काठमाडौ– महानायक राजेश हमाल तथा अभिनेत्री प्रियंका कार्की अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेसडरमा अनुवन्धित भएका छन् । शनिवार काठमाडौंमा आयोजित एक समारोहमा नेपालमै पहिलो पटक आयोजना हुन लागिरहेको यो फेस्टिवलका लागि उनीहरुलाई गुडविल एम्बेसडरको रुपमा चिनाइएको हो ।
कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर फिल्मको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ फिल्ममा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए ।
नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए । जसको उदाहरण बलुन नेपालमार्फत हट एयर बलुनमा उड्न पाउनु समेत रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत महानायक हमालले विश्वास व्यक्त गरे ।
अभिनेत्री प्रियंका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन् । ‘म यो ऐतिहासिक कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा अत्यन्त खुसी छु’, उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया