म्याग्दी– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमापालेको च्याङग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आएका छन् ।
‘वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,’ उनले भने ‘घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु ।’ ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् ।
याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशैँ तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।
सडक यातायात र बजारको सुबिधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड –४ घाराका पेमा छिरिङ गुरुङले बताए।
‘पहिले दशैँ तिहारका लागि एक महिना पहिलेनै च्याङग्रा हिडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,’ उनले भने ‘अहिले गाउँबाटै प्रतिगोटा रु ३३ देखि ३५ हजारमा च्याङग्रा बिक्री भइरहेको छ ।’
तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुने गर्छ । बर्खामा समुन्द्री सतहदेखि छ हजार मिटर उचाइको हिमालको फेदमा पुग्ने च्याङग्रा गोठहरू असोज लागेपछि बेँसीतर्फ झार्ने गर्छन् ।
तीन-चार वटा घरले वार्षिक रुपमा एक लाख पचास हजार ज्याला दिएर च्याङ्ग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरू च्याङ्ग्रा गोठाला बस्ने गर्छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्याङग्रा फार्म छन् । २० देखि ५० वटाको सङ्ख्यामा च्याङ्ग्रा पाल्ने कृषकहरूको सङ्ख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणि अर्यालले बताए ।
उनका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङ्ग्रा पालिएको छ । थासाङ बाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यवसायिक च्याङग्रापालन भएको छ । यसवर्षको दशैँ तिहारका लागि मुस्ताङबाट च्याङग्रा निकासी हुन थालेको छ ।
बुधबारसम्म तीन सय ९७ च्याङ्ग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरि सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताए । स्वास्थ्य परिक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ ।
स्थानीय व्यापारीले गाउँका किसानहरुबाट खरिद गरेर जोमसोममा च्याङ्ग्रा ल्याउन थालेका छन् । देशका विभिन्न ठाउँका ब्यापारीहरुले जोमसोममा खरिद गरेका च्याङग्रा हिडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन् ।
बेनी देखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङ्ग्रा लैजाने गर्छन् । मुस्ताङबाट गत वर्ष २० करोड भन्दा बढी मूल्य बराबरको सात हजार च्याङ्ग्रा निकासी भएको थियो । यसपालीको दशैँ तिहारका लागि १० देखि ११ हजार च्याङ्ग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताए। मुगु र डोल्पाको च्याङ्ग्रा पनि मुस्ताङ हुदै बजार पठाउने गर्छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरुले मुस्ताङमा च्याङग्रापालन विस्तार र प्रर्वद्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन् ।
पिपिआर रोग विरुद्धको निःशुल्क खोप लगाउने ब्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्याङग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन कार्यक्रमले परम्परागत रुपमा हुदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यवसायिक बनाई गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिबिधी गर्दै आएको छ ।
च्याङ्ग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङग्रालाई बन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताए ।
हिमचितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्ने समस्या र हिउँदको समयमा आहराको ब्यवस्थापन मुस्ताङको च्याङग्रापालनमा चुनौतिका रुपमा देखिएको किसान तथा कृषि प्राविधिकहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया