मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैँ विदामा दर्शन गर्न जाने होइन त पाथीभरा मन्दिर ?

काठमाडौँ– अहिले दशैँको विदा चलिरहेको छ । दशैँको समयमा देवीलाई पूज्ने चलन पनि छ । यो समयमा देशका विभिन्न ठाउँमा रहेका देवीहरुको मन्दिरमा दर्शनार्थीको घुइँचोसमेत लाग्ने गर्दछ । त्यसमध्ये एक हो ताप्लेजुङको पाथीभरा मन्दिर ।

सामुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको यो मन्दिर ताप्लेजुङको सदरमुकाम फुङलिङबाट १९.४ किलोमिटर यात्रा गरेपछि पुगिन्छ । यो मन्दिर नेपालमा मात्रै नभई भारतमा पनि चर्चित छ ।

करिब एक दिनको पैदल यात्रापछि फुङलिङबाट पाथीभरा मन्दिर पुग्न सकिन्छ । पाथीभरा जानको लागि तपार्इं काठमाडौँबाट ताप्लेजुङसम्म गाडी वा हवाईमार्गबाट जान सक्नुहुन्छ । ताप्लेजुङबाट काफ्लेफेदी भन्ने ठाउँँसम्म जीपमा जान पाइन्छ । जीपमा करिब डेढ घण्टाको यात्रापछि काफ्लेफेदीमा पुग्नुहुन्छ । यहाँबाट करिब एक घण्टाको पैदल यात्रा पछि ठूलोफेदीमा पुग्नु हुन्छ ।

ठूलोफेदीमा बस्नको लागि होटेलहरुको व्यवस्था छ । बेलुका बास बसेपछि पाथीभरा मन्दिरको दर्शनको लागि पैदल हुँदै जानु पर्छ । मन्दिर जानको लागि ढुङ्गा बिछ्याएर भ¥याङको बाटो  निर्माण गरिएको छ । करिब तीन देखि चार घण्टाको पैदल यात्रापछि पाथीभरी मन्दिरमा पुग्नुहुन्छ ।

उकालो बाटो भएकाले केही समस्या हुन सक्छ । त्यसको लागि ठाउँ ठाउँमा बस्ने चौतारीको व्यवस्था गरिएको छ । पैदल यात्रुलाई लक्षित गरी ठाउँ ठाउँमा शौचालय र फोहर फाल्नको लागि डस्बिनको व्यवस्था गरिएको छ ।

बालबालिका र पाका उमेरका व्यक्तिहरुलाई थप गाह्रो हुने भएकाले बाटोमा सहजकर्ता पनि बस्ने गर्छन् । समस्या भएका व्यक्तिहरुलाई आवश्यक सहयोग तथा सहकार्य उनीहरुले गर्नेछन् । बाटोमा पाथीभरा मन्दिरको उत्पत्ति र महत्वबारे विभिन्न कलाकृतिहरु कुँदिएका छन् ।

धार्मिक महत्व बोकेको पाथीभरा मन्दिरमा दशैँको नवरात्रीको समयमा घुइँचो लाग्ने गर्छ । यो समयमा यहाँ विशेष खालको पूजाआजा र आराधना हुने गर्दछ । अन्य समयमा पनि यहाँ जाने दर्शन गर्नेहरुको घुइँचो लाग्ने गर्छ । यात्राको अन्त्य हुँदै सुनिने घण्टीको आवाजले तपाईंलाई थप आनन्दित बनाउँछ ।

पाथीभरा मन्दिरको दर्शन गरेमा सन्तान नभएकोहरुले सन्तान प्राप्त गर्ने, साँचो मनले चाहेको इच्छाहरु पुरा हुने, ग्रह काट्ने, सोचेको कुरा पुरा हुने धार्मिक मान्यता रहेको छ । अधिकांश व्यक्तिहरु आफ्नो भाकल पुरा गर्नको लागि परेवाको बली दिने, उडाउनुका साथै धाँगो बाध्ने पनि गर्ने गर्छन् ।

यहाँ गणेशको पूजा गरेपछि शिवको पूजा गरिन्छ । शिवको पूजा गर्दा सन्तान माग्ने, मनको इच्छा माग्ने काम गरिन्छ र घण्टी चढाउने गरिन्छ । साथै भैरवको पूजा गरिन्छ र धागो बेर्ने गरिन्छ । वन देवता, खोला, पितृ र सूर्यसहित ९ वटै ग्रहलाई पूजा गर्ने गरिन्छ र मूलथानलाई पूजा गरिन्छ ।

यहाँ श्री पाथीभरा क्षेत्र संरक्षण तथा संवद्र्धन समितिको व्यवस्था गरिएको छ । समितिमा बस्ने पुजारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मन्दिरमा आउने व्यक्तिहरुलाई आवश्यक सहयोग गर्दै आएका छन् । जाडो र लेक लागेको व्यक्ति र भोक लागेको बालबालिकालाई तातो पानी, दूध बिस्कुटको व्यवस्था पाथीभरा विकास समितिले गर्दै आएको छ । यसका साथै सशस्त्र प्रहरीको सहयोगमा औषधीको व्यवस्था समेत गरिएको हुन्छ ।

मन्दिरमा आउने व्यक्ति तथा यात्रुहरुलाई ठगीबाट बचाउनका लागि खाजा र गाडीभाडाको दररेट तोकिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको व्यवस्था गरेको छ ।

धार्मिक महत्व बोकेको पाथीभरा मन्दिर प्राकृतिक र पर्यटकीय महत्व पनि बोकेको छ । पाथीभरा परिसरबाट परसम्मको कञ्चनजंघा, मकालु, यालुखाङ, सगरमाथालगायत टाढा टाढाको हिमालहरुलाई पनि नजिकबाट नियाल्न सकिन्छ । सेता हिमालसँगै हरिया वननजङ्गल, पहाड, चिसो सिरोटोलाई महसूस गर्न सक्नुहुन्छ । माथिको उचाईबाट तल बगेको बादललाई नियाल्न सक्नुहुन्छ ।

यहाँ जानको लागि तपाईंलाई करिब तीनदेखि चार दिनको समय छुट्याउनु पर्छ । मन्दिरमा दर्शन गरेर फर्कनको लागि करिब १० देखि १२ हजारसम्म खर्चको आवश्यकता पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?