मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तिब्बतमा रहेको सिसापाङमामा नेपालको झण्डा फहराउँदा…

काठमाडौँ– चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा पहिला पुग्ने भन्ने देशीय प्रतिस्पर्धामा नेपालकी कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पाले बाजी मारिन् ।

उनले नेपालको राष्ट्रिय झण्डा चीनको सबैभन्दा अग्लो चुचुरोमा फहराइन् । “धेरै विदेशीलाई पछि पारेर पहिलो नेपाली महिलाको कीर्तिमान बनाउँदा एकदमै खुसी छु”, पर्वतारोही दावा याङ्जुम शेर्पाले कुराकानीमा भनिन्, “चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरूभन्दा चाँडो आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा छुट्टै खुसी र गौरवको अनुभूति हुँदो रहेछ ।”

शेर्पाले आफ्नै प्रयासमा उक्त इतिहास रचेकी हुन् । “जे जस्तो भए पनि चीनमा गएर देशको झण्डा फैलाउन पाउँदा निकै खुसी लागेको छ”, उनले भनिन्, “विदेश गएपछि मात्रै नेपालको महत्त्व थाहा हुन्छ । युरोप अमेरिकामा भन्दा सिशापाङ्मा आरोहण गरेर नेपालको झण्डा फहराउन पाउँदा बढी भावनात्मक भइँदो रहेछ ।”

अदम्य साहस र मेहनतले मानिसलाई सफलताको शिखर चढाउँछ । शेर्पाको अनवरत प्रयासले सिशापाङ्माको शिखर मात्रै पुर्‍याएन । एक पटक विश्वभरको ध्यान उनीतर्फ केन्द्रित भएको छ । करिब २० दिनको अथक सङ्घर्षमय शिखर आरोहणले दावा याङ्जुम सिशापाङमाको सफल आरोहण गरेर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् ।

दोलखाको रोल्वालिङकी ३३ वर्षीया दावाले यही असोज १६ गते बुधबार बिहान ५ बजे तिब्बतस्थित विश्वको १४ औँं अग्लो (८०२७ मिटर) अग्लो सिसपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान आफ्नो पोल्टामा पारेकी हुन् ।

सर्वोच्च शिखर सगरमाथाको चार पटक सफल आरोहण गरिसकेकी दावाले नयाँ कीर्तिमान कायम गरेकी हुन् । आरोही शेर्पाले अब पनि ‘क्लाइम्बिङ गाइड’लाई नै निरन्तरता दिने बताइन् । “जानेको यही क्षेत्र ९माउन्टेन गाइड० नै हो, पहिलाभन्दा बढी अनुभव भएको छ, बाँकी जीवन यही क्षेत्रमै सक्रिय रहने योजना छ । भविष्यमा आफ्नो कामलाई अझ प्रभावकारी बनाउने योजना छ,” उनले भनिन् ।

दावा याङ्जुम पछिल्लो समय पछाडि परेका महिलाहरूलाई पर्वतारोहण क्षेत्रमा तालिम दिलाउने, जलवायु परिवर्तनको असरले पुर्‍याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने लगायतका अभियानमा संलग्न छिन् । उनी सन् २०१८ देखि विश्व प्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोलेक्स घडी ब्रान्डको दूतका रुपमा पनि आबद्ध छिन् ।

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने स्पेनकी एडुर्न पासावान विश्वकै पहिलो महिला हुन् । उनले १४ वर्षअघि यो रेकर्ड हात पारेकी थिइन्।

दावा याङजुम अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एसियाकै पहिलो महिलासमेत हुन् । हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरुष गाइड रहेका छन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन सङ्घले माउन्टेन गाइडलाई प्रमाणीकरण गर्दै आइरहेको छ । उहाँको नाममा मकालु हिमालमा २० घण्टामा स्पिड क्लाइम्बिङ (महिला) को कीर्तिमान पनि छ । दावा याङ्जुमले कुमार खड्ग विक्रम साहसिक पुरस्कार, तेन्जिङ हिलारी अवार्डलगायतका धेरै पुरस्कार पाइसकेकी छन् ।

महिला आरोहणलाई प्रोत्साहन गर्न दावाको आरोहणले योगदान पुग्ने यस क्षेत्रका विज्ञहरूको विश्वास छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कीर्तिमानी आरोही दावा याङजुमको सफलताले महिला पर्वतारोहीलाई प्रोत्साहन गर्ने बताए ।

“पर्वतारोहणमा कायम भएका नयाँ कीर्तिमानले नेपालको पर्यटन विश्वबजारमा प्रवर्द्धनमा मद्दत पुग्नुका साथै बढीभन्दा बढी आरोहीलाई हिमाल आरोहणमा आकर्षण गर्न पनि प्रोत्साहन मिल्छ”, उनले भने ।

सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोहणको पछिल्लो कीर्तिमानले नेपाल गन्तव्यको प्रवर्द्धनका साथै आरोहीलाई थप आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “नेपाली आरोहीको विश्व कीर्तिमानले पर्वतारोहणमा सकारात्मक प्रभाव पर्छ, यसले गर्दा पर्वतारोहणमा आरोहीको चासो बढ्ने र हामीले पनि गर्न सकिने रहेछ भनेर मनोबल बढ्नेछ, नेपालको पर्यटन प्रवर्द्धनका साथै स्वदेश तथा विदेशमा आरोहणको चासो बढाउँछ । युवापुस्तालाई आरोहणमा आकर्षण गर्न पनि मद्दत पुग्नेछ ।”

निमा रिञ्जी शेपाको नयाँ कीर्तिमान
कान्छा आरोही निमा रिञ्जी शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । १८ वर्षीय शेर्पाले आठ हजार मिटरभन्दा माथिका सबै हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोही बनेका हुन् । शेर्पाले सिसापाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल हुनुभएको छ । रिञ्जी शेर्पाले असोज १६ गते बिहान सिसापाङ्मा हिमालको सफल आरोहण गरेका थिए । शेर्पाले ‘ह्यासट्याग शेर्पा पावर’ प्रोजेक्ट परियोजनामार्फत आठ हजार मिटरमाथिका १४ वटा हिमाल चढ्ने परिकल्पना गरेका थिए ।

तिब्बतको सिसापाङ हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर काठमाडौँ फर्किएका कीर्तिमानी आरोहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?