मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस कत्तिको घातक छ ?

गर्मी मौसममा लामखुट्टेको संक्रमण बढ्दो हुन्छ । वर्षातको समयमा पानी धेरै पर्ने, परेको पानी खाल्डाखुल्डीमा जम्ने, बाढिपहिरोले गर्दा पानीका मुहानहरु फोहोर हुने हुँदा यस्ता स्थानहरुमा लामखुट्टेको सक्रमण बढी हुन्छ ।

लामखुट्टेको संक्रमणका कारण यो समयमा मलेरिया, डेंगु, जापानी इन्सेफ्लाइटिस लगायत  धेरै प्रकारका सरुवा रोगहरुले सताउने गर्छ । यसकारण हामीले हिउँदको तुलनामा वर्षातमा थप शतर्कता अपनाउन आवश्यक छ ।

साँझको समयमा वा राति सुतेको बेलामा लामखुट्टेले शरीरका खाली भागमा टोक्ने गर्छ । सुत्केरी र बालबालिकालाई लामखुट्टेको टोकाइबाट जोगाउन जरुरी छ । अन्यथा विभिन्न प्रकारका रोगहरु लाग्न सक्छ । लामखुट्टेको टोकाइले खतरनाक रोग पनि लाग्ने गर्छ । यसको टोकाइ खतरनाक हुनुको कारण हो, ब्याक्टेरिया, भाइरस र प्यारासाइट्स, जसले मानिसलाई बिरामी बनाउँछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार लामखुट्टेकै टोकाइबाट संसारमा प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ । ‘लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिस कस्तो रोग हो, यसका लक्षण र रोकथामका उपायाहरु के के छन्’ भन्ने बारेमा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

जापानिज इन्सेफलाइटिस कस्तो रोग हो ?

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट लाग्ने एक जटिल रोग हो । जसले हाम्रो स्नायु प्रणालीलाई असर गर्छ । रोगको लक्षण कमै मात्रामा देखिन्छ । जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स नामक लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ । यतिबेला यो रोग तराईका जिल्लामा धेरै फैलिन्छ ।

यसका लक्षणहरु के–कस्ता हुन्छन् ?

यो रोग लागेका कमै मात्र व्यक्तिहरुमा लक्षण देखाउँछ ।  लक्षण देखिएमा उच्च ज्वरो आउने, घाँटी अररो हुनु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु लगायतका समस्या हुनसक्छ ।

यो रोग लाग्न नदिन कसरी जोगिन सकिन्छ?

यो रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो । यसको खोप बाल्यअवस्थामा नै लगाइन्छ । अहिले जनचेतना जगाएर नै बच्चाहरूलाई यसको खोप दिन थालिएको छ । यो रोगबाट जोगिन एक डोज मात्रै लगाउन सकेमा धेरै सुरक्षित भइन्छ ।

यो रोगबाट बच्न सधैं झुलभित्र मात्र सुत्ने गर्नुपर्छ । हाँस, कुखुरा, सुँगुर, बङ्गुर जस्ता घरपालुवा जनावरहरु तथा चराचुरुङ्गीहरुलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गर्नुपर्छ । घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला  भएका लुगा लगाउने, घरको झ्यालढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्छ । सरकारले यो रोगको सङ्क्रमणबाट बच्न १२ महिनामा जेई विरुद्धको खोप निःशुल्क लगाउँदै आएको छ ।

यसकारण खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउनुपर्छ । यस्ता कुराहरुमा ध्यान दिनुभयो भने तपाईं यो संक्रमणबाट बच्न सक्नुहुनेछ ।

यसका जटिलताहरु के–कस्ता निम्तिन सक्छन् ?   

यो एक गम्भीर रोग नै हो । यसकारण केही बिरामीको मस्तिष्कमा गम्भीर क्षति पुग्छ । मस्तिष्कको विृद्घिविकास नै बन्द हुनसक्छ । यसले विशेषगरी न्युरोलोजिकल समस्याहरु निम्त्याउँछ । तर धेरै बिरामीको स्वास्थ्यस्थितिमा बिस्तारै सुधार हुन थाल्छ । यसले पक्षघात जस्तै शरीरका अङ्गहरुलाई सिथिल बनाइदिन्छ र ज्यानै समेत पनि जानसक्छ ।

कुन उमेर समूहका व्यक्तिहरुलाई यो रोगले बढी सताएको देखिन्छ ?

यो रोग जुनसुकै उमेरका मानिसाई लाग्न सक्छ तर, अधिकांश १५ वर्षमुनिका बालबालिकामा नै जापानिज इन्सेफलाइटिसको संक्रमण देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?