आकाश दीप बाँस ठड्याइ बाँसको टुप्पाबाट मकल: अर्थात् बत्ती राख्ने भाँडो डोरीले बाँधेर बेलुका बत्ती बाल्ने परापूर्व कालदेखि चलिआएको परम्परा हो । बाँस नभएको खण्डमा पलाँस, खयर, पीपल आदि पनि ठड्याउने गरेको पाइन्छ ।
धार्मिक विधिअनुसार घरको अगाडि गोबरले लिपि उक्त स्थानमा चन्दनयुक्त शुद्ध जल छर्केर त्यसमा आसनका रूपमा अष्टदलयुक्त कमल बनाइन्छ ।
त्यसको ठीक बीचमा बाँस वा काठको खम्बा ठड्याइन्छ । उक्त खम्बालाई विभिन्न वस्त्र, पताका, ध्वजा, कलशलगायतले सजाएर त्यसमा दीप राखिन्छ ।
यसैगरी अष्टदलको आकृति पनि बनाइन्छ, जसमा बीचमा ठूलो दीप र अन्य ससाना आठ दीप । यी ससाना आठ दीप धर्म, हर, भूमि, दामोदर, धर्मराज, प्रजापति, पितृ र प्रेत गरी तमनिवासीहरूलाई चढाएको मानिन्छ ।
यसरी झुण्ड्याइएको आकाशदीपलाई पञ्चोपचारले पूजा गरिन्छ। पञ्चोपचारअनुसार गन्धका रूपमा चन्दन, पुष्प, धूप, दीप र नैवेद्य आदि चढाई पूजा गरिन्छ ।
धेरै मानिसहरूले आकाश दीपलाई भगवान् विष्णुसँग जोडेर हेर्छन् । आकाश दीप बाल्दा साक्षात् लक्ष्मीको घरमा प्रवेश गराउने धार्मिक मान्यता पनि रहेको छ ।
लक्ष्मी पूजा भन्दा १५ दिन अगाडि आकाश दीप आराधना गरिन्छ । तिहार भन्दा अगाडिका दीनमा धनधान्यकी देवी लक्ष्मी माता पृथ्वी लोकमा रहने शास्त्रीय मान्यता रहेको छ ।
कार्तिक महिनालाई भगवान् विष्णुको प्रिय महिना मानिन्छ । यसै महिना राति सबैभन्दा धेरै अन्धकार सुरु हुने मान्यता छ । यस्तो निस्पट्ट अँध्यारोमा आकाश चरीहरूले पनि आफ्नो बाटो देखुन् भनी आकाश दीप बालिने भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया