काठमाडौं – नेपाली बजारमा सामसङले आफ्नो पछिल्लो फ्ल्यागशिफ स्मार्टफोन सिरिज ग्यालेक्सी एस-२४ सार्वजनिक गरेको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सामसङ नेपालले तीन मोडेलमा एस-२४ सिरिज सार्वजनिक गरेको हो।
कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी एस-२४ सिरिजको अनावरण गरेका थिए।
एस-२४ सिरिज अन्तर्गत तीन मोडेल एस-२४, एस-२४ प्लस र एस-२४ अल्ट्रा रहेका छन् । नेपाली बजारमा यो सिरिजका फोन विभिन्न चार भेरियन्टमा खरिद गर्न सकिनेछ ।
कम्पनीका अनुसार एस-२४ अल्ट्रा दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसअन्तर्गत १२ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै एस२४ प्लस मोडेल अन्तर्गत ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ । यसको मूल्य एक लाख ४२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध एस२४ को मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ राखिएको छ ।
एआई फिचरले चर्चित सामसङ ग्यालेक्सी एस२४ सिरिजको चर्चा विश्वव्यापी रूपमा भइरहेको छ । विशेषगरी इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसनको सुविधा दिइएको यो सिरिजका फोन त्यस्तै अन्य एआई फिचरले भरिएका छन् ।
कम्पनीले नयाँ सिरिज ईएमआईमा खरिद गर्न सक्ने सुविधा पनि ल्याएको छ । यस अनुसार ग्राहकले एक घण्टाभित्र शून्य प्रतिशत ब्याजदरमा फोन खरिद गर्न सक्नेछन् ।
एक वर्षका लागि एक पटकको ब्रेकेज इन्सुरेन्स सुविधा पनि थपिएको छ । आफ्नो फोन अपग्रेड गर्न चाहनेका लागि फोन एक्सचेन्जको सुविधा पनि दिइएको छ । यो अफर माघ २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
के के छन् फिचर ?
कम्पनीका अनुसार यो सिरिजले सात पुस्तासम्मको ओएस अपग्रेड र सात वर्षसम्म सेक्युरिटी अपडेट पाउनेछ । अर्थात् एस-२४ सिरिज खरिद गर्ने प्रयोगकर्ताले एन्ड्रोइड २१ सम्म अपडेट गर्न सक्नेछन् ।
एस-२४ सिरिजमा कम्पनीले विभिन्न एआई फिचर समावेश गरेको छ । यो सिरिज खरिद गर्ने प्रयोगकर्ताले सामसङका नयाँ एआई फिचर जस्तैस लाइभ ट्रान्सलेट, इन्टरप्रेटर, च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट, सर्कल टु सर्च लगायतका फिचरमा पहुँच पाउनेछन् ।
सामसङ एस-२४ सिरिजमा कम्पनीले ‘प्रो भिजुअल इन्जिन’ समावेश गरेको छ । एआईद्वारा सञ्चालित प्रो भिजुअल इन्जिनले प्रयोगकर्ताले चाहे अनुसार फोटोलाई स्तरीय बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीले एस-२४ सिरिजको टप भेरियन्ट ग्यालेक्सी एस-२४ अल्ट्रामा चार ओटा क्यामेरा समावेश गरेको छ । त्यसमा पाँच गुणासम्मको अप्टिकल जुम लेन्स दिइएको छ ।
त्यस्तै यो सिरिजलाई कम्पनीले नाइटोग्राफी फोनका रूपमा अपग्रेड गरेको छ । यसको सहायताले प्रयोगकर्ताले जस्तोसुकै लाइट भएको अवस्थामा पनि जुम गरेर स्तरीय फोटो तथा भिडिओ खिच्न सक्ने कम्पनीको दाबी छ ।
कम्पनीले एस-२४ अल्ट्रामा अहिलेसम्मकै शक्तिशाली चिपसेट स्न्यापड्रागन ८ जेन थ्री समावेश गरेको छ । त्यस्तै गेमिङका लागि कम्पनीले हार्डवेयर तथा सफ्टवेयरमा सुधार गरेको जनाएको छ ।
एस-२४ अल्ट्रामा गेम खेल्ने प्रयोगकर्ताका लागि त्यसमा अप्टिमल थर्मल कन्ट्रोल सिस्टम समावेश गरिएको छ । भ्यापर च्याम्बरको तुलनामा यो सिस्टम १.९ गुणा ठूलो भएको कम्पनीको भनाइ छ ।
एस-२४ अल्ट्रामा ६.८ इन्च फ्ल्याट डिस्प्ले, एस२४ प्लसमा ६.७ इन्च र एस-२४ मा ६.२ इन्चको डिस्प्ले दिइएको छ । कम्पनीका अनुसार एस-२४ अल्ट्रामा भएको जत्तिकै ग्यालेक्सी एस-२४ प्लसले पनि क्यूएचडी प्लस सपोर्ट गर्छ ।
टप भेरियन्ट सामसङ एस-२४ अल्ट्रामा कम्पनीले फ्ल्याट स्क्रिन उपलब्ध गराएको छ । कर्भ्ड डिस्प्लेको लोकप्रियता बढ्दै गइरहेको बेला सामसङले भने आफ्नो टप भेरियन्टमा फ्ल्याट डिस्प्ले उपलब्ध गराएको छ ।
एप्पलको आईफोन १५ जस्तै यो सिरिजको फोन टाइटानियम धातुले बनेको छ । विशेषगरी टिकाउ र हलुका हुने भएकाले स्मार्टफोनमा टाइटानियम धातुको प्रयोग बढ्दै गएको छ ।
पाँच गुणा जुम क्षमता भएको यी सिरिजका फोनमा चार ओटा क्यामेरा दिइएको छ । त्यसमध्ये एस-२४ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ भने एस-२४ र एस-२४ प्लसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया