मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि तीन नेपाली फिल्मको रोचक भीडन्त, कसको क्रेज कस्तो?

काठमाडौँ– फूलपातीको अवसर पारेर आज बिहीवारदेखि तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । दशैँमा राम्रो व्यापार हुने भन्दै निर्माण टिमले ‘१२ गाउँ’, ‘घर ज्वाइँ’ र ‘छक्का पञ्जा ५’ लाई एकसाथ प्रदर्शनमा ल्याएका हुन् ।

आजदेखि प्रदर्शनमा आएका यी फिल्मले फिल्म क्षेत्रको चौतर्फी चर्चा भइरहेको छ । आजदेखि प्रदर्शनमा आएको दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ ले सबैभन्दा धेरै शो पाएको छ । यसअघि एकपछि अर्को हिट फिल्म दिएका दीपक–दीपा यो फिल्मले पनि दर्शक बटुल्नेमा ढुक्क छन् ।

कमेडी जनराको उक्त फिल्मलाई सामाजिक र पारिवारिक फिल्म भनिएको छ भने एक इमान्दार सरकारी कर्मचारीको कथालाई फिल्ममा देखाइएको ट्रेलरमा देख्न सकिन्छ । फिल्ममा समावेश गीतले पनि दर्शकको राम्रो प्रतिक्रिया पाएका छन् ।

फिल्ममा केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, दीपाश्री निरौला, दिपकराज गिरी, वर्षा शिवाकोटी लगायतका कलाकारको शीर्ष भूमिका छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ ले पनि रिलिजअघि राम्रो प्रतिक्रिया बटुलेको छ । यो फिल्ममार्फत विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्दैछन् । यसअघि सार्वजनिक भएका ट्रेलर र टिजरले दर्शकको तारिफ पाएका छन् भने कतिपयले अब एक्सन फिल्मको बाढी आएको समेत प्रतिक्रिया दिएका छन् ।

तर, मल्टिप्लेक्स हलमा भने यो फिल्मले ‘छक्का पञ्जा ५’ को तुलनामा कम शो पाएको छ । यद्यपि फिल्मको अग्रिम बुकिङ भने राम्रो देखिएको छ । फिल्ममा विराज भट्टको निर्देशन छ ।

यस्तै आजैबाट प्रदर्शनमा आउने फिल्म ‘ज्वाइँ साब’ को पनि राम्रै चर्चा छ । बसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्ममा नीति शाह र जितु नेपालको शीर्ष भूमिका रहेको छ । बिहेको कथा समेटिएको यो फिल्म पनि कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

कुन फिल्मको क्रेज कस्तो?

रिलिजअघिको अवस्था हेर्ने हो भने तीनै फिल्मले राम्रो क्रेज स्थापना गरेका छन् । अब कुन फिल्मले कस्तो व्यापार र चर्चा कमाउँछ भन्ने दर्शकको हातमा निर्माण टिमले छोडिसकेको छ । तीनै फिल्मका निर्माताले फिल्मको प्रचारमा कुनै कसर बाँकी राखेका छैनन् ।

सामाजिक सञ्जालमा हेर्दा भने विराज भट्टको ‘१२ गाउँ’ को बढी चर्चा भएको हो कि जस्तो देखिन्छ । तर, सामाजिक सञ्जालको ह्विमले फिल्म चल्छ नै भन्ने कुनै टुङ्गो हुँदैन । बरु प्रचारमा भने राम्रो भूमिका खेल्न सक्छ ।

निर्देशक तथा अभिनेता विराज भट्टले ‘१२ गाउँ’ को उत्साहजनक बुकिङ भएको र शो बढ्ने क्रममा रहेको बताएका छन् । उनले फिल्म ‘देशभर हाउसफूल भएको’ प्रतिक्रिया दिएका छन् भने दर्शकको चाहनाअनुसार फिल्मको शो बढ्दो क्रम रहेको बताएका छन् ।

यता ‘छक्का पञ्जा ५’ का निर्माता दीपकराज गिरीले पनि अग्रीम बुकिङमा यो फिल्मको ‘आक्रामक बुकिङ’ भएको दाबी गरेका छन् । उनले फिल्मले राम्रो शो पाएको र हलमा दर्शकसँग साक्षात्कार गर्ने पनि बताएका छन् ।

अग्रिम बुकिङका हिसाबले जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ भने पछाडि देखिएको छ । यसको बुकिङ आशा गरिएअनुसारको देखिएको छैन भने फिल्मले पनि कम शो पाएको छ । तर, निर्माण टिम भने यो फिल्म हिट हुने दाबी गर्दै आएका छन् ।

रोचक पक्ष त के छ भने सबैभन्दा अन्तिम समयममा आएर बसन्त निरौलाले अन्य दुई फिल्मसँग जुधाउने गरी रिलिज मिति घोषणा गरेका थिए । जितु नेपाल र दीपकराज गिरीको पुरानो लफडाका कारण फिल्म जुधाइएको आँकलन गरिएको थियो ।

रिलिजअघि भने दीपकराज गिरी र जितु नेपालले सामाजिक सञ्जालमार्फत प्रतिस्पर्धी फिल्मलाई पनि शुभकामना दिएका छन् ।

यी बाहेक स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ पनि हलमा प्रदर्शनरत छ । उक्त फिल्म गतहप्ता प्रदर्शनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?