मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गीत गाएरै अर्बपति बन्न सफल टेलर स्विफ्ट, दशौँ करोड ‘स्विफ्टी’ की ढुकढुकी

अमेरिकी गयिका टेलर स्विफ्ट बारम्बार समाचारको हेडलाइन बनिरहेकी हुन्छिन् । कहिले कमला ह्यारिसलाई समर्थन जनाएर त कहिले भूकम्प नै ल्याउनेगरी आफ्नो कन्सर्टमा दर्शक नचाएर उनी बारम्बार चर्चामा रहन्छिन् ।

अमेरिकी सङ्गीत क्षेत्र र मनोरञ्जन उद्योगमा उनको आफ्नो बेग्लै पहिचान छ । आफ्नो कला र व्यक्तित्वका कारण उनलाई मन पराउने दशौँ करोड ‘स्विफ्टी’ छन् ।

उनको साङ्गीतिक करिअर व्यवसायिक रुपमा मात्र सफल छैन, उनले कैयौँ अवार्डसमेत जितिसकेकी छिन् । सङ्गीतबाट अर्बपति बनेकी उनले साङ्गीतिक क्षेत्रको सबैभन्दा प्रतिष्ठित मानिने ग्रामी अवार्ड नै १४ पटक जितिसकेकी छिन् ।

सन् १९८९ मा अमेरिकाको पेन्सलभेनियामा जन्मेकी उनका बाबु स्कट किङ्सली स्विफ्ट शेयर बजारका लगानीकर्ता थिए । ९ वर्षको उमेरदेखि उनले न्यूयोर्कमा सङ्गीत र अभियन सिकेकी थिइन् । सानैदेखि नै उनी अमेरिकी ‘कन्ट्री म्युजिक’ प्रति आकर्षित भइन् । शानिया ट्वाइन र फेथ हिलले उनलाई कन्ट्री म्युजिकप्रति आकर्षित गरेको बताइन्छ ।

कम्युटर मर्मत गर्ने रोनी क्रेमरले उनलाई १२ वर्षको उमेरमा गिटार बजाउन सिकाएका थिए । उनले सोही समयमा आफ्नो पहिलो गीत ‘लकी यू’ लेखेकी थिइन् । पछि उनको परिवार टेनेसी राज्यको नासभिल शहरनजिकै हेन्डरसनभिलमा बसाइ सर्‍यो ।

नासभिलमा स्विफ्ट गीतकार लिज रोजसँग हरेक मंगलबार बेलुकी दुई घण्टा गीत कसरी लेख्नेबारे अध्ययन गर्थिन् । त्यसबेला उनले सोनी एटीभी कम्पनीसँग सङ्गीत सिर्जनासम्बन्धी सम्झौता गरेकी थिइन् । तर, १४ वर्षको उमेरमा नै उनले त्यो कम्पनी छाडिन् ।

एक पटक नासभिलको एउटा क्याफेमा उनको भेट स्कट बोर्सेटासँग भयो । त्यसबेला बोर्सेटा आफ्नै ‘बिग मसिन’ नामक सङ्गीत कम्पनी खोल्ने तरखरमा थिए । त्यो कम्पनीमा स्विफ्टका बाबुले तीन प्रतिशत स्वामित्व खरिद गरेका दिएका थिए । उक्त कम्पनीले तत्कालै स्विफ्टसँग सम्झौता गर्छ र स्विफ्ट बिग मसिनमा काम गर्ने पहिलो कलाकार बन्न पुग्छिन् ।

सन् २००६ को जुन महिनामा उनले ‘टिम म्याक्ग्र’ नामक गीत निकालेकी थिइन् । यो नै उनको पहिलो गीत हो । सोही वर्षको अक्टोबर महिनामा उनले आफ्नै नामको ‘टेलर स्विफ्ट’ नामक एल्बम बजारमा ल्याइन् । छोटो समयमा नै उनको यो एल्बम लोकप्रिय बन्यो र अनेकौँ उपाधिको मनोनयनमा पर्‍यो ।

त्यसपछि सन् २००८ को नोभेम्बरमा उनले ‘फियरलेस’ एल्बम रिलिज गरिन् । यो एल्बम अमेरिकामा सन् २००९ मा सबैभन्दा धेरै बिक्री भएको एल्बम बन्न पुग्यो । यो एल्बमबाट पनि उनले धेरै उपाधि जितिन् । यो एल्बम रिलिज भएसँगै उनी साङ्गीतिक यात्राका लागि निस्किएकी थिइन् ।

उनको ‘फियरलेस’ टुरले ६ करोड ३० लाख डलरभन्दा धेरै आम्दानी गर्‍यो । सन् २०१० को अक्टोबर उनले ‘स्पिक नाउ’ बजारमा ल्याएकी उनले एल्बमका सबै गीत आफैँले लेखेकी हुन् । रिलिज भएको १ सातामा १० लाखभन्दा धेरै एल्बम बिक्री भएको थियो । यो एल्बमले पनि उनलाई ग्रामीसँगै अरु धेरै उपाधि दिलायो ।

