मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बडा दशैँ

रङ्गकर्मीको दशैँ योजना

काठमाडौँ– अहिले चारैतिर बडा दशैँको उत्सव छाएको छ । घर घरमा नवरात्री आगमन भइसकेको छ भने दशैंको मङ्गल धुन बज्न शुरु भइसकेका छन् ।

दशैंको रौनक र धुनले कला सिर्जना कर्ममा लाग्नेहरुलाई अझै विशेष भइदिन्छ । किनकी दशैं पर्व एवं यसको सांस्कृतिक छनकहरु समेत उनीहरुका सिर्जनाहरुमा देखापर्छन् ।

नाट्य क्षेत्रमा लागेका रङ्गकर्मीहरु कोही सिर्जना कर्ममै व्यस्त छन् भने कोही परिवार र साथीभाइसँग बसेर दशैं मनाउने तयारी गरिरहेका छन् ।

रङ्गकर्मी राम केएसी यो वर्ष दशैंमा परिवारसँगै बसेर दशैं मनाउँदै छन् । बुढानिलकण्ठ, चपली घरमा परिवार र साथीभाइसँग बसेर दशैं मनाउन लागेको उनले सुनाए । दशैं पर्वलाई उनी सद्भाव र एकआपसमा मेलमिलापको पर्वको रुपमा लिन्छन् ।

‘दशैं भन्ने बित्तिकै मलाई यो खुशीको चाड जस्तो लाग्छ,’ उनले भने, ‘लामो समयसम्म भेट नभएका आफन्त, साथीहरु यही समयमा भेट हुन्छ । त्यसैले यसपाली परिवारसँगै बसेर सबैसँग भेट गरेर दशैं मनाउँदै छु ।’

उनका अनुसार दशैं पर्व लगत्तै उनी आफ्नो नाटक ‘माण्डवी’ मञ्चनको तयारीमा लाग्नेछन् । बाल्यकालमा जसरी पिङ, चङ्गा खेल्ने, टीका, दक्षिणामा खासै मन नगएपनि बाल्यकालको स्मरण भने ताजै रहेको उनले सुनाए ।

दशैं पर्वको उल्लासलाई उमेर बढ्दै जाँदा थपिने जिम्मेवारीहरुले प्रभाव पार्ने अर्का रङ्गकर्मी सुरज तमु सुनाउँछन् । गोरखा घर भएका उनी यस वर्षको दशैं र कला सिर्जना कर्म एक साथ गर्दैछन् ।

अहिले तमुको टोली गुरुङ समुदायको कथामा निर्माण हुँदै गरेको फिल्म ‘जुनकिरी’को सुटिङमा व्यस्त छ । जुन फिल्ममा लक्ष्मी गुरुङसँगै उनले पनि प्रमुख भूमिका निर्वाह गरेका छन् । दशैंको छेकोपछि नै घरतिरै गोरखामा फिल्मको सुटिङ तय गरिएकोले उनले दशैं उतै मनाउँछन् ।

कामको व्यस्तताले उनलाई दशैंको रौनकले छोएको छैन । उनले भने, ‘पहिला जस्तो दशैंले ठ्याक्कै छोएको छैन । फिल्मको सुटिङ चलिरहेको छ । यतै पो व्यस्त छु । दशैंलाई दिइने केही दिनको छुट्टीपछि फिल्मको सुटिङ उतै गाउँतिरै हुन्छ । त्यसैले घरतिरै गइन्छ ।’

तमुलाई दशैंको टीका अन्य माहोलभन्दा महाअष्ठमीको दिन निकै विशेष लाग्छ । किनकी यही दिन गुरुङ समुदायले पितृ र प्रकृतिलाई पूजाआराधना गर्ने गर्छन् । वर्षभरी पितृ र प्रकृतिलाई शुद्ध र पवित्र मनले पुजेमा वर्षभरी दुःख हुँदैन, पितृ तथा प्रकृतिले सुख एवं शान्ति दिन्छ भन्ने विश्वास राखिन्छ ।

यस पूजामा समेत सामेल हुने उनले सुनाए । अर्कोतिर वर्षदिनमा घरमा आमाबुवा र भाइबहिनीहरु, साथीभाइहरुसँग भेट हुने कुराले समेत उनी उत्साहित छन् ।

