लगभग सबै मानिसलाई कुनै न कुनै बेला केही न केहीले पक्कै पोलेको होला । कहिले आगो, तातोपानी, तातो तेल, हिटर, अगरबत्ती वा अन्य तातो वस्तुको प्रयोगमा सानो असावधानी हुनासाथ पोल्ने सम्भावना हुन्छ ।
यस किसिमको पोलाइका कारण जलन हुनुका साथै यो निकै पीडादायक समेत हुन्छ । साथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहने गर्दछ ।
जलन वा पोलाई अप्रत्याशित दुर्घटना भए पनि यो विशेषतः लापरबाही र सावधानीको अभावमा हुने गर्दछ । तर दुर्घटना भइसकेपछि पुनः घटना नदोहोरियोस् भनेर सावधानी अपनाउनुका साथसाथै तत्काल प्राथमिक उपचार गर्नु पनि आवश्यक हुन्छ ।
प्राथमिक उपचारका लागी निम्न टिप्स उपयोगी हुन्छ :
१. यदि आगोले वा तातो पानीले पोलेको छ र छाला छेडिएको वा नष्ट भएको छैन भने तत्काल सफा चिसो पानीमा डुबाउनु पर्दछ ।
२. यदि औलामा पोलेको छ र छाला नष्ट भएको छैन भने टमाटर काटेर लगाइ राख्दा पीडा कम हुन्छ ।
३. यदि पोलेको छ र फोका उठी सकेको छ भने त्यसलाई सकेसम्म फुटाउनु हुँदैन ।
४. पोलेको छ र छाला नष्ट भई घाउ भएको छ भने सफा नरम कपडाले छोपी तत्काल अस्पताल जाने ।
५. आगो वा तातोपानी, तेलले पोलेका पीडितलाई प्रशस्त झोलिलो पदार्थ खान दिने ।
६. यदि एसिडले पोलेको छ भने स्लाइन पानि वा सफा पानीले घाउ सफा गरी तत्काल अस्पताल जाने ।
७. पोलेको घाउमा घिउकुमारीको भित्री भाग (गुदि) लगाएमा धेरै हदसम्म यो निको हुन्छ ।
तर कुनै पनि वस्तु, आगो, तातो पानी वा एसिडले पोलेमा अवस्था अनुसार सकेसम्म अस्पताल गई उपचार गराउनु पर्दछ । अन्यथा सानो हेलचेक्र्याइँले पनि पोलेको घाउमा गम्भीर समस्या आउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया