मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाढीपहिरोसँगै बढ्ने संक्रामक रोगको जोखिमबाट कसरी सतर्क रहने ?

दशै‍ँको मुखैमा मनसुन सक्रिय हुँदा बाढीपहिरोले देश नै तहसनहस बन्यो । यस्ता प्राकृतिक विपद्लगत्तै स्वास्थ महामारीको जोखिम पनि सधैँ उच्च रहन्छ । यतिबेला अधिकांश मानिसहरु बिरामी परिरहेका छन् । यस्तो अवस्थामा पानीजन्य रोग फैलिने सम्भावना उच्च हुन्छ । यसै सन्दर्भमा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश–

बाढीपहिरोसँगै कस्ता संक्रामक रोगहरु फैलन सक्छन् ? यस्तो अवस्थामा हामीले कस्तो स्वास्थ्य सर्तकता अपनाउने ?

विशेषगरी बाढीको समय पानीजन्य रोग फैलिने सम्भावना उच्च हुन्छ । हैजा, टाइफाइड, इकोलाई, लेप्टोस्पाइरोसिस, भाइरल हेपाटाइटिस ए र ई, छालारोगको संक्रमण जस्ता रोग पानीकै कारण लाग्ने गर्छन् । तर यी रोग बाहेक झाडापखाला तथा ज्वरोका लक्षण देखाउने तर पुष्टि नभएका अनेकौं संक्रमण पनि यस्ता विपद्का समयमा बढी देखिने सम्भावना रहन्छ ।

टाइफाइड

टाइफाइड ‘सालमोनेला टाइफी’ नामक ब्याक्टेरियाको कारणले हुन्छ । यो नेपालमा चिरपरिचित रोग हो । ज्वरो आयो कि टाइफाइड होला भन्ने डर अहिले पनि नेपाली समाजमा देखिन्छ । यो मुख्यगरी ब्याक्टेरिया संक्रमित पानी तथा खानेकुराबाट सर्ने र फैलिने गर्छ । उच्च ज्वरो, वाक–वाक लाग्नु, पेट दुख्नु, टाउको/जीउ दुख्नु, कब्जियत वा पातलो दिसा लाग्नु र कतिपयमा रातो बिमिरा देखिनु यसका मुख्य लक्षणमध्येमा पर्छ । समयमा उपचार नपाए आन्तरिक रक्तस्रावको कारणले मानिसको मृत्यु समेत हुनसक्छ । यो रोगबाट बच्न सफा पानी, खानेकुरा तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । टाइफाइडविरुद्ध खोप पनि लगाउन सकिन्छ ।

हैजा

भिब्रियो कोलेरा नामक ब्याक्टेरियाको कारणले यो रोग लाग्ने गर्छ । नेपालमा दशकौंदेखि देखिँदै आइरहेको र विगतमा उल्लेखनीय रुपमा मानवीय क्षति समेत गराएको यो ब्याक्टेरिया काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अहिले पनि देखिँदै आइरहेको छ । तीव्र गतिमा फैलिन सक्ने र जटिलक हैजा देखिएको अवस्थामा केही घण्टाभित्र उपचार नपाए बिरामीको मृत्यु समेत हुने गर्छ । तारन्तार पखाला लाग्नु, बान्ता हुनु, मांसपेशी बौडिनु हैजाका मुख्य लक्षण हुन् ।

तर रोगको निश्चितता भने दिसाको कल्चर गरेपछि मात्र हुने गर्छ । हैजा संक्रमित अधिकांशमा लक्षण खासै कडा नहुने वा लक्षणविहीन हुने भएपनि यस्ता संक्रमितले आफू संक्रमित भएको १० दिनसम्म पनि ब्याक्टेरिया अरुलाई सार्न सक्छ । तसर्थ हैजाबाट बच्न वा थप फैलिन नदिन सुरक्षित पानीका साथै व्यक्तिगत सरसफाइमा ध्यान दिन अति आवश्यक पर्छ । हैजाविरुद्ध खोप उपलब्ध भएपनि नेपालमा भने अधिकांशलाई थाहा नै छैन ।

