मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिथिला कला

जसले ‘घुंगट’ उतारेर कलाको बाटो रोजिन्, परिवारमा विद्रोह गरिन्

काठमाडौँ– आफूले बाँचेको साँढे तीन दशकभन्दा अघिको समयलाई स्मरण गर्ने हो भने मिथिला चित्रकारका रुपमा आफूलाई दरिलो रुपमा उभ्याएकी मिथिलादेवी यादवको आँखामा उही अँध्यारा दिनका झलक मात्र आउँछन् ।

उनका आँखामा उही गरिबी, अभाव, मधेशी समाजमा घुंगटभित्र रहेका महिलाको कमजोर आर्थिक एवं सामाजिक अवस्था वरिपरि घुम्छन् । ४० को दशकमा महिलाले पालना गर्नैपर्ने घुंगट संस्कृति, तोड्न नहुने घरको पर्खाल, आफ्नो सिङ्गो जीवन नै श्रीमानका नाममा सुम्पिदिनुपर्ने बाध्यता, यी सारा बन्धनहरुलाई उनले ४० वर्षअघि नै तोडिन् ।

जुन हिम्मत उनलाई मिथिला कला सिर्जनाले दियो । मिथिला कलाको बाटो समातेर नै उनले आफू मात्र होइन, एक्लैले तीन सन्तान हुर्काउने हिम्मत जुटाइन् ।

मिथिला कला भन्ने बित्तिकै मैथिली समाज, संस्कृति र महिलाको सिर्जना जोडिएर आउँछ । नेपालको मौलिक लोककलाका रुपमा चिनिने मिथिला कलालाई मैथिल समाज, संस्कृति र सभ्यताको पहिचानको रुपमा लिइन्छ ।

मैथिली समुदायका नारीले परम्परागत रुपमै विभिन्न पूजा, पर्व, उत्सवहरुमा मिथिला कला बनाउन सिक्छन् । उनीहरूको समाजको सौन्दर्य झल्काउने मिथिला चित्र प्रमुख रुपमा आउँछ । यसले मैथिली समाजमा महिला सशक्तीकरणका लागि महत्वपूर्ण आधार स्तम्भ बनाएको चित्रकार यादवको मत छ ।

उनका अनुसार मिथिला कला सिर्जना गरेर नै मिथिला क्षेत्रका महिलाहरु आर्थिक तथा सामाजिक रुपमा सशक्त भएका छन् । जसरी मिथिला क्षेत्रबाट मिथिला कलाले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो आयामलाई फराकिलो बनायो, त्यसरी नै कला सँगसँगै मैथिल महिलाहरु पनि मिथिलामा मात्र नभएर देश तथा विदेशमा आफ्नो पहिचानसहित उपस्थिति जनाएका छन् ।

यसमा चित्रकार यादव मात्र नभएर मञ्जुलादेवी ठाकुर, सुधीरा कर्ण, रेवती मण्डल, रेमनी मण्डल लगायतका नाम मिथिला चित्रकारहरुको सूचीमा अग्र स्थानमा आउँछ । उनीहरुकै पाइला पछ्याएर अहिले कोमल पूर्वे, पुनमकुमारी दास, सरिता मण्डल, रञ्जु यादव लगायतका चित्रकारहरुले मिथिला कला सिर्जनालाई समकालीन समय र समाजसँग जोडेर अझै फराकिलो बनाइरहेका छन् ।

चित्रकार यादव यी सबैको श्रेय मिथिला कलालाई नै दिन्छिन् । ‘मिथिला कलासँगै महिलाहरुको पनि चेतनामा विकास भयो,’ उनले भनिन्, ‘महिलाहरुले बनाएको मिथिला पेन्टिङ बिक्री हुन थालेपछि केही पैसा आफैं कमाउन थाले ।

यसले गर्दा उनीहरुमा आफैं गर्न सक्छु भन्ने हिम्मत आयो ।,’ मिथिला पेन्टिङ बनाउने, बिक्री गर्ने र त्यही सिलसिलामा मानिसहरुसँगको जम्काभेट तथा अन्तक्र्रियाले महिलाहरुले बाहिरी दुनियाँ समेत बुझ्ने मौका पाएको उनले सुनाइन् ।

वि.सं. २०१८ साल साउन २८ गते बुवा तपेश्वर यादव र आमा सीतादेवी यादवको कोखबाट धनुषा, जनकपुरमा जन्मिएकी यादवको विवाह १३ वर्षको उमेरमै शिवराज यादवसँग भयो । २० वर्षको उमरेमै उनले तीन जना सन्तानलाई जन्म दिइसकेकी थिइन् ।

सानैमा हजुरआमा र आमाहरुले घरको भित्ता र आँगनहरुमा बनाइने अरिपन लगायतका मिथिला कलाहरु बनाएको हेरेर हुर्किएकी उनले आफूले पनि त्यही सिको गरिन् । विवाह र सन्तान भएपछि कृषि कर्ममा लाग्न त्यति समय र मन पनि नभएपछि उनी जनकपुर चुरोट कारखानामा २०३६ सालमा जागीरे जीवन शुरु गरिन् ।

त्यही काम गर्ने क्रममा बिस्तारै उनी मिथिला चित्र सिर्जनातिर लागिन् । ४० को दशकमा अमेरिकी कलाप्रेमी क्लेयर बुर्कर्टको मैथिल समाजमा आगमनपछि भने चित्रकार यादवको जीवनले नयाँ मोड लियो ।

सन् १९८० को अन्त्यतिर प्राध्यापक राजेन्द्र विमलको प्राज्ञिक पथ प्रदर्शनमा बुर्कर्टले जनकपुर क्षेत्रका भित्तेचित्रहरूको दस्ताबेजीकरण गर्न शुरु गरेको लेखक एवं राजनीतिक विश्लेषक सीके लालले आफ्नो लेख ‘मिथिला कलाको कठिन यात्रा’ मा उल्लेख गरेका छन् ।

बिमल र बुर्कर्टको प्राज्ञिक प्रयासले मिथिला नारीका कलालाई कागज र क्यानभासमा ल्याउन अहम् भूमिका खेल्यो । लेख अनुसार यसभन्दा अघि नेपालमा ‘नब्बे सालको भूकप्प’ ताका सन् १९३४ को बिहार–नेपाल महाभूकम्प ताका क्षति अभिलेखीकरणका लागि तत्कालीन ब्रिटिस इन्डियाका कलक्टर डब्यु.जी.आर्चर राज दरभंगाको सीमान्त क्षेत्रमा खटिएका थिए ।

उनले तीनताका मधुवनी क्षेत्रका छेउछाउका गाउँका भत्केका घरका भित्ताहरुमा सुन्दर चित्रहरु अवलोकन गरे । त्यसपछि उनले ती चित्रहरुलाई करिब एक दशकसम्म पटक पटक आएर क्यामरामा कैद गरे । सन् १९४० को दशकको अन्त्यतिर उनले आफ्नो अंग्रेजी भाषाको ‘मार्ग’ भन्ने पत्रिकामा सचित्र लेखद्वारा ‘मधुवनी पेन्टिङ’लाई अन्तर्राष्ट्रिय कलाप्रेमीहरू समक्ष ल्याएका थिए ।

त्यसपछि सन् १९५० देखि १९६६–१९६७ तिरको बाढी, अनिकाल जस्ता महासंकटको बेला मिथिला कला प्रकाशमा आएको थियो । मिथिला क्षेत्रमा तत्कालीन समयमा भएको अनिकाललाई न्यूननीकरण गर्न इन्दिरा गान्धीका मित्र हस्तकला प्रवद्र्धनमा लागेका पुपुल जयकरले तुरुन्तै कला प्रवर्धक भाष्कर कुलकर्णीलाई मिथिलातिर पठाएकी थिइन् ।

त्यसपछि मधुवनी कलामा नयाँ दिल्ली हुँदै भारतमा विस्तार र स्थापित भयो । यसलाई अमेरिकासम्म भने एथनिक आट्र्स फाउन्डेसनका प्रमुख संस्थापक एवं कलापारखी रेमन्ड ओवेन्सले पुर्‍याएका थिए । मिथिलाको नियमित आकस्मिकताजस्ता बाढी र सुक्खा समस्या अध्ययन गर्न आएको समयमा उनले ‘मधुवनी पेन्टिङ’लाई अवलोकन गरेका थिए ।

त्यसपछि भने बुर्कर्ट र विमलको टोली मिथिला क्षेत्रमा पुगेका थिए । यी सबै उतारचढावहरु हुनुभन्दा अघि मिथिला कलालाई ‘लिखिया’ नामले चिनिन्थ्यो । धार्मिक, सांस्कृतिक एवं परम्परागत मान्यताहरु भित्रै यो सीमित थियो ।

मैथिलबासीलाई यो एक मौलिक लोककला हो भन्ने आभास थिएन । बुर्कर्ट, प्राध्यापक विमल र मैथिल नारीहरूको सक्रियतामा वि.सं.२०४८ सालमा जनकपुरस्थित ‘जनकपुर नारी विकास केन्द्र’को स्थापनापछि मिथिला कलामा एक किसिमको जागरण आयो र यसले व्यावसायिकताको बाटो तय गर्‍यो ।

बुर्कटसँग चित्रकार यादवको भेट २०४३ सालतिरै भएको थियो । मिथिला कला र मैथिल नारीहरुको विकासमा बुर्कर्ट, प्राध्यापक विमलको ठूलो योगदान रहेको उनी स्वीकार्छिन् । उनीहरुकै प्रयासले ‘जनकपुर नारी विकास केन्द्र’ स्थापना भएको उनले सुनाइन् ।

जुन संस्थाले मिथिला समुदायका नारीलाई घुंगट उतारेर बाहिर आउन प्रोत्साहन गर्‍यो । तर त्यतिबेला यादवको जीवन दुईधारहरुको दोसाँधमा पर्‍यो । उनले मिथिला कला सिर्जना वा गृहिणी दुई मध्ये एकलाई मात्र छान्नुपर्ने भयो ।

उनको घरपरिपार र श्रीमान् चाहन्थे, उनले परम्परागत रुपमै घरगृहस्थी सम्हालुन् । उनी भने मिथिला सिर्जनामा लागेर आत्मनिर्भर बन्न चाहन्थिन् । एक त मिथिला कलाकारको रुपमा आफ्नो पहिचान बनाउने हुटहुटी अर्कोतिर उनी महिलालाई घरको चौघेरामै सीमित राख्ने परम्परागत मान्यतालाई तोड्न चाहन्थिन् ।

उनको पाइलामा बुर्कर्ट र काठमाडौंबाट गएकी कोहिनुरले हौसला प्रदान गरे । कोहिनुर दिएको ब्रस, कागज र रङले उनले मिथिला चित्र कोरिन् । घरको भित्ता र भुइँबाट कागजमा कोरेको उनको त्यही पहिलो चित्र थियो ।

मिथिला सिर्जनामा लागेपछि परिवारको साथ टुट्यो । किनकि उनी परिवारको इच्छा विपरीत काममा लागेकी थिइन् । यद्यपि उनले आफ्नो सिर्जना यात्रालाई जारी राखिन् । २०४५ सालमा उनले जनकपुरमा ‘मिथिला हस्तकला पेन्टिङ उद्योग’को स्थापना गरिन्  र ४५ जना महिलाहरुलाई प्रशिक्षण दिएर रोजगारको वातावरण समेत बनाइन् ।

