मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालबालिकाले खराब बानी सजिलै सिक्न सक्छन्, कसरी जोगाउने ?

काठमाडौँ– भनिन्छ, केटाकेटी भनेका काँचो माटो हुन्, उनीहरुलाई जस्तो सिकायो । त्यस्तै बन्छन् । वरिपरिको वातावरणअनुसार केटाकेटीको भविष्य निर्धारण हुन्छ । देखेका र सुनेको कुराहरु केटाकेटीले छिट्टै टिप्छन् ।

राम्रो नराम्रो उनीहरुलाई धेरै थाहा नै हुन्न । अभिभावकले केटाकेटीको स–साना व्यवहारलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यदी बच्चाहरुले गलत कुरा सिकिरहेका छन् भने उनीहरुलाई सही बाटोमा ल्याउने जिम्मेवारी पनि अभिभावककै हो ।

आज हामी यस्ता पाँच गलत बानीबारे जानकारी दिन गइरहेका छौँ, जुन बच्चाहरुले छिट्टै सिक्ने गर्छन् ।

आफ्नो गल्ती नमान्ने

कतिपय बच्चाहरु आफ्नो गल्ती स्वीकार गर्न तयार नै हुँदैनन् । आफ्नो गल्ती स्वीकार गर्न नसक्ने बच्चाहरुमा झूठो बोल्ने समस्या पनि हुन सक्छ । यसको लागि उनीहरुले आफ्नो गल्ती स्वीकार गर्न अभिभावकले नै सहज वातावरण बनाइदिनुपर्छ । यसो हुँदा उनीहरु कुनै धक नमानी सत्य कुरा भन्न तयार हुन्छन् ।

कुरा टार्ने

बच्चामा देखिने अर्को खराब बानी कुरा टार्ने पनि हो । कुरा टार्ने बानी पनि बच्चाहरुले छिट्टै सिक्छन् । खासगरी उनीहरु भित्रैदेखि खुसी नभएका बेला यस्तो बानी सिक्ने सम्भावना रहन्छ । कुरा टार्ने बानीले गर्दा बच्चाले होमवर्क गर्न हिचकिचाउने, भनेको नमान्नेजस्ता समस्या देखा पर्न सक्छ । केटाकेटीलाई यस्तो बानी छाड्न निकै मुश्किल पर्छ ।

अरुको बेवास्ता गर्ने

आफूबाहेक अरु सबैको कमीकमजोरी मात्रै देख्ने कसैकसैको बानी हुन्छ । यो खराब बानीलाई पनि बच्चाहरुले चाँडै सिक्ने गर्छन् । त्यसैले बच्चाहरुमा सानैदेखि अरुको कुरा सुन्न सक्ने क्षमता विकास गर्नुपर्छ । यसका लागि अभिभावकले पनि बच्चाहरुको कुरा सुन्ने, उनीहरुको राम्रो पक्षलाई प्रोत्साहन गर्ने र नराम्रो पक्षलाई निरुत्साहन गर्नुपर्छ ।

कुरा काट्ने

बच्चाहरुले परिवारबाटै कुरा काट्ने बानी सिक्ने गर्छन् । यदि बच्चाहरु तपाईको वरिपरि छन् भने यस्तो कुरोमा विशेष ध्यान दिनुपर्छ । खासगरी तपाई कोसँग कुरा गर्दै हुनुहुन्छ भन्नेबारे ध्यान दिन जरुरी छ । बच्चाको अगाडि अनावश्यक रुपमा अर्को व्यक्तिको नरकारात्मक पक्षको जिकिर गर्नु उचित हुँदैन ।

सरसफाइ

सरसफाइमा ध्यान दिने कुरा भन्दा सजिलो लाग्छ । तर, बच्चाहरुलाई यस्तो कुरा सिकाउन निकै कठिन मानिन्छ । खाना खानुअघि हात धुने, ब्रस गर्ने कपडा धुने, सफा कपडा प्रयोग गर्नेजस्ता बानी सानै उमेरदेखि सिकाउन सकियो भने बच्चा ठूलो भएपछि सरसफाइमा ध्यान दिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?