काठमाडौँ – बहुप्रतिक्षित नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ । निर्माण टिमले यो गीत युट्युब च्यानलमार्फत रिलिज गरेको हो । गीतको शब्द, सङ्गीत र स्वर प्रशान्त शिवाकोटीले दिएका छन् ।
गीतले मुख्य पात्रहरूका जीवनकथा बोकेको छ । विशेष गरी गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ । भिडियोमा प्रमुख कलाकार विजय बराल (पूर्ण बहादुर), अञ्जना बराइली र बालकलाकार स्वायम् केसीको अभिनय रहेको छ ।
गीतमा पूर्ण बहादुरलाई श्रीमतीले छाडेपछि गाउँगाउँमा सारङ्गी बजाउँदै आफ्नो पीडा सुनाइरहेको देख्न सकिन्छ । उनी गीतसँगै पीडा मात्रै सुनाउँदैनन् सँगै रहेको सानो छोरोप्रतिको जिम्मेवारी रहेको पनि देखाउँछन् । यसले गीत र संवादमार्फत सिनेमाको कथा गीतले सङ्केत गरेको छ ।
सारङ्गीको धुनसँगै गीतमा प्रेम र पीडाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा पूर्णबहादुरले आफ्नो छोरालाई सारङ्गी बजाउन सिकाउँदै गरेको दृश्यले पारिवारिक विरासत र जातीय पेसालाई देखाउने प्रयास गरेको छ ।
यसअघि चलचित्रका अन्य दुई गीत ‘काँधेकुरी’ र ‘दाहिने हातैमा’ सार्वजनिक भइसकेका छन् ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा हो । सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।
सङ्गीतकार प्रशान्त शिवाकोटीले चलचित्रमा सङ्गीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया