मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

काठमाडौँ – पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । 

बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको राजधानीमा आयोजित घोषणा सभामा जानकारी दिइयो ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ। नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहने लक्ष्य रहेको छ। 

कार्यक्रमले पोखरामा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने बताउँदै बेलुन नेपालका प्रवन्ध निर्देशक सबिन महर्जनले कार्यक्रमले उक्त क्षेत्रको आर्थिक विकास, सांस्कृतिक आदानप्रदानका साथै विभिन्न देशमा कूटनीतिक सम्बन्ध विस्तार समेत बिश्वास व्यक्त गरे।

विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेशन बलुन फियस्ता शुरु भएको थियो। प्रत्येक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा करिब ५०० वटा हट एयर बलुनले उडान गर्छन्। उक्त महोत्सवमा विश्वभरबाट १० लाखभन्दा बढी पर्यटक उपस्थित हुन्छन्। त्यसबाहेक सन् १९७९ मा इङ्ग्ल्याण्डको ब्रिस्टोलमा स्थापना भएको बलुन फेस्टिभलल पनि विश्वभर प्रख्यात छ।

त्यसबाहेक जापानमा सागा इन्टरनेशनल बलुन फियस्ता, फ्रानसमा मोन्डायल एयर बलुन्स इभेन्ट, टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बलुन फेस्टिभल विश्वका प्रमुख बलुन महोत्सवमा पर्छन्।

आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बेलुनको उडान गर्नेछन्। एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन्। जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ। महोत्सवमा करिब तीन सयवटा गैर व्यावसायिक उडान हुनेछन्।

फेस्टिभलका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ। उक्त अवधिभर ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ। फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ। सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ। फेस्टिभल आयोजना गर्नका लागि छ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

हट एयर बलुनमा सामान्यतया: ४० मिनेटको लामो उडान हुन्छ। उडानका क्रममा अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिलगायतका हिमश्रंखलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ। 

त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?