काठमाडौँ – घटस्थापनको अवसर पारेर निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रर्दशनमा आएको छ ।
साजन काफ्ले र आकाश बरालको संयुक्तरुपमा निर्देशनमा बनेको ‘बेहुली फ्रम मेघौली’ ३० वर्ष उमेर पुगेकी युवतीले योग्य वर पाउन गर्नुपर्ने संघर्ष र हैरानीको कथा हो ।
यो फिल्मका लागि देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर कुल ७३ शो उपलब्ध गराएको छ। यस्तै, आइएनआई सिनेमाजले काठमाडौँका दुई हल र बुटवलमा गरी १४ शो दिएको छ भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीमा गरी ९ शो दिएको छ।
यसैगरी बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन्। एक्लो प्रदर्शनका कारण अन्य केही हलहरूमा समेत गरेर आज फिल्मले दुई सय हाराहारीको शो पाउने बताइएको छ ।
हिन्दी फिल्म ‘देवरा’ले सोचेअनुसार अकुपेन्सी होल्ड नगर्दाको फाइदा ‘बेहुली फ्रम मेघौली’ ले उठाउन सक्ने अवस्था छ । यसरी हेर्दा अब फिल्मलाई शोलाई अकुपेन्सीमा बदल्ने चुनौती छ । यसका लागि फिल्मले बलियो वर्ड अफ माउथ प्राप्त गर्नुपर्ने हुन्छ ।
फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेतको साथमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय छ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ। यो फिल्म आजैबाट ६० वटा अमेरिकी सहरमा समेत रिलिज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया