मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

बालबालिकाले खाना खान अटेर गर्नुको कारण के हो?

कतिपय बालबालिकामा खाना खान नमान्ने समस्या हुन्छ । बच्चालाई खाना खुवाउनका लागि पनि अनेक उपाय अपनाउनुपर्ने हुँदा अभिभावकले हैरानी खेपिरहेका छन् ।

बालबालिकाले खाना नखाँदा मोबाइल देखाएर खुवाउने, बाहिर डुलाउने, टिभी देखाउने, कुनै गीत बजाइदिने गरेको पनि हामीले देखिरहेकै हुन्छौँ । घरको खाना नखाएपछि बाहिरको खाना खान्छन् कि भनेर बजारमा पाइने जङ्क फुडहरू पनि गरिन्छ ।

आखिर किन बालबालिकाहरु खाना खान मान्दैनन् त ? मोबाइल, टेलिभिजनको लत लगाएर बच्चाहरुलाई खाना खुवाउनु कत्तिको सही र स्वस्थकर हो? बच्चाहरुलाई दिनमा कतिपटक खुवाउनु पर्छ? उनीहरुलाई कति खाना आवश्यक पर्छ लगायतका सन्दर्भमा पोषणविद् अनुश्री आचार्यसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:   

अहिलेका बालबालिकाले खाना नै नखाएर अभिभावकले समस्या झेलिरहेको पाइन्छ । उनीहरूलाई कति खाना आवश्यक पर्छ?

कतिपय बच्चाले खाना खाएन भन्ने गुनासो पनि गर्ने गर्नुहुन्छ । तर, अभिभावकले पनि बच्चाले किन खाना खान मानिरहेको छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । बालबालिकालाई खाना खाने बानी बसाउन उमेरअनुसार विशेष खाना तयार गर्नुपर्छ । ६ महिनापछि लिटो, जाउलो जस्ता गिलो र नरम खाना दिनुपर्छ भने एक वर्षपछि नरम भात, दाल, तरकारी दिनुपर्छ । तीन वर्षको उमेरभित्र बच्चालाई सबै प्रकारका खाना चखाउनुपर्छ ।

बच्चाले खाना नमान्दा नमान्दै कतिपय अभिभावकले कोच्याउने गर्नुहुन्छ । के यो सही हो ?

बच्चाले खाना पुग्यो भनेपछि पनि बच्चालाई कोच्याएर खाना खुवाउने बानी धेरै अभिभावकको हुन्छ । बच्चाले खाना पुग्यो भन्दाभन्दै कर गरेर खुवाउँदा  बालबालिकाले खानाप्रति झन अरुचि देखाउन थाल्दछन् । त्यसैले बच्चालाई करकाप गरेर खाना खुवाउनु हुँदैन ।

खाना खाने बानी बसाउन के गर्ने ?

बालबालिकासँगै अभिभावकले पनि खाना खानुपर्छ । बच्चाले खाना खाइरहेको बेला उसको अगाडि बसेर आफूले पनि खाने यो खानेकुराको नाम यो हो, यसले स्वास्थ्यमा यस्तो फाइदा गर्छ भन्दै सिकाउँदै खाना खुवाउँदा उनीहरुले सहजै खाना खान मान्छन् । साथै परिवारको खाना खाने समय निश्चित बनाउनुपर्छ । यसो गर्दा निश्चित समयमा भोकको अनुभव हुन्छ र खानामा रुचि बढ्छ ।

बच्चालाई खाना खुवाउने बेला उनीहरुले टन्न खाइदिउन भन्नका लागि अभिभावकहरुले ग्याजेट्सहरु दिने गर्नुहुन्छ । यस्तो बानी बसाल्नाले बच्चामा कस्तो असर पर्छ ?