रङ्गकर्मी सिर्जना अधिकारी भने यस वर्ष सामान्य तरीकाले नै दशैं मनाउने सुरमा छिन् । काठमाडौं नै स्थायी थलो भएकोले दशैंको लामो विश्राममा परिवारसँग उपत्यकाबाहिर जाने उनको योजना थियो । प्राकृतिक विपत्तिका कारण योजना सफल हुने सम्भावना रहेपछि काठमाडौंमै बसेर दशैं मनाउने उनले सुनाइन् ।

उनका अनुसार पहिलाको तुलनामा दशैँ मनाउने भनेर कुनै उत्साहले छोएको छैन । मानिसहरुलाई अहिले आर्थिक देखि सबै सुखसुविधाहरु पहुँचमा भएपनि सांस्कृतिक रुपमा मनाउने पर्वहरुमा उत्साहको माहोल घट्दै गएको उनले अनुभव गरेकी छिन् ।

‘पहिला त दशैं भन्ने बित्तिकै मनमा अर्कै रमाइलो हुन्थ्यो । दशैंको टीका र जमरा भनेपछि मलाई निकै मनपर्छ । बच्चा बेलामा त पिङ, दक्षिणा पो अझ विशेष हुन्थ्यो,’ उनले सुनाइन् ।

अहिले त्यतिसारो उत्साह नभएकाले सामान्य भेटघाटमै दशैं पर्व मनाउने उनले बताइन् ।

रामेछाप घर भएकी रङ्गकर्मी रमिला मोक्तान पनि काठमाडौंमै दशैं मनाउने तयारीमा छिन् । प्राकृतिक विपत्तिका कारण घरमा बुवाआमासँग बसेर दशै मनाउने सम्भावना उनले न्यून देखेकी छिन् ।

उनका अनुसार रामेछापतिर तामाङहरुले दशैं मनाउन बिस्तारै छोड्न थालेका छन् । मनाउनेले पनि सेतो टीका लगाएर मनाउँछन् । पुरानो पुस्ताले परम्परागत रुपमा चलिआएको सेतो टीका लगाएर दशैं पर्वलाई मान्यता दिएपनि नयाँ पुस्ताले त्यसमा चासो नराखेको उनले सुनाइन् ।

उनले भनिन्, ‘हाम्रोतिर सबैले दशैं मानेर टीका लगाउँदैनन् । लगाउनेले पनि सेतो टीका लगाउँछन् । बाजेबजुले राख्दै आएको टीका भनेर मन राख्न भएपनि अहिलेकाहरुले राख्छन् । दशैंमा नै लामो बिदा हुने, सबै भेट हुने भएर नै बाध्यताले पनि दशैं मनाउने र टीका राख्ने गरिएको देखिन्छ ।’

हजुरआमाको निधन भएको केही समय मात्र भएकोले यसपाली सेतो टीका पनि घरमा नचल्ने उनले सुनाइन् । त्यसकारण यसपालीको दशैं उनका लागि विशेष भन्दा पनि सामान्य नै भएर भित्रिएको छ ।

त्यस्तै, अर्का रङ्गकर्मी पुष्पराज अवस्थी दशैंलाई उत्सवमय र सिर्जनशील बनाउने सोचमा छन् । धनगढी घर भएका उनलाई दशैंमा बुवाआमालाई भेट्न घर जान पाउनु नै सबैभन्दा ठूलो लाग्छ ।

वर्षभरिको काम र थकानलाई मेटाउन दशैंमा घर गएपछि तिहारपछि मात्र फर्कने योजनामा उनी छन् । ‘काम विशेष बाहेक वर्षको एकचोटी घर गइन्छ । त्यसैले तिहारसम्मै बस्ने गरी जान्छु ।

दशैं तिहारको बीचमा भने नाटकसम्बन्धि नै गाउँमा वर्कशप गर्ने प्लानिङमा छु । त्यस बीचमा दुई वटा बाल नाटकको स्क्रिप्ट पनि सकाउँछु भन्ने सोचिरहेको छु,’ उनले भने ।

पछिल्लो समय आएको प्राकृतिक विपत्तिले धेरैजसो मानिसहरुको गाउँघरमा जाने योजना त्यतिकै रहे पनि सबैलाई जहाँ हुन्छ, त्यही बसेर उत्साहका साथ दशैं मनाउन सबैलाई रङ्गकर्मीहरुको शुभकामना सहित आग्रह छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?