मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो मानसिक रोग हो मिसोफोनिया ?

आवाज सुन्दा झर्को लाग्ने रोगका बारेमा थोरैलाई मात्र जानकारी होला । आवाज सुनेर झर्को लाग्ने, रिस उठ्ने यस्तो पनि रोग हुन्छ र भन्नेजस्ता लाग्नसक्छ । तर यो एक किसिमको मानसिक स्वास्थ्य समस्या हो । ढोका खोल्दा, चर्को स्वरमा कुरा गर्दा, सवारीसाधन गुड्दा वा सुतेको बेला कसैले घुर्दा आउने आवाज धेरैका लागि सामान्य लाग्छ ।

तर हामीमध्ये केहीलाई यी आवाजले तनाव दिन्छ, झर्को लाग्छ र रिस उठ्छ । यस प्रकारको समस्या नै ‘मिसोफोनिया’ हो । ‘मिसोफोनिया कस्तो स्वास्थ्य समस्या हो ?, यो के कारणले हुन्छ, कस्ता जटिलताहरु निम्त्याउन सक्छ ?, उपचार के छ ?’ लगायतका विषयमा मनोविद गोपाल ढकालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश

मिसोफोनिया कस्तो स्वास्थ्य समस्या हो ?

यो एक मनोरोग हो । यो समस्या हुँदा केही आवाज कानमा पुगेपछि भावनात्मक वा शारीरिक प्रतिक्रियामा असर पुग्छ । यस्तो आवाजले रिस उठाउने वा डराउने बनाउन सक्छ । कहिलेकाहीँ अन्य असामान्य प्रतिक्रिया समेत देखिन्छ । भावनात्मक रुपमा चिडचिडाहट हुने, प्रेसर बढ्ने अरुको आवाजहरुले इरिटेसन हुने, भिडभाड कोलाहलमा बस्न नसक्ने, एकान्त ठाउँ रोज्ने लगायतका समस्याहरु हुन्छन् । 

यो समस्यामा कस्ता आवाजहरुले असर पार्छ ?

यस्तो आवाजले असर पर्छ भन्ने कुनै स्पेसिफिक साउन्ड हुँदैन । तर कुनै–कुनै आवाजले भने चिडचिडाहटपन, झर्को लाग्ने समस्या ल्याउन सक्छ । जस्तैः कल कारखानाको आवाज, मोटर गाडी वा ठूला मेसिन, म्युजिक सिस्टम लगायत जुनसुकै आवाज हुनसक्छ ।

यस्तो समस्या के कारणले हुन्छ ?

यो समस्याको ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । मस्तिष्कमा उत्पादन हुने ‘सेरोटोनिन’ र ‘डोपामाइन’ जस्ता मस्तिष्क रसायनहरुको कमी, मानसिक तनाव, मनोरोग, अटिजम तथा जीवनकालमा घटेका केही ठूलो ट्रमाको कारण लगायतले यस्तो हुनसक्छ ।

के–कस्ता लक्षणहरु देखा पर्छन् ?

यो समस्याबाट पीडित व्यक्ति आफूलाई अप्रिय लाग्ने आवाजमा आफ्नो रिस आवेगमा पोख्छन् । केही व्यक्ति आवाजलाई सुन्न नसकी कान थुन्दै सो वातावरणबाट बाहिरिन्छन् । कतिपयमा यस्तो आवाजले नर्भस बनाउने, शरीर तातो हुने, रक्तचाप बढ्ने, छाती दुखेको जस्तो, शरीरभरि नै एक किसिमको दबाब परेको जस्तो अनुभव गराउन सक्छ ।

साथै डर लाग्ने र तनाव हुने पनि हुन्छ । यस्ता आवाजबाट बच्नकै लागि उनीहरू एकान्तमा बस्न रुचाउँछन् । किनकि आवाजहरूले उनीहरूको मनमा एक किसिमको डर पैदा गर्छ । यो रोगले सताएपछि यदि बच्चा हो भने पढाइमा असर गर्ने भयो, विवाहित हो भने वैवाहिक जीवनमा नै असहजता आउनसक्छ । यसैगरी करिअरमा समेत बाधा पुग्न सक्छ ।

यसको उपचार विधि के छ ? साथै यो रोग पूर्ण रुपमा निको हुन्छ या हुँदैन ?

यस समस्याको उपचार विधि भनेकै साइकोथेरापी र मनोपरामर्श हो । मानसिक समस्याहरु लगभग पूर्ण रुपमा ठिक हुन गाह्रै पर्छ । वर्तमान समयमा यसको उपचार पत्ता नलागे पनि विभिन्न उपचार विधि अपनाएर लक्षण कम गर्ने प्रयास गरिन्छ । जसमा म्यानेजमेन्ट प्रोटोकल, टिनाइटस रिट्रेनिङ थेरापी, कग्नेटिभ थेरापी र मनोपरामर्श पर्छन् ।

कुन उमेसमूहका व्यक्तिहरुमा यो समस्या बढी मात्रामा देखिने गर्छ ?  

यो रोग यो उमेरसमूहलाई लाग्ने भनेर कुनै उमेरहद हुँदैन । जुनसुकै उमेरसमूहमा पनि देखिन सक्ने समस्या हो ।  हरेक पाँच जनामध्यमा एक जना व्यक्तिमा यो समस्या देखापर्छ । किशोराअवस्थामा यो समस्या बढी देखिनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?