मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

पाल्हीनन्दन– अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् ।

रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ । लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक । यही चोकबाट उत्तर–पूर्वतर्फको सडकमा सडकबत्ती नहुँदा रात जति छिप्पिदैँ जान्छ, सडक उत्तिनै निष्पट्ट अधेँरो हुँदै जान्छ ।

स्थानीय सत्य नारायण चौधरी भन्छन्, ‘सडकमा बत्ती बल्नु भनेको उज्यालो हुनु मात्रै होइन, स्थानीय बासीन्दाले सुरक्षाको अनुभूति गर्नु तथा सम्भावित चोरी डकैतीका घट्ना न्यूनीकरण हुनु पनि हो । अँध्यारोको मौका छोपी चाडबाडको समयमा चोरी डकैती हुने सम्भावना बढी हुन्छ । त्यस्तै मादक पदार्थ तथा लागुऔषध सेवन गर्नेले यही यस्तै बेला त हो नि अनैतिक क्रियाकलप गर्ने l’

उनी सहर बजार मानिएको लहानको यस मुख्य चोकमै सडकबत्ती नहुनुले राम्रो सन्देश नदिएको धारणा राख्छन् । ‘यो क्षेत्र अत्यधिक चोरी हुने ठाउँ हो । चोरले दिउँसै घर फोरौँला जस्तो गर्छन् । रातको समयमा सडकबत्ती नहुँदा उनीहरूले त्यसको फाइदा लिने सम्भावना हुन्छ । विगत लामो समयदेखि सडक बत्तीको लागि वडा कार्यालयदेखि नगरपालिकासम्म धाउँदा पनि समस्या समाधान हुँन सकेको छैन । चाडबाडको समयमा पनि बजार छेवैको सडक अन्धकार हुनु बत्तीमुनिको अँध्यारो भनेजस्तै जस्तै भयो,’ उनले भने ।

यस क्षेत्रमा रहेको वडा नं ८ मा पर्ने २ नं सडकमा भने गत वर्षदेखि स्मार्ट सडकबत्ती जडान गरिएको हुँदा झिलिमिलि रहेको छ । लामो समयदेखि हुलाक चोकदेखि उत्तर–पूर्वतर्फ जाने सडकमा सडकबत्ती नहुँदा सडक अन्धकार भएको सम्बन्धमा वडा अध्यक्ष रामनाथ पण्डितसमक्ष जिज्ञासा राख्दा उनले भने, ‘नगरपालिकाले ठेक्कामार्फत सडकबत्ती लगाउने हो । नगरसँग समन्वय गरेर आवश्यक सडकबत्तीको व्यवस्था गर्न पहल गर्नेछु ।’

नगरप्रमुख महेशप्रसाद चौधरीले नगरभित्रका सम्पूर्ण सडकमा बत्ती जडानकाल लागि बर्सेनि ठेक्का लाग्ने गरेको र यस वर्षको लागि पनि ठेक्का लागिसकेकाले चाँडै समस्या समाधान हुने बताए । ‘हामी सडकबत्तीको व्यवस्थापनमा लागि नै रहेका छौँ । जडान नभएका ठाउँमा चालु आर्थिक वर्षभित्र काम हुन्छ । त्यसबाहेक चाडबाडको समयमा सडकबत्ती माग भएमा नगरले आवश्यक बल्ब उपलब्ध गराउने छ,’ उनले भने ।

यहाँको प्रतापपुर गाउँपालिका‐६ कठहवाका मुसहर समुदायलाई भने खासै दसैँ लागेको छैन । स्थानीय रामनरेश मुसहरले भने,’घरमा अन्न छैन, खल्तीमा सुको छैन अनि कसरी दसैँ लाग्नु हजुर l’

छरछिमेकमा दसैँको रौनक छाउँदा आफूहरू भने दुई छाकको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहेको उनको भनाइ छ । ‘छिमेकी बस्तीमा हुने खानेले दुर्गा मूर्ति बनाएर बाजासहित धुमधामका साथ दसैँ मनाइरहेका छन् । स्थानीय बजारमा नयाँ(नयाँ लुगा, खानेकुरा, भाँडाकुँडा किन्नेको भीडभाड छ’, रामनरेशले भने, ‘दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने हामीहरूलाई भने दसैँमा कसैले काम नदिने भएकाले चुलो कसरी बाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।’