सन् २०१४ मा कपिराइटको विषयमा विवाद हुँदा उनले चर्चित सङ्गीत स्ट्रिमिङ साइट स्पोटिफाईबाट आफ्ना गीतहरु नै हटाइदिएकी थिइन् । उनका फ्यानको चर्को दबाबपछि बल्ल उनका गीत त्यस साइटमा आएका थिए ।

टेलर स्विफ्टले हालसम्म ११ वटा स्टुडियो एल्बम बजारमा ल्याइसकेकी छिन् । यसै वर्षको अप्रिल महिनामा उनले ‘द टरचर्ड पोएट्स डिपार्टमेन्ट’ नामक एल्बम बजारमा ल्याएकी थिइन् । उनको स्वर, गीत लेखन, सङ्गीत र प्रस्तुतीका विश्वभर दशौँ करोड फ्यान छन् ।

उनी नियमितजसो साङ्गीतिक भ्रमणमा पनि निस्किन्छिन् । हाल उनी एराज टुर नामक साङ्गीतिक भ्रमणमा छिन् । उनी जहाँ जान्छिन्, उनलाई हेर्न आउने दर्शकको थामिनसक्नु भीड जम्मा हुन्छ ।

उनको साङ्गीतिक प्रस्तुतीमा दर्शकको उत्साह यतिसम्म हुन्छ कि गत जुलाइमा अमेरिकाको सियाटल शहरमा भूकम्प नै गएको थियो । टेलर स्विफ्टको कन्सर्ट हेर्न गएका दर्शक नाच्दा त्यहाँ २.३ म्याग्निच्युडको भूकम्प नै जान पुग्यो ।

त्यसअघि जुन महिनामा स्कटल्याण्डको एडिनबरामा आयोजित कन्सर्टमा टेलर स्विफ्टका फ्यान नाच्दा पनि ६ किलोमिटर टाढासम्म भूकम्पको धक्का महसूस गरिएको थियो ।

स्विफ्टको एराज टुरलाई विश्व सङ्गीत इतिहासकै सबैभन्दा सफल साङ्गीतिक भ्रमण मानिन्छ । यो टुरले १ अर्ब अमेरिकी डलरभन्दा धेरै कमाइ गरिसकेको छ । त्यसबाहेक यसै टुरमा आधारित फिल्मबाट पनि थप २६ करोड डलरभन्दा धेरै कमाइ गरेको छ ।

यस टुरले स्विफ्टलाई अर्बपति बनाएको छ । उनी फोर्ब्सको अर्बपतिको सूचीमा गत वर्षको अक्टोबर महिनामा दर्ता भएकी हुन् । अरु अर्बपति गायक गायिका र टेलर स्विफ्टमा कति अन्तर छ भने अरु कलाकार गीतबाहेक अरु व्यवसायबाट पनि पैसा कमाउँछन् । तर स्विफ्ट भने गीत गाएर र लेखेर नै अर्बपति बनेकी हुन् ।

अर्बपति बनेपनि उनको दैनिकी निकै सहज छ । उनी बिहान सात बजे नै उठ्छिन् । त्यसपछि चिया नास्ता खान्छिन् । त्यसको केही समय उनी आफ्ना बिरालोसँग समय बिताउँछिन् । उनले ओलिभिया, बेन्जामिन र मेरेडिथ नाम गरेका तीन बिरालो पालेकी छिन् ।

चिया नास्ता खाएर बिरालोसँग खेलेपछि उनी व्यायाम गर्न जान्छिन् । केही समय व्यायाम गरेर उनी खाना खान बस्छिन् । दिउँसो उनी साथीभाइसँग भेटघाट र मिटिङमा व्यस्त हुन्छिन् । उनी साथीभाइ र मिटिङमा व्यक्तिगत रुपमा वा डिजिटल माध्यमबाट भेटघाट गर्छिन् । उनी स्काइप चलाउँछिन् ।

साँझ तिर उनी बेकिङ गर्न रुचाउँछिन् । उनले बेक गरेका पाउरोटी र बिस्कुट छिमेकी र साथीहरुलाई पनि बाँड्ने गर्छिन् ।

कतै कन्सर्ट नभएका बेला बेलुका प्रायः उनी घरमै बस्छिन् र सङ्गीतको अभ्यास गर्छिन् । उनका कन्सर्ट प्रायः बेलुकै हुन्छन् । कन्सर्ट भएका बेला शुरुमा उनी अभ्यास गर्छिन् । त्यसपछि बल्ल खानेकुरा खान्छिन् ।

उनी अबेरसम्म उनी प्रस्तुति दिन्छिन् भने आफ्ना फ्यानहरुसँग समय बिताउँछिन् । कन्सर्ट भएका बेला उनी राति १ बजेतिर मात्रै सुत्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?