आजभोलि धेरै अभिभावकले बच्चाले खाना खान मान्दैन भनेर खाना खाने समयमा मोबाइल, टयाब्लेट जस्ता ग्याजेट दिने गर्छन् । तर बालबालिकालाई खाना खुवाउने क्रममा सकेसम्म मोबाइल, टिभी हेर्न नदिनहोस् । यसले बालबालिकाको ध्यान खानामा भन्दा मोबाइलमा हुन्छ ।

आफूले के खाइरहेको छु भन्ने कुरा पनि बच्चालाई थाहा हुँदैन । जसले गर्दा उसले खानाको स्वाद र पोषण राम्ररी पाउँदैन । साथै विभिन्न अनुसन्धानले यसबाट बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर गर्छ भनेर समेत देखाएको छ ।

बच्चाहरुलाई भुलाउन जङ्क फुडहरु दिने चलन कत्तिको स्वस्थकर हुन्छ ?

कतिपय बालबालिका घरको खाना खान मन नपराउने बाहिरको तयारी खाना मात्र मन पराउने हुन्छन् । बच्चाले जब घरमा पाकेको खानेकुरा खान रुची गर्दैनन्, बाहिरी तयारी खानेकुराले पेट भर्न थाल्छन् । जब भोक लाग्छ उनीहरूलाई बाहिरी खानाकै तलतल लाग्न थाल्छ ।

यसरी खराब खानपानको कारण उनीहरूमा पोषणको कमी हुन जान्छ । बच्चाको तयारी खाना खाने बानीलाई परिवर्तन गर्न घरमा नै आकर्षक खानेकुरा बनाएर दिन सकिन्छ । साथै रेसिपी पनि परिवर्तन गरेर नयाँ–नयाँ स्वादको खानेकुरा दिएर उनीहरुलाई घरको खानामा बानी बसाउन सकिन्छ ।

बच्चाले किन खाना खान मान्दैनन्, सहजै खाना खुवाउन के गर्ने ?

बच्चाले खाना खान मानिरहेको छैन भने पहिलो कुरा त उसमा केही स्वास्थ्य समस्या हुनसक्ने भएका कारण बच्चालाई ज्वरो आएको छ, कुनै संक्रमण भएको छ वा अन्य स्वास्थ्य समस्या छ कि चेकजाँच गराउनुपर्छ । यस्तो भएमा पनि बच्चाले खाना नमान्ने हुन्छ । यस्तोमा बच्चाको तौल कम छ र उसले लामो समयदेखि खाना खान मन गर्दैन भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

बच्चालाई केही नयाँ खाना खुवाइयो भने भने उनीहरूले त्यो खाना खान मन गर्दैन । त्यस्तो भएमा उनीहरूलाई कर गर्नु भन्दा बिस्तारै खानाको बानी पार्दै जानुपर्छ । एउटै प्रकारको खाना दैनिक रुपमा खान दिइयो भने बालबालिकाले खान मन गर्दैनन् ।

बालबालिकालाई खाना दिँदा उसको रुचि अनुसार परिवर्तन गरेर दिँदा खानामा रुची बढ्न सक्छ । बच्चाले कुनै खानेकुरा खाएन भने उसलाई खानाको एलर्जी वा ग्यास्ट्रिक भएको हुनसक्छ । ठूलो मान्छेलाई जस्तो लक्षण नदेखिए पनि बच्चालाई पेट ढुस्स हुने र खाना नपच्ने जस्ता समस्या हुन्छ । त्यसैले पूरक खाना शुरु गर्नुअघि वा बच्चाले लामो समयदेखि खाना खान मानेको छैन भने एक पटक चिकित्सक तथा पोषणविद्को सल्लाह लिनु राम्रो हुन्छ ।

कस्ता र कुन उमेर समूहका बालबालिकाहरुमा खाना खान समस्या हुन्छ ?

नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरु अलि सक्रिय हुन्छन् । त्यसैले उनीहरूलाई एकै ठाउँमा राखेर खाना खुवाउन खोज्दा खान मान्दैनन् । यो उमेर समूहको बालबालिकालाई घुमाएर खुवाउँदा सजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?