इकोलाई

पछिल्लो केही वर्षयता नेपालमा उपलब्ध पिउने पानीमा यो ब्याक्टेरिया निरन्तर देखिने गरेको पाइन्छ । इकोलाई ब्याक्टेरियाको एस्टेक प्रजाति सबैभन्दा बढी जटिल इकोलाई मानिन्छ । यसले मिर्गौला फेल समेत गराउन सक्छ । नेपालमा जारको पिउने पानीमा विगत केही वर्षदेखि इकोलाई देखिँदै आइरहेको भनेपनि कुन प्रजातिको भन्ने सार्वजनिक पुष्टि हुने गरेको पाइँदैन । संक्रमण भएको तीनदेखि आठ दिनमा यसको लक्षण देखिन सक्छ । रगत मिसिएको पातलो दिसा, ज्वरो, बान्ता तथा पेट बौडिनु जस्ता लक्षण संक्रमितमा देखिन सक्छ । बाढी आउँदा इकोलाई पनि व्यापक देखिने गरेको विभिन्न देशमा गरिएका अनुसन्धानहरुले देखाएका छन् ।

भाइरल हेपाटाइटिस ए र ई

सर्वसाधारणले जण्डिस भनेर चिन्ने रोग नै भाइरल हेपाटाइटिस हो । तर जन्डिस भाइरल हेपाटाइटिसको लक्षणमध्ये एक हो । हेपाटाइटिस ए र ई खासगरी संक्रमित पानीबाट फैलिन्छ । नेपालमा यी दुवै हेपाटाइटिस धेरैजसो गर्मी र वर्षायाममा देखिँदै आएको पाइन्छ ।

ज्वरो आउनु, खानामा रुचि घट्नु, पेट असहज महसुस हुनु, दिसा खैरो देखिनु, पिसाब कालो देखिनु तथा आँखाको सेतो भाग पहेँलो हुनु हेपाटाइटिस ए का मुख्य लक्षण हुन् । तर धेरैले आँखाको सेतो भाग पहेँलो भएपछि मात्र आफू संक्रमित भएको शंका गर्छन् । हेपाटाइटिस ई का लक्षणहरु पनि ए सँग धेरै हदसँग मिल्ने गर्छ । तर संक्रमित गर्भवती महिलामा हेपाटाइटिस ई को मृत्युदर ३० प्रतिशतसम्म रहेको पाइन्छ ।

छालारोगको

विश्वमा नै बाढीग्रस्त क्षेत्रमा छालारोगको ठूलो समस्या हुने गरेको पाइन्छ । बाढीमा मिसिएर आउने विभिन्न संक्रमण, रसायनले गर्दा छालामा समस्या देखिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । समयमा पुष्टि गरेर उपचार गर्न सके जटिलताबाट भने बच्न सकिने छ ।

लेप्टोस्पाइरोसिस

लेप्टोस्पाइरा विशेषगरी बाढी गएको बेला देखिने गरेको विभिन्न देशमा गरिएको अध्ययनले देखाउँछ । संक्रमित जनावर अझ विशेषगरी संक्रमित मुसाको पिसाबबाट यो ब्याक्टेरिया फैलिने गर्छ । यो ब्याक्टेरिया माटो तथा पानीमा महिनौंसम्म पनि जीवित रहन सक्छ । लेप्टोस्पाइरा ब्याक्टेरिया काटिएको छाला, नाक, मुख, आँखा र संक्रमित खानेकुरा वा पानीको प्रयोगबाट पनि सर्ने गर्छ ।

संक्रमण भएको दुईदेखि ३० दिनमा लक्षणहरु देखापर्छन् । लक्षणहरुको दुई चरणमध्ये पहिलोमा ज्वरो आउने, जीउ दुख्ने, वाकवाक र बान्ता हुनसक्छ । धेरैलाई पहिलो चरणमै रोग निको हुने गरेको भएपनि बिरामी दोस्रो चरणमा प्रवेश गरे जटिल अवस्था निम्तिन सक्छ । दोस्रो चरणमा मृर्गौला, कलेजो तथा मस्तिष्कमा असर पार्ने हुन्छ । समयमा पहिचान गरी उपचार गरे रोग पूर्णरुपमा निको हुन्छ ।

अन्तयमा यो अवस्थामा संक्रमणबाट बच्न के सुझाव दिन चाहनुहुन्छ ?

समग्रमा बाढीपहिरोपछि संक्रमणको महामारी फैलिनसक्ने जोखिम सधैं उच्च हुने भएकाले सम्बन्धीत निकायको ध्यान सफा र सुरक्षित पानीको व्यवस्थापनमा जानु अति जरुरी हुन्छ । बाढी प्रभावित वा विस्थापितहरुले पनि व्यक्तिगत सरसफाइमा सचेत रहन अति जÞरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?