वि.सं. २०५२ सालमा मिथिला कलाको विस्तारकै लागि उनी जनकपुरबाट तीन छोराछोरी काखमा राखेर राजधानी छिरिन् । जनकपुरमा सञ्चालित संस्थालाई स्वचालित गर्दै उनले काठमाडौंस्थित ठमेल जस्ता स्थानहरुमा मिथिला कलाको बजार खोजिन् र राजधानीलाई मैथिल सिर्जना चिनाउन सफल भइन् । २०७२ सालको भूकम्पभन्दा अघि उनको संस्थाबाट सिर्जना भएका मिथिला कलाको व्यापार देशमा मात्र नभएर विदेशसम्म फैलियो ।

त्यसपछि भने बजार केही सुस्ताएको उनले सुनाइन् । कला सिर्जनाकै यात्रामा उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभा सदस्य हुँदै प्राज्ञ परिषद सदस्य भएर लोककला विभागको नेतृत्व गरिन् ।

त्यस अवधिमा उनले मिथिला मात्र नभएर नेपालका विभिन्न जातजाति र समुदायमा रहेका लोककलाको अध्ययन, अनुसन्धान गर्ने कार्यमा जोड दिइन् ।

मिथिला कला सिर्जनामा एस.सी.सुमन, लक्ष्मण मण्डल, श्यामसुन्दर यादव जस्ता पुरुष कलाकाहरु पनि छन् भने यही कला सिर्जनामा सयौं महिलाहरु छन् । मिथिला कलाले अहिले धार्मिक र सांस्कृतिक मात्र होइन, वर्गीय, लैङ्गिग विभेद र तराईमा व्याप्त दाइजो प्रथालाई समेत उठान गरिरहेको छ ।

यसमा महिला समानता, स्वतन्त्रता र सशक्तिकरणका आवाज बुलन्द भएर आएका छन् । यादवले पनि आफैंले भोगेको पीडा र विभेदलाई कलामा चित्रण गरिरहेकी छिन् । मिथिला कला र कलाकारहरुको विस्तार देखेर उनलाई औधि खुसी लाग्छ ।

कला क्षेत्रमा योगदान पुर्‍याएकै कारण उनलाई नेपाल सरकारको ‘सुप्रबल जनसेवाश्री–२०७५,’ ‘भद्रकुमारी घले सेवासदनबाट ‘ललितकला पुरस्कार–२०७०,’ ललितकला प्रज्ञा प्रतिष्ठानबाट विशेष पुरस्कार–२०६८’ र २०७५ मा श्री सरस्वती राजनारायण एकेडेमी ब्रम्हापुरी सर्लाहीबाट सम्मान गरिएको छ ।

उनी हस्तकला महासङ्घ र तुलसीमेहर गान्धी आश्रमको समेत सदस्य हुन् ।

जेठो छोराको निधन भएपनि उनको कान्छो छोराबुहारी(सन्तोष यादव र मञ्जु यादव) पनि अहिले कला सिर्जनामै छन् । अहिले छोराबुहारीले मिथिला हस्तकला उद्योगलाई सञ्चालन गरिरहेका छन् भने उनी काठमाडौं डल्लुमा रहेर सिर्जनाकर्मलाई अगाडि बढाउँदै दुई नातीहरुको अध्ययनमा सघाउ पुर्‍याइरहेकी छिन् ।

मिथिला कला सिर्जनाबाट नै उनले छोराछोरीदेखि नातीहरुलाई समेत हुर्काइन्, बढाइन् र पढाइन् । आर्थिक रुपमा मात्र होइन मिथिला कलाकारको रुपमा उनको आफ्नो गहकिलो पहिचान स्थापित भयो । त्यसकारण हिजो कला सिर्जनाको बाटो रोजेकोमा उनलाई आज कुनै पछुतो छैन ।

आफू मिथिला कलाकारको रुपमा चिनिँदा आफैंप्रति गर्व लाग्ने उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?