसँग नचपाइकन खानु, चिल्लो, मसलेदार पिरो खाना खानु, कु–समयमा खाना खानु वा लामो समय भोको बसेर खानु, शारीरिक परिश्रम कम हुनु, काँचो, बासी वा सडेको खाना खानु, मन नलाग्दा नलाग्दै पनि कोचेर बढी खाना खानु नै अपचका मुख्य कारकहरु हुन् ।

गर्मीयाममा अझ बढी अपचको समस्या हुन्छ हो ?

खाना पचाउनमा रक्तसञ्चारको खास भूमिका हुन्छ । रक्तसञ्चारले नै पेटमा खानेकुरा सोस्न र पचाउन मद्दत गर्छ । तर यो पाचनक्रिया गर्मीयाममा निकै सुस्त हुन पुग्छ । किनभने मौसमी प्रभावले जब शरीरको तापमान बढ्छ, त्यसलाई सन्तुलनमा राख्नका लागि रक्तप्रवाह अरुतिर पनि सक्रिय हुनुपर्छ । यसको असर पाचन प्रणालीमा पर्छ । जसले गर्दा खानेकुरा सहज रुपमा पच्दैन । त्यसबाहेक अन्य कारणहरु पनि छन्, जसले गर्दा गर्मीयाममा अपचको समस्या हुन्छ ।

जाडोको तुलनामा गर्मीयाममा शरीरमा धेरै मात्रामा पसिना आउने हुन्छ । यस्तो अवस्थामा शरीरमा पर्याप्त पानी जरुरी हुन्छ । जब पानीको अपुग हुन्छ, त्यसले पाचनयन्त्रमा पनि असर गर्छ । खासगरी खानेकुरा टुक्राउने र सोस्ने क्रियामा बाधा पुग्छ । यसकारण पर्याप्त पानी पिएर शरीरलाई हाईड्रेट राख्नुहोस् ।

मसालेदार र बोसोयुक्त खानेकुराले शरीरको तापक्रम बढाउँछ । जसले गर्दा रक्तसञ्चार पेटमा केन्द्रीत हुन पाउँदैन र पाचन क्षमता कमजोर हुन्छ । जंकफुडमा क्यालोरीको मात्रा बढी र पोषणको कमी हुन्छ । यस्तो खानेकुरा यसै पनि पचाउन सहज हुँदैन ।

गर्मीयाममा अपचको समस्याबाट बच्न के गर्न सकिन्छ ?

गर्मीयाममा पर्याप्त पानी पिउन आवश्यक छ । झोलिलो खानेकुराको सेवनमा जोड दिनुपर्छ । पाचनमा समस्या अर्थात् भार पार्ने किसिमको माछा, मासु, चिल्लो खानेकुरा सकेसम्म कम खानुपर्छ । सहजै पच्ने, फाइबरयुक्त सागसब्जी र फलफूल बढी खानुपर्छ । खानेकुरा खाँदा राम्ररी चपाएर मात्रै खाने गर्नुपर्छ । दही जस्ता प्रोबायोटिकले खानेकुरा पचाउन सहयोग गर्छ । शारीरिक गतिविधि र व्यायामले पनि पाचनलाई सक्रिय गराउँछ । बिहानको समयमा पचाउने क्षमता बढी हुन्छ र विस्तारै घट्दै जान्छ । सोही अनुरुप खानाको मात्रा पनि बिहान पुग्दो र पछि क्रमशः घटाउँदै लैजानुपर्छ । चिया, कफी जस्ता क्याफिनेटेड पेय, चुरोट, रक्सीको मात्रा घटाउनुपर्छ ।

घरेलु उपायहरु के के हुनसक्छन् ?

एक टुक्रा अदुवामा केही थोपा कागतीको रस र बिरे नुन मिसाएर चपाएर खाने । पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएको ताजा अचार खाने । मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने । प्रशस्त पानी पिउने र बान्ता आउन खोज्यो भने नरोक्ने । प्रायःजसो खाना अपच हुने समस्या छ भने बिस्तारै मज्जाले चपाएर खाँदा पाचन राम्रो हुन्छ ।

पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो स्वस्थ छैन भन्ने हुन्छ । त्यसैले मजिराजन्य पदार्थको सेवन बन्द गर्नुहोस् । पाचन प्रणालीका लागि यो विष सरह हुन्छ । गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?