मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

मासु र रक्सी एकसाथ किन खानु हुँदैन ?

काठमाडौँ- प्राय: व्यक्तिले रक्सी सेवन गर्ने समयमा मासुलाई सितन बनाएर खाने गरिन्छ । मासु र रक्सीको समायोजन विश्वभर नै छ । मासु खादा रक्सी वा रक्सी खान मन लागेको समयमा मासु खाने धेरैको चलन छ । मासु र रक्सी खुबै रुचाइन्छ पनि । अझ दशैँको समयमा त सिङ्गै खसी, बोका, राँगा लगायत घरघरमा ढालेर दशैँ मनाइन्छ ।

यसो हुँदा दशैँमा मासु प्रशस्त मात्रामा हुन्छ । साथीभाइ, इष्टमित्र जम्मा भएर तास खेल्ने मासु र रक्सीको सेवन गर्नेममा घरैपिच्छे मासुका लागि खसी, बोका, च्याङ्ग्रा, राँगा, बंगुर काटिन्छन् । दशैंमा रातो मासुसँगै अल्कोहलको सेवन पनि ज्यादा नै हुन्छ ।

मासु प्रोटिनको सर्वोत्तम स्रोत हो । जहाँ आवश्यक सबै ‘एमाइनो एसिड’ प्रचुर मात्रामा पाइन्छ । मस्तिष्कको विकासमा मासुको भूमिका रहेको अनुमान गरिएको छ । त्यसकारण अघिपछि कहिलेकाहीँ रक्सी र मासुको सेवन गर्नु सामान्य हो । तर दशैँमा भने धेरै मात्रामा रक्सी र मासुको सेवन गरिन्छ । तर हामी रक्सी र मासुको समायोजन कत्तिको स्वस्थकर हो भन्ने सन्दर्भमा सोच्दैनौँ ।

एकसाथ मासु र रक्सीको सेवन कत्तिको स्वस्थकर छ–छैन भन्ने सन्दर्भमा पोषणविद् डा. लिला विक्रम थापासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

दशैँमा रक्सी र मासुको सेवन धेरै मात्रामा गरिन्छ यो कत्तिको स्वस्थकर हो ?

पहिलो कुरा त रक्सी मानव शरीरको लागि आवश्यक र स्वस्थकर पियपदार्थ होइन । विश्व स्वस्थ्य संगठनले पटक–पटक वृहत अनुसन्धान गरेर निश्कर्ष निकालेको छ की शुन्य प्रतिशत रक्सी पनि मानव शरीरका लागि स्वस्थकर होइन । यसकारण रक्सीको सेवन नगर्दा नै राम्रो हुन्छ । यसैगरी मासुको सेवनमा एक वयस्क व्यक्तिले प्रतिदिन ६०–७० ग्राम लगभग १०० ग्रामभन्दा बढी सेवन गर्नुहुँदैन ।

यो भन्दा बढी मात्रामा मासुको सेवन गरियो भने शरीरले पचाउन सक्दैन । यसले स्वास्थ्य समस्या निम्तन सक्छ । हाम्रो देशमा मासु र रक्सी एकसाथ खानुपर्छ भन्ने अभ्यास छ जुन गलत हो । अन्य देशहरुमा भने टन्न खाना खाइसकेपछि बल्ल थोरै मात्रामा रक्सीको सेवन गरिन्छ । तर हामी भने पहिल्यै केही नखाइकन खाली पेटमै टन्न रक्सी खान्छौं । जुन स्वस्थकर होइन । शुरुमै मदिरा सेवन गर्ने अनि खानेकुरा केही नखाने मासु पनि शरीरलाई चाहिने भन्दा अत्याधिक रुपमा खाँदा विभिन्न पाचनसम्बन्धी स्वास्थ्य समस्याहरु निम्तन सक्छ ।

मासु र रक्सीको समायोजन किन सही होइन ?

मासु र रक्सीको एकसाथ सेवन गलत कुरा हो । सकेसम्म एकसाथ नखानुहोस् ।

एक व्यक्तिले प्रतिदिन कति मात्रामा रक्सी र मासु सेवन गर्न सकिन्छ ?

