मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बडा दशैँको रौनक

दशैँ कसरी मनाउँदैछन् कलाकार र सर्जक ?

काठमाडौँ– हिन्दूहरुको महान पर्वका रुपमा लिइने दशैँ पर्वको रौनकले प्रत्येकको घरमा मात्र होइन, धार्मिक स्थल र बजारसम्म छोइसकेको छ । दशैँ पर्व मान्ने तयारीमा सबैजसो छन् भने नमान्नेहरु पनि कसरी दशैं विदा सदुपयोग गर्ने भन्ने योजना बुन्दै छन् ।

यस्तो माहोलमा साहित्य, सङ्गीत, ललितकला, चलचित्र क्षेत्रका सर्जकहरु अछुतो रहने कुरै भएन । अरुबेला सिर्जनाकर्ममा लाग्नेहरु पनि दशैँ पर्वको समयमा परिवार र आफन्तलाई समय दिऊँ भन्ने सर्जकहरुको ध्याउन्न हुन्छ । यद्यपि यो वर्ष दशैँ अगावै आएको प्राकृतिक विपत्तिका कारण धेरैजसो मानिसहरुलाई गाउँघरतिर जान कठिनै छ । यही मारमा कला सिर्जनाका सर्जकहरु समेत परेका छन् ।

यो वर्षको दशैँ पर्वको अगावै आएको विपत्ति र यसले दिएको पीडालाई मनन गर्दै दशैं मनाउने सुरसारमा छन् गीतकार हर्क साउद । बाटोकै पिरलोका कारण कैलाली घरतिर जाने वा नजाने भन्ने कुरा नै उनले टुङ्गो लगाएका छैनन् । यद्यपि उनको पुर्ख्यौली थलो डोटी र वरिपरका गाउँहरुमा नमरा राख्ने, शुभ साइतमै जमरा काट्ने, प्रत्येक घरको घरमुली र धामी गएर कुलदेवतालाई पूजा, आराधना र जमरा चढाउने जस्ता धार्मिक तथा सांस्कृतिक संस्कारहरुलाई भने उनले सम्झिरहेका छन् ।

कुलदेवताको थानमा पुजेपछि मात्र बल्ल दशैं पर्वलाई उल्लासमय तरीकाले मनाउने उनले सुनाए । ‘विपद्को समय र यो वर्ष आर्थिक परिस्थितिले पनि आम मानिसहरु अप्ठ्यारो अवस्थामा छन्,’ उनले भने, ‘त्यसैले यो वर्ष विपद्मा परेकाहरुका लागि केही गरौं भन्ने भावले दशैं पर्व मनाउँदा ठीक होला ।’ विपदमा परेका छिमेकी, छिमेकी जिल्ला वा प्रदेशमै भएपनि आफ्नै दुःख सम्झेर शोकको घडीमा सबैसँग सहकार्य गरेर दशैं मनाउन उनको आग्रह छ ।

उनी पनि विपद्लाई मध्यनजर गर्दै दशैं मनाउँदै छन् । अभिनेत्री रक्षा थापा हर्षोल्लासका साथ दशैँ मनाउने सुरमा छिन् । उनी अभिनित फिल्म ‘बेहुली फ्रम मैघौली’ लाई आम दर्शकले निकै रुचाएका छन् । त्यसमा उनी झनै खुशी छिन् । हाल अन्य फिल्मकै वर्कशपहरुमा व्यस्त उनले दशैँमा भने काठमाडौंमा रहेका परिवारसँगै बसेर दशैँ मनाउने सुनाइन् ।

स्थायी घर धनकुटा भएका चित्रकार रोशन भण्डारी यो वर्ष दशैँको छेकोमा कतै यात्रा गरेर मनाउने मुडमा छन् । रङ र कला सिर्जनासँगको सामीप्यताका कारण उनलाई दशैँ मात्र नभएर प्रत्येक पर्वहरु कलामय र सिर्जनात्मक लाग्छन् । उनले भने, ‘हामीले प्रत्येक फेस्टिभलमा गरिने गतिविधिहरुमा आर्टकै पर्फेमेन्स भइरहेको हुन्छ ।

त्यसैले कलाकै स्वरुपमा हेर्ने हो दशैं पर्व पनि कलाकारहरुका लागि विशेष नै हो ।’ दशैं पर्व लगत्तै आर्ट कक्षा सञ्चालन गर्ने तयारीमा उनी छन् । त्यस्तै, अर्का चित्रकार एरिना ताम्राकार अन्य वर्षजस्तै काठमाडौंमा परिवारसँगै बसेर दशैं मनाउने योजनामा छिन् । बाल्यकालको जसरी दशैं पर्व भित्रिएको रौनक त उनमा पनि छैन । दशैंमा गरिने सांस्कृतिक तथा धार्मिक कार्यहरुमा नै बढी व्यस्त हुने उनले सुनाइन् ।

‘मेरो माइती र घर दुवैतिर काटमार केही पनि गरिँदैन । हाम्रोमा विशेषत मोनी(मोहनी नख)मा दशैंको टीकाको दिन कालो टीका लगाइन्छ । त्यसपछि हाम्रोमा टीकाको दिन घर घरमा गएर टीका लगाउनेभन्दा आफन्तहरु(छोरीचेलीहरु) बोलाएर ‘नखत्या’ गरिन्छ ।’

उनका अनुसार टीकापछि गरिने यसमा टीका लगाउने र भोज खुवाउने गरिन्छ । 

साहित्यकार तथा समालोचक विन्दु शर्मामा भने दशैं पर्वले रौनक ल्याएको छैन । विपद्कै कारण माइतीघर दाङ नजाने सोचमा उनी छिन् । दशैं पर्वको लामो बिदामा पारिवारिक आगामन भीडभाड, भेटघाट र अन्य धार्मिक तथा सांस्कृतिक कार्यहरुको व्यस्तताले गर्दा सिर्जनात्मक लेखनमा केही ब्रेक लाग्ने उनी बताउँछिन् ।

‘चाडवाड मनाउनै पर्ने, आफन्त भेट्नै पर्ने बाध्यताले यो बिदामा कतै घुम्न जान वा यो काम गर्छु भन्न समेत नपाइने हुन्छ, यति लामो बिदा त नदिए पनि हुने हो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?