काठमाडौँ– अविरल बर्षापछि नागढुङ्गा–नौबिसे सडक खण्डस्थित झ्याप्ले खोलामा गएको पहिरोले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
शिल्पी थियटरका संस्थापक युवराज घिमिरेले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी गराएका हुन् ।
‘हिजो बिहान ९ बजे पोखराबाट काठमाडौका लागि हिंडेका हामी शिल्पी थिएटरका ११ जना सदस्य नागढुङ्गा छेउछाउ अनकन्टारमा फसेकाछौं’ उनले पोस्ट गरेका छन्, ‘हामी एकै ठाउँमा हिजो साँझ ८ बजेदेखि अड्किएकाछौं । पहिरोका कारणले सयौं गाडी र मानिसहरू यहाँ फसेका छन् ।’
घिमिरेका अनुसार शिल्पी थियटरका केही सदस्य बिरामी पर्दा उनीहरुसँगै फसेका सयौँले शौचालयदेखि आपतकालीन समस्या भोगिरहेका छन् ।
‘अगाडि पछाडि पहिरो खस्दो छ । आँखा अगाडि एउटा गाडी पुरियो।,’ सडकको अवस्था बयान गर्दै पोस्ट गरेका उनले राज्यको कमजोर उपस्थितीमाथि प्रश्न गरेका हुन् ।
चन्द्रागिरि नगरपालिका–२ र धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका–९ को सिमाना नागढुङ्गा–नौबिसे सडक खण्डस्थित झ्याप्ले खोलामा माथिबाट आएको पहिरोले यात्रुवाहक बस पुरिएको छ ।
घटना बिहान ३–३० बजे तिर भएको हो भने मानवीय क्षति के कति भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन् ।
यस्तै, चन्द्रागिरि नगरपालिका–२ स्थित पिपलामोडभन्दा माथि बिहान ४.३० बजे रुख ढल्दा एक माइक्रोबस र एउटा निजी कार किचिएको थियो ।
यससँगै नागढुङ्गा–नैबिसे सडकखण्डमा यातायात अवरुद्ध भएको छ भने पहिरोले बाटो पूर्ण रुपमा बन्द छ । अलपत्र यात्रुहरु अहिले हिँडेरै काठमाडौँतर्फ अघि बढेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया