मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व सङ्गीत

‘सुपरसोनिक स्पिड’ मा र्‍याप गाएर कैयन् कीर्तिमानी बनाएका एमिनेम

बाल्यकालमा चुनौती नै चुनौती भोगेका एमिनेम कसरी विश्वचर्चित बने?

काठमाडौँ– हिपहप र र्‍याप संस्कृतिसँग परिचित हुनुहुन्छ भने तपाईँले एमिनेमको नाम पक्कै सुनेको हुनुपर्छ । हिपहप जगतमा एमिनेम विशिष्ट ब्राण्ड कै रुपमा स्थापित भइसकेको छ ।

उनका र्‍याप अमेरिकी मात्रै होइन, विश्वभरका युवापुस्तामा लोकप्रिय छन् । अमेरिकी र विश्व मनोरञ्जन तथा संस्कृति क्षेत्रमा एमिनेमले आफ्नो बेग्लै पहिचान बनाएका छन् ।

एउटा कमजोर परिवारबाट अग्रणी हिपहप कलाकारको रुपमा उदाएका एमिनेमको जीवनबाट प्रेरणा लिने धेरै ठाउँहरु भेटिन्छन् । त्यसमाथि काला जातिको कला ठानिने हिपहप क्षेत्रमा गोरा जातिका एमिनेमको प्रभाव अझै रोचक छ ।

वास्तविक नाम मार्शल ब्रुस माथर्स तृतीय रहेका एमिनेम सन् १९७२ मा सेन्ट जोसेफ, मिसौरीमा जन्मिएका हुन् । सेन्ट जोसेफमा जन्मिए पनि उनी मिसिगनको डेट्रोइटमा हुर्केका थिए । १९९० को दशकको अन्त्यतिर उनी हिपहप क्षेत्रमा देखा परे ।

एमिनेमको प्रवेशलाई हिपहप क्षेत्रकै एउटा नौले मोडका रुपमा लिइन्छ । उनको अद्भूत गायकी, र्‍याप लेखन शैली, उनका र्‍यापमा प्रयोग भएका विषयजस्ता कारणले उनी चर्चासँगै विवादमा पनि आउने गर्छन् ।

हिपहप जगतमा आफ्नो पहिचान स्थापित गर्न उनलाई कम चुनौती भने थिएन । उनको बाल्यकाल चुनौती नै चुनौतीले भरिएको थियो । उनी गरिखाने वर्गमा जन्मेका एमिनेमले आफ्नो बाल्यकाल अभाव, हेपाइ, पारिवारिक कलह, खराब सङ्गतजस्ता चुनौतीको सामना गर्नुपरेको थियो ।

खासगरी बाल्यकालमा आफ्नी आमासँग उनको खासै राम्रो सम्बन्ध थिएन । सानैमा बुबाले त्यागेपछि एमिनेमकी आमा डेर्ब नेलसनले एमिनेमलाई हुर्काएकी थिइन् । बाल्यकालका अनुभवबाट विश्वलाई हेर्ने उनको दृष्टिकोणमा नै ठूलो प्रभाव पर्न गयो ।

सन् २००२ मा एमिनेमको ‘क्लिनिन आउट माइ क्लोसेट’ मा एमिनेमले यसबारे चर्चा गरेका छन् । यस गीतमा प्रयोग भएका शब्दलाई लिएर आमा नेलसनले एमिनेमविरुद्ध १ करोड १० लाख डलरभन्दा धेरै क्षतिपूर्ति माग गर्दै मुद्दा नै हालेकी थिइन् । तर, सन् २०१३ मा उनले बजारमा ल्याएको ‘हेडलाइट्स’ मा भने उनले आफ्नी आमासँग क्षमा मागेका छन् ।

सानोमा उनले स्कूलमा र घरबाहिर आफ्ना साथीभाइबाट हेपाइ (बुली) को सामना समेत गरेका थिए । सानो हुँदाखेरी डीएन्जेलो बेली नाम गरेका केटाले मरणासन्न हुनेगरी कुटपिट नै गरेका थिए । यस किसिमको हेपाइबाट उनको टाउकोमा चोट लाग्न पुगेको थियो ।

सानोमा आफूले भोगेका हेपाइबारे उनले आफ्ना र्‍यापहरुमा बारम्बार जिकिर समेत गर्दै आएका छन् । ‘ब्रेन ड्यामेज’ मा सानोमा आफूले खेपेको हेपाइबारे उनले उल्लेख गरेका छन् ।

यति मात्रै होइन, उनको प्रारम्भिक जीवन अनेक किसिमका हण्डर, ठक्कर, चुनौती, गरिबी र अभावबीच गुज्रेको थियो । तर, उनी किशोरावस्थादेखि नै हिपहपतर्फ आकर्षित भएका थिए । त्यसबेला उनी रन डीएमसी, एलएल कुल जे, बिस्टी ब्वाइजजस्ता कलाकारका र्‍याप सुन्थे ।

हिपहप क्षेत्रमा काला जातिका मानिसहरुको प्रभुत्व पहिलेबाट नै थियो । एमिनेमलाई भने गोरा जातिको भए पनि हिपहपमा आफूलाई अब्बल बनाएर उभ्याउनु थियो ।

यसलाई उनले एक किसिमको चुनौतीकै रूपमा समेत लिए ।

किशोर हुँदा उनी आफ्ना साथी माइक रुबीसँग मिलेर र्‍याप गाउने गर्थे । उनीहरुले आफ्नो नाम म्यानिक्स र एमएण्डएम राखेका थिए । सोही एमएण्डएम पछि गएर एमिनेमको पहिचान बन्यो ।

उनले आफ्नो पहिलो एल्बम ‘इन्फिनिटी’ सन् १९९६ मा रिलिज गरेका थिए । तर, यो एल्बमले खासै सफलता पाउन सकेन । इन्फिनिटीको असफलतासँगै उनी लागूऔषध र मदिराको कुलतमा फस्दै गए । यही क्रममा उनले एक पटक आत्महत्याको प्रयास समेत गरेको बताइन्छ ।

इन्फिनिटीको असफलतासँगै भोगेका अनुभव सङ्गाल्दै उनले आफ्नो ‘स्लिम शेडी’ को व्यक्तित्व विकास गरे । स्लिम शेडीका गीतहरु अझ आक्रामक र कठोर थिए । त्यसबेला उनी जीवनको निकै कमजोर अवस्थामा आइपुगेका थिए । उनीसँग पैसा हुँदैनथ्यो भने भर्खरै छोरी हेली जन्मेकी थिइन् ।

पैसा तिर्न नसकेर उनी घरबाट निकालिएका थिए । यस्तो अवस्थामा उनी र्‍याप ओलम्पिकमा सहभागी हुन डेट्रोइटबाट लस एन्जल्स पुगे । र्‍याप ओलम्पिकमा अधिकांश काला जातिका दर्शक र प्रतिस्पर्धी थिए ।

गोरा जातिको थोरैमध्ये एमिनेम पनि एक जना थिए । यस्तो अवस्थामा उनलाई फ्रिस्टाइल र्‍याप गाउँदा कति दबाब परेको थियो होला, हामी कल्पना गर्न सक्छौँ । ओलम्पिकमा उनी प्रथम त भएनन्, तर द्वितीय भए ।

तर, यही र्‍याप ओलम्पिकबाट उनी अर्का हिपहप कलाकार र सङ्गीत उत्पादक डा. ड्रेको नजरमा परे । शुरुमा त गोरा जातिका कलाकारसँग सहकार्य गर्न डा. ड्रेको टिम हच्किएको थियो ।

तर, डा. ड्रेलाई कलाकारको छालाको रङ्गसँग कुनै वास्ता थिएन, उनलाई कला चाहिएको थियो । डा. ड्रेकै सहकार्यमा एमिनेमले ‘स्लिम शेडी ईपी’ नामक एल्बम् उनले सन् १९९७ मा रिलिज गरेका थिए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

उनले लगातार नयाँ नयाँ एल्बम बजारमा ल्याउँदै गए । सन् १९९९ मा उनले ‘स्लिम शेडी एलपी’ बजारमा ल्याए । छोटो समयमा नै यसले व्यवसायिक सफलता हासिल गर्‍यो । यो एल्बम बजारमा आएको एक सातामा नै २ लाख ८० हजारभन्दा धेरै कपी बिक्री भइसकेको थियो ।

स्लिम शेडी एलपीबाट उनले उत्कृष्ट र्‍याप एल्बम विधामा ग्रामी अवार्डसमेत जित्न सफल भए । यही एल्बमको सफलताका कारण छोटो समयमा नै उनी एउटा मामूली र्‍यापरबाट सेलिब्रेटीका रुपमा स्थापित हुन सफल भए ।

त्यसको एक वर्षपछि उनले ‘द मार्शल माथर्स एलपी’ बजारमा ल्याए । यो एल्बममा उनले डाइडो, स्नुप डग, एक्सिबिज जस्ता कलाकारसँग सहकार्य गरेका छन् । यो एल्बम पनि छोटो समयमा नै लोकप्रिय भयो ।  यो एल्बमका द रियल स्लिम शेडी, स्टानजस्ता गीत अझै पनि आम स्रोतामाझ लोकप्रिय छन् ।

एमिनेमले हालसम्म १२ वटा स्टुडियो एल्बम, दुई वटा कम्पाइलेसन र एउटा एक्सटेन्डेड प्ले रिलिज गरिसकेका छन् । त्यसबाहेक उनले सन् २००२ मा रिलिज भएको ‘८ माइल’ नामक फिल्ममा पनि अभिनय गरेका छन् ।

‘८ माइल’ का लागि उनले ‘ओरिजिनल सङ’ विधामा एकेडेमी अवार्ड अर्थात् ओस्कर समेत जितेका थिए । ओस्करबाहेक आफ्नो साङ्गीतिक करिअरमा एमिनेमले १५ वटा ग्रामी अवार्ड समेत हात पारिसकेका छन् ।

हालै मात्र उनले ‘द डेथ अफ स्लिम शेडी (कु डे ग्रास)’ एल्बम बजारमा ल्याएका छन् । यसमा समावेश ‘होउडिनी’ ले अहिले आम स्रोतामाझ लोकप्रियता बटुलिरहेको छ । उनका एल्बम हालसम्म २२ करोडभन्दा धेरै कपी बिक्री भइसकेका छन् ।

यसअनुसार उनी संसारकै सबैभन्दा धेरै कपी एल्बम् बिक्री हुने कलाकारको सूचीमा आउँछन् । त्यसबाहेक उनले र्‍याप गाएर विभिन्न विश्व कीर्तिमान नै राखिसकेका छन् ।

सन् २०१३ मा रिलिज भएको ‘र्‍याप गड’ गीतका लागि उनले कीर्तिमान बनाउँदै गिनिज बुकमा नाम नै लेखाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार ६ मिनेट ४ सेकेण्डको त्यस गीतमा १५ सय ६० वटा शब्द थिए । र्‍याप गडले सबैभन्दा धेरै शब्द भएको गीतको कीर्तिमान राखेको छ ।

यसअनुसार उनले यो गीतमा हरेक सेकेण्डमा औसत ४.२८ शब्द गाएका छन् । यो गीतको ‘सुपरसोनिक स्पिड’ खण्डमा १५ सेकेण्डमा ९७ शब्द गाएका थिए । यस खण्डमा हरेक सेकेण्ड उनका मुखबाट औसत ६.४६ शब्द निस्किन्थे ।

सन् २०२० मा उनले रिलिज गरेको ‘म्युजिक टु बि मरडर्ड बाइ’ एल्बममा समावेश ‘गडजिला’ गीतले अर्को कीर्तिमान राखेको छ । ३ मिनेट ३१ सेकेण्डको यो गीतमा ९ सय ५९ शब्द छन् । यसअनुसार हरेक सेकेण्ड उनले औसतमा ४.५४ शब्द गाएका छन् ।

गडजिलाको २ मिनेट ५७ सेकेण्डदेखि ३ मिनेट २७ सेकेण्डबीच ३० सेकेण्डको खण्डमा उनले २२५ शब्द गाएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसका अनुसार यो औसत हरेक सेकेण्ड ७.५ शब्द हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?