दशैँ हाम्रो चाडबाड हो मनाउनुपर्छ । संस्कृति जोगाउनुपर्छ । तर चाडबाडको बहानामा स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन । मासु खाँदा लगातार मासु मात्रै नभएर अन्य फाइबरयुक्त रेसादार खानेकुरा र फलफुलहरुको पनि सेवन गर्न आवश्यक छ । प्रतिव्यक्ति मासु कति खाने भन्ने कुरा तपाईंको उमेर र तौलले निर्धारण गर्ने कुरा हो ।

हाम्रो नेपाली समाजमा के छ भने दशैँ भनेको मासु भात मात्रै खानुपर्ने चाड हो । लगातार मासु मात्रै खानु राम्रो होइन । सबै खानेकुराको सन्तुलन मिलाएर खानु उत्तम हुन्छ । दिनमा आधा पाउ सम्म मासुको सेवन गर्न मिल्छ ।

पछिल्लो समय मासु तारेर वा रोस्ट गरेर खाने चलन छ । मासु कसरी पकाएर खानु उचित हो ?

मासु तारेर खाँदा तेल पटक–पटक तताइएको छ भने मुटुमा असर गर्छ । एकपटक पकाएको तेल पुन प्रयोग गर्नु भनेको एकदमै हानिकारक हुन्छ । यसकारण तारेर, रोस्ट गरेर खानु स्वादका लागि मिठो भएतापनि स्वस्थर हुँदैन ।

धेरै मरमसला राखेर बनाइएको मासु सेवन गर्दा स्वाथ्यमा समस्या आउँछ । यसकारण जतिसक्दो सादा, नुन कम राखेर मसलाहरुको पनि कमै मात्रामा प्रयोग गरेर मासु बनाएर खाइयो भने त्यो स्वस्थकर रहन्छ ।

खास चाडपर्वमा मात्रै ज्यादा मासु खानु फाइदाजनक होला त ?

दशैं, तिहार जस्ता चाडपर्वमा मासु जस्ता प्रोटिन, बोसो र उच्च क्यालोरीयुक्त परिकारको सेवनमा वृद्धि हुन्छ । ऋणधन गरेरै भए पनि उच्च बोसो एवं क्यालोरीयुक्त खसी, बोका, राँगा जस्ता चारखुट्टे जनावरको दशैंमा काट्ने चलन छ । सो प्रयोजनका लागि कैयौं दिन लगाएर भारतबाट समेत ट्रकमा लादेर सकस साथ राँगाभैंसी, बोका–च्यांग्राहरु अन्य देशहरुबाट समेत आयात गरिन्छन् ।

मासुको सेवन कति मात्रामा गर्ने भन्नेकुरा व्यक्तिको जीवनशैली, शारीरिक श्रम, रगतमा कोलेस्ट्रोलको मात्रा, मृगौला, कलेजो, मुटुदेखि शरीरको वजनमा पनि निर्भर हुने गर्छ । मासुसँगै दानायुक्त अन्न, गेडागुडी, खैरो रोटी, फलफूल खानु उपयुक्त हुन्छ । चाडपर्वमा मासुसहित अलकोहलजन्य पेय पदार्थको सेवनमा वृद्धि हुँदा शरीरमा आकस्मिक एवं दीर्घकालीन स्वास्थ्य समस्या पैदा हुने गर्छन् । यसकारण सबै खानेकुराको मात्रा मिलाएर खानुहोस् ।

मासु खाँदा अपनाउनुपर्ने सावधानी

राम्रोसँग नपकाइएको, नउसिनिएको, नगलाइएको, पोलेको मासु नचपाइकन होसियारीपूर्वक नखाँदा श्वासनलीमा पुग्ने वा खानानलीमा अड्किने सम्भावना हुन्छ । अझै दाँतको विकास भइनसकेका बालबालिकादेखि दाँत नै झरेर कृत्रिम दाँतलगाएका व्यक्ति र वृद्धवृद्धालाई मासु खान दिँदा टुक्राएर नरम बनाइर मात्रै खान दिनुपर्छ ।

राम्रोसँग नपकाइएको, नकाटिएको, राम्रोसँग नचपाइकन र त्यसमाथि अल्कोहलसँग कुराकानी गर्दै हतार हतारमा निल्न खोज्दा सर्केर श्वासनलीमा पुगी गम्भीर आकस्मिक स्वास्थ्य समस्या समेत आउन सक्छ । त्यसैले चाडपर्वको खानपिनले पार्न सक्ने शारीरिक असरलाई नियाल्न पनि आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?