काठमाडौँ – अलिक समय पहिलेसम्म डिप्रेसन रोग के हो भन्ने कुरा यसरी व्यापक रूपमा कसैलाई थाहा थिएन । डिप्रेसनका बिरामी यति धेरै सङ्ख्यामा थिएनन् पनि ।
तर २०७२ सालमा आएको भूकम्प , त्यसपछिको कोरोना ,लगायत अन्य प्राकृतिक प्रकोप र महामारीहरूका कारण पनि धेरै घटना दुर्घटना घटेको हुँदा त्यसपछि डिप्रेसन र एन्जाईटी हुने व्यक्तिहरूको सङ्ख्या निकै बढ्दो छ ।
अझ भनौँ अहिलेका युवापुस्ता ,सानै उमेरका टिनएजहरु यस्ता मनोरोगका सिकार भइरहेका छन् । यस कारण आत्महत्या , हत्या ,आपराधिक गतिविधिहरू भयावह रूपमा बढिरहेको छ ।
विशेषतः युवाहरूमा मानसिक समस्या बढ्दै गएको छ । किनभने युवाहरूमा दायित्व बढेको छ तर समस्यालाई समाधान गर्ने उपाय कम हुँदै गएको छ । युवाहरू तनावमा पर्दै गएको कारणले गर्दा मानसिक समस्या बढ्दै जटिल हुँदै गएको छ । मानसिक समस्या कुन उमेर समूहलाई हुने भन्ने हुँदैन ।
सबै उमेर समूहलाई यो समस्या हुन्छ । तर युवाहरूको जुन जिम्मेवारी बोक्ने र काम गर्ने उमेर हुन्छ त्यो उमेरमा यस्तो मानसिक समस्या हुन्छ ।
मानसिक समस्या भएको कसरी थाहा हुन्छ ?
मानसिक समस्याको किसिम अनुसारको लक्षण हुन्छन् । कुनै पनि व्यक्तिको पहिलाको व्यवहार, पहिलाको सोचाइ, पहिलाको मनमा परिवर्तन आउँछ भने त्यसलाई मानसिक समस्या भएको भन्न सकिन्छ । व्यक्तिले आफूले मनको कुरा मात्र थाहा पाउँछ तर व्यवहार र सोचाइमा आएको परिवर्तन थाहा पाउँदैन ।
उसको परिवार र समाजले थाहा पाउँछन् मानसिक समस्यामा धेरै देखिने भनेको एन्जाइटी र डिप्रेसन हो । त्योबाहेक जटिल खालका मानसिक समस्या देखिन्छ । कुनै व्यक्तिलाई चाहिनेभन्दा धेरै डर लाग्छ भने त्यो एन्जाइटी हाे ।
जसले गर्दा उसको कार्य क्षमतामा असर पर्ने हुन्छ । उसलाई जे गर्दा पनि डर लाग्छ । डिप्रेसन भयो भने मन दुखी हुन्छ अनि शरीरमा तागत कम हुन्छ भने जाँगर पनि कम लाग्छ। त्यस्तै भोक र निन्द्रामा समस्या आउँछ, आफैँलाई हानी गर्ने सोच समेत आउँछ। युवाहरूमा एन्जाइटी र डिप्रेसनका समस्या देखिएका छन् ।
सबैले आफ्नो तनावलाई खुलस्त रूपमा भनेका हुँदैनन् । जसले आफ्नो समस्या भनेको छ उसको तनाव व्यवस्थापन गर्न सहज हुन्छ । तनाव व्यवस्थापन गर्नका लागि तनाव हुनुको कारण पत्ता लगाउनु पर्छ ।
खुसी भनेको मनबाट आउने कुरा हो, भावना हो । मनमा नै चाहिने तत्त्व हुन्छ । ती तत्त्वलाई सन्तुलनमा ल्याउन पहिला त औषधी उपचार चाहिन्छ । त्यसपछि मात्रै तनाव व्यवस्थापन र काउन्सिलिङको पाटो सुरु हुन्छ ।
मानसिक समस्याको असर समाजमा देखिन थालेको छ । समाज यो समस्याबाट निकै पीडित बन्दै गइरहेको छ । मानसिक समस्यामा भएको व्यक्तिले आफूले आफूलाई बुझ्न सकेको हुँदैन ।
परिवार र समाजले पनि उसलाई हेला र घृणा गरेको हुन्छ । मानसिक समस्या भएकाहरूलाई हाम्रो समाजले उपचारमा लैजानको सट्टा हेला अनि घृणा गर्छ । तर उसको उचित उपचार र व्यवस्थापन भयो भने पहिलाकै अवस्थामा फर्किन सक्छ ।
हाम्रो समाज, सरकार र घरपरिवारले मानसिक समस्यालाई जुन किसिमले लिएको छ यसलाई परिवर्तन गर्न आवश्यक छ ।
शिक्षाको कमी आर्थिक अभाव र विभेदको डरले मानसिक रोगीहरू चिकित्सककहाँ जाँदैनन् । जम्मा २२ प्रतिशत मानसिक स्वास्थ्य उपचारको लागि पहल गरेका हुन्छन् ।
त्यसमा पनि १५ प्रतिशतले धामी, झाँक्री अनि अन्य चिकित्सककहाँ उपचार खोज्न जान्छन् ।
कसरी गर्ने उपचार ?
अहिलेको तथ्याङ्क अनुसार सात प्रतिशतले मात्रै मनोचिकित्सकबाट सेवा लिएका। त्यो भनेको एकदमै कम हो । मानसिक समस्या भएका सबैले सधैँ औषधी खानुपर्दैन । मानसिक रोगी भएपछि त औषधी खानै पर्छ ।
के कारणले बिरामी भएको पत्ता लगाएर उपचार हुनुपर्छ । एकातिर कारण पत्ता लगाउने अनि उपचार पनि भयो भने सधैँ औषधी खानुपर्दैन । एक पटक एन्जाइटी भएको बिरामीले सधैँ औषधी खानुपर्छ भन्ने छैन । त्यस्तै, अन्य मानसिक रोगीको हकमा समेत यो लागु हुन्छ । केही मानसिक समस्यामा भने लामो समयसम्म औषधी खानुपर्ने हुन्छ ।
एउटा व्यक्ति, जसले आफू जन्मिएको हुर्किएको र पढेको देशमा नभई अर्को देशमा काम गर्न बाध्य हुन्छ भने उसलाई मानसिक समस्या हुनु स्वाभाविक हुन्छ ।
आफ्नै रहरले अवसर खोज्दै जानु एउटा कुरा हो तर बाध्यताले जानु अर्कै कुरा हो । यस्तो बेलामा मानसिक समस्याको उपचार गरिएन भने थप समस्या बल्झिन्छ ।
वैदेशिक रोजगारीमा गएकाहरू त यसै समस्यामा छन्। सँगै परिवारका सदस्यलाई समेत पीडा हुन्छ । यस कारण मानसिक समस्याको बेलैमा पहिचान गरी उपचार विधि अपनाउनु पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया