मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

एक्कासी नाकबाट रगत बग्ने समस्या किन हुन्छ ?

कतिपय व्यक्तिको नाकबाट कहिलेकाहीँ त्यतिकै पनि रगत बग्ने समस्या हुन्छ । लडेर घाउचोट लागेर रगत बग्नु सामान्य नै हो । बिना कारण नाकबाट रगत बग्ने समस्या लिएर अस्पताल पुग्नेको सङ्संख्या बाह्रै महिना उत्तिकै रहेको चिकित्सकहरु बताउँछन् ।

नाकबाट रगत बग्ने कारण के के हुन्? किन नाकबाट रगत बग्छ? यसका निदानका उपाय के छन् लगायतका विषयमा भने धेरै जानकार नभएको पाइन्छ ।  यसै सन्दर्भ वरिपरि रहेर नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सुवास खड्कासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

अचानक घाउ चोट बिना नाकबाट रगत बग्ने समस्या किन हुन्छ ?

नाकबाट रगत बग्नुका तिन कारणहरु हुन्छन् । बिनाकारण, लोकल कारण र सिस्टमेटिक समस्या । नाकको माथिल्लो भागमुनि सेप्टम नामक कुरकुरे हड्डी हुन्छ । त्यो हड्डीको अगाडिपट्टि पाँचवटा रगतको नसा गुजुल्टिएर बसेको हुन्छ । यस्ता नसा संवेदनशील हुनुका साथै पातलो झिल्लीले ढाकिएको हुन्छ । कुनै कारणवश यस्ता झिल्ली फाटेर नसामा क्षति भएमा फुटेर रगत आउँछ ।

नाकबाट रगत आउने कारण सामान्यदेखि गम्भीर हुनसक्छ । नाकमा चोटपटक लागेमा, नाक कोट्याउँदा नसामा घोचेमा नसा फुटेर पनि रगत बग्न सक्छ । त्यस्तै, कतै लड्दा वा सडक दुर्घटनामा पर्दा कुरकुरे हड्डीमा प्वाल पर्दा पनि रगत आउँछ । यसैगरी सिंगान फाल्न बल लगाएर सिंसिं गर्दा पनि थेग्न नसक्ने दबाब परी नसा फुटेर रगत आउँछ । यस्तै नाकको संक्रमण पिनास, एलर्जीका कारण रुघाखोकी बढी लाग्ने गर्छ ।

यस्तोमा नाक पनि टालिन्छ । जबरजस्ती सिंगान तान्न वा फाल्न खोज्दा रगतको नसामा असर गरी रगत बग्न सक्छ । जाडोबाट गर्मी र गर्मीबाट जाडो मौसम शुरु हुनै लाग्दा यस्तो समस्या बढी देखा पर्छ । यस्तो समयमा नाकको रक्तनली पातलो भइदिन्छ र रगत बाहिर निस्किन्छ । गर्मीयाममा तातो हावा बहन्छ । यसले पनि नाकका रक्तनलीलाई सुक्खा पार्छ । नाक सुक्खा भइरहँदा त्यहाँका कोषिकाहरु फुट्न सक्छ ।

अर्को भनेको नाकको कुरकुरे हड्डी बाँगिएर, क्यान्सरका कारण नाकभित्र मासु पलाउनु, अत्यधिक उचाइमा जाँदा पनि वातावरणमा परिवर्तन भई नाकले सहन नसकेर रगत आउँछ । शरीरको अन्य भागमा समस्या भएमा पनि रगत आउन सक्छ । जस्तै, मुटुको समस्या, रगत पातलो बनाउने औषधीको सेवन, दुखाइ कम गर्ने औषधी लामो समयदेखि लिँदा, उच्च रक्तचाप र गर्भावस्थामा नाकबाट रगत आउन सक्छ । कहिलेकाहीँ भने कुनै कारणबिनै रगत आउन सक्छ ।

कतिपय अवस्थामा विना कारण पनि नाकबाट रगत आउने गर्छ । कहिलेकाहीँ गर्मीयामका कारण तातो हावाले पनि रगत बग्न सक्छ ।

रगत नाकको कुन भागबाट आउँछ ?

