मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

फिक्कल ‘इलाम’ – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

आज दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ‘डीएसपी’ प्रभुप्रसाद ढकालले जानकारी दिए । सडक मर्मतका क्रममा पहिरो गएको उनको भनाइ छ ।

राजमार्गअवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आवतजावत गर्ने सयौँ सङ्ख्यामा सवारी र यात्रु बोटोमै रोकिएका छन् । झापाबाट आएका सवारी साधनहरु माईखोलापारी र इलामबाट गएका सवारी साधनहरु पहिरोभन्दा माथिपट्टीको सडकमा लामबद्ध छन् ।

“यात्रुलाई केही दूरी पैदल हिँडाएर सवारीमार्फत गन्तव्यमा पुर्याउने काम भइरहेको छ”, प्रहरी प्रमुख ढकालले भन्नुभयो, “यसका लागि रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।”

पहिरोका कारण तत्काल सो क्षेत्रमा यातायात सञ्चालन हुने सम्भावना नभएपछि वैकल्पिकमार्ग प्रयोगको तयारी पनि भइरहेको उनको भनाइ छ । शनिबार बिहानदेखि इलाम नगरपालिका–१० गोदकस्थित सिमलगोलाइबाट जोगमाई खोला हुँदै इलाम नगरपालिका–८ तिल्केनी जोड्ने सडकलाई मेची राजमार्गको वैकल्पिक बाटोको रुपमा उपयोग गर्ने तयारी गरिएको उनले बताए ।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनिषा कट्टेलले मेची राजमार्ग तत्काल सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक बाटोको खोजी भइरहेको बताए ।

इलाम नगरपालिका प्रमुख केदार थापाले सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी तत्काल वैकल्पिक बाटोको पहिचान गरी सञ्चालन गर्न आग्रह गरिएको बताए ।

पानी परिरहेकाले सो क्षेत्रमा जोखिम बढेको इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए । सो स्थानमा गत साता समेत पहिरो जाँदा एक दिन राजमार्ग अवरुद्ध भएको थियो । मर्मतपछि सञ्चालनमा आएको एक साता नबित्दै पुनः पहिरो झरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?