वर्षाका कारण विद्युत् आपूर्ति प्रभावित

काठमाडौँ – अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्‍याउँदा काठमाडौँ उपत्यकाको आधा क्षेत्रमा बिजुली छैन । 

प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषका अनुसार बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका छन् । 

भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै, पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् । 

लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रीधारा फिडर बन्द छ । टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल,सुन्धारा, कालीमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् ।

नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्युचाटार सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् । 

यहि कारण काठमाडौँ उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिबार करिब २०० मेगावाट मात्र रहेको घोषले जनाए । 

विद्युत् आपूर्ति जतिसक्दो छिटो सुचारु गर्न प्राधिकरणको टोली खटिए पनि धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन अप्ठ्यारो भइरहेको प्राधिकरणले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?