मुख्यगरी नाथ्रीबाट नै रगत आउने गर्छ । अर्को भनेको नाकभित्र हाम्रो हातले भेट्ने ठाउँमै पाँचवटा रगतको नसा गुजुल्टिएर बसेको हुन्छ । यसमा बाधा पुग्यो र बल पर्‍यो भने रगत आउँछ ।

घरमै गर्न सकिने प्राथमिक उपचार र औषधी उपचारहरु के–के छन् ?

नाकबाट रगत बग्दैमा आतिनुपर्दैन । शुरुमा चिसो पानीले सफा गर्ने र मुख धुने गर्नुपर्छ र शरीर एकदम तातेको छ भने आइस लगाउनुपर्छ । त्यसपछि १० मिनेट जति नाक समातेर बस्दा पनि अझ राम्रो हुन्छ । लगभग १० मिनेट यसो गर्दा नाकबाट रगत आउन बन्द हुन्छ । नाकबाट रगत आएपछि शिर ठाडो पारेर रोकिन्छ भन्ने गलत भ्रम छ । यस्तो गरेमा नाकबाट बगेको रगत श्वासनली हुँदै फोक्सोमा पुग्न सक्छ । जसकारण सास फेर्न समेत कठिन हुन जान्छ ।

नाकबाट रगत आउन नदिन के गर्न सकिन्छ?

मुख्यकुरा त नाक कोट्याउने बानी आजैबाट हटाउनुपर्छ ।

कस्तो अवस्थामा जटिलता निम्तन सक्छ ?

नाकबाट रगत बग्ने समस्या निरन्तर भइरह्यो भने ट्युमर हुने जोखिम रहन्छ । अर्को कुरा नाकबाट रगत बग्दै गर्दा तपार्इंले १० मिनेटजति नाक थुनेर बस्दा पनि रगत बगिरहेको छ भने शरीरमा हेमोग्लोबिनको कमी हुनसक्छ । रगत बग्न बन्द होला भनेर तपाईं अस्पताल जानुभएन र अत्याधिक रक्तश्राव भयो भने ज्यानै समेत जानसक्छ । यसकारण अत्याधिक रक्तश्राव भयो भने तुरुनत अस्पताल जानुपर्छ ।

यो समस्या जाडोयाममा भन्दा गर्मीयाममा हुन्छ भन्ने आम मान्यता छ नि होइन ?

गर्मीयाममा मात्रै यस्तो समस्या देखिने होइन । तर जाडो महिनाको तुलनामा सुख्खायाममा बढी देखिन्छ । किनकि यदि तपाईंको नाथ्री फुटेको छ भने तापक्रम बढ्दा पनि नाकबाट रगत बग्नसक्छ ।

यसको औषधि र घरेलु उपचार के छ ?

बिरामी अस्पताल आइपुगेपछि शुरुमा त रगत आएको क्षेत्र र कारण पत्ता लगाइन्छ  । बिरामी एमरजेन्सीमा आउनुभएको छ भने स्लाइन पानी दिइन्छ । त्यसपछि कपासमा औषधि हालेर नाकभित्र राखिन्छ । औषधि राखेर नाथ्री पोलिन्छ र यसले पनि भएन भने नाकको रगत बग्ने भाग बान्न पनि सकिन्छ ।

नाकबाट रगत आउने समस्याबाट बच्न के सुझाव दिन चाहनुहुन्छ ?

बालबालिकालाई नाकमा औंला राख्न दिनु हुँदैन भनेर सिकाउने, शिशुलाई पन्जा लगाइदिने गर्नुपर्छ । यसो गर्दा आँखा तथा नाकसम्म औंला पुग्न पाउँदैन । त्यस्तै संक्रमणबाट बच्न बाहिर मास्क लगाएर मात्र हिँडडुल गर्नुपर्छ । बच्चाको सिंगानको रङ र गन्धमा ध्यान दिनुपर्छ । असामान्य खालको परिवर्तन आए चिकित्सकलाई देखाउनुपर्छ । जथाभावी दुखाइको औषधि पनि सेवन गर्नु हुँदैन । बल गरेर सिँगान फाल्ने गर्दा पनि यो समस्या निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?