उनका अनुसार दसैँमा सबैले नयाँ लुगा लगाउँछन्, मन परेका परिकार खान्छन्, हामीलाई पनि खान र लाउन मन लाग्छ, तर पैसा छैन समस्या भनेको चरम गरिबी छ । गरिबीकै कारण आफूहरूले दसैँ मनाउन सक्ने अवस्था नरहेको उनले बताए ।

उनी घरका ठूला मान्छेले आफ्नो बाध्यता बुझे पनि बालबालिकाले भने अरूको जस्तै राम्रो लाउने र मिठोमसिनो खाने चाहना राख्दा सम्झाउनै समस्या भएको बताउँछन् । ‘चाडपर्वमा अरूले रमाइलो गर्छन् तर हामीलाई यो समय किन आउँदो हो भन्ने लाग्छ । चरम गरिबीका कारण यस्ता चाडबाड हामीलाई गिज्याउन मात्रै आएजस्तो लाग्छ । बालबच्चाको चाहना पूरा गर्न नसक्दा सधैँजसो निराश भएरै पर्वहरू बित्छन्’, उनले सुनाए ।

पूर्वमन्त्री हृदयेश त्रिपाठीको गाउँ नजिकै रहेको यो बस्तीमा झण्डै ४२ मुसहर परिवार बस्छन् । उनीहरूको आम्दानीको स्रोत भनेकै दैनिकी ज्यालामा काम गर्नु हो । चाडपर्वमा प्रायःजसो काम ठप्प हुने हुँदा उनीहरूले काम पाउने कुरा पनि भएन । त्यसैले थप समस्या हुने गरेको छ ।

‘हामीले कमाएको पैसाले त राम्रोसँग खान पुग्दैन, चाडपर्व त कसरी मनाउनु’, स्थानीय ईन्द्रावती मुसहर भन्छन्, ‘दसैँमा मात्रै होइन, कुनै पनि चाडपर्व हाम्रा लागि दशा बनेर आउँछन् । आज कमाएर आजै खाने हाम्रा लागि सधैँ यस्तै कहर हुन्छ ।’

आफूहरूले स्थानीय सरकारलाई दीगो जीविकोपार्जनका लागि कुनै व्यवस्था गरिदिनका लागि आग्रह गरे पनि सुनुवाइ नभएकाले सधैँ एउटै नियती भोग्नु परिरहेको ईन्द्रावतीले बताइन् ।

‘आफूहरूको गरिबीबारे यहाँका स्थानीय जनप्रतिनिधिलगायत सबैलाई थाहा छ । हामीले बेलामौकामा उहाँहरूलाई जानकारीसमेत गराएका हुन्छौँ, खै, अहिलेसम्म सुनिदिने कोही भएनन्’, उनले पीडा पोख्दै भनिन्,’सित्तैमा दिन पनि भनेका छैनौँ, हाम्रो सीपअनुसारको काम दिए पनि हुन्थ्यो । अरू बेला नभए पनि चाडपर्वका बेला हामीलाई र हाम्रा बालबच्चालाई राम्रो लगाउने, मिठो खाने रहर हुन्छ नि, तर सधैँ सपनामै सिमित हुन्छ ।’

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव भने अति गरिब र विपन्न समुदायको लागि पालिकाले आर्थिक सहयोगका लागि बजेट विनियोजन गरेकाले सो रकमबाट दसैँका लागि खाद्यान्न सहयोग गर्ने तयारी भइरहेको बताउँछन् । ‘दसैँको अवसरमा उनीहरूलाई खाद्यान्नलगायत सामग्री वडा कार्यालयमार्फत वितरण गर्ने तयारी छु’, उनले भने ।

यहाँका मुसहर समुदायको आफ्नो नाममा जग्गासमेत छैन । उनीहरूले पुस्तौदेखि उखडा जग्गामा फुसको छाप्रो बनाएर गुजारा गर्दै आएका छन् । अरू समय ज्यालादारीमा काम गरेर जीविको चलाए पनि चाडपर्वमा कुनै काम नपाइँदा समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?