मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

लामो समय एउटै पोजिसनमा कुर्सीमा बसेर काम गर्दा कस्तो जोखिम हुन्छ?

प्रविधिको विकाससँगै फेरिएको जीवनशैली र कामको प्रकृतिले धेरैजसो काम कम्प्युटरमा बसेर गर्नुपर्ने खालका हुन्छन् । त्यो बाहेक पनि कतिपय काम दिनभरि कुर्सीमा बसेर काम गर्नुपर्ने हुन्छ ।

यसरी लामो समयसम्म कुर्सीमा बस्दा हाम्रो शरीरले आवश्यक व्यायाम पाउँदैन र स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखा पर्ने गर्छन् ।

कार्यालयमा गएर काम गर्ने अधिकांश व्यक्तिहरु दिनभर एकै कुर्सीमा बसेर कार्यालय समय सकेर घर फर्कन्छन् । तर यसरी दिनभर एकै स्थानमा एउटै पोजिसनमा बसेर काम गर्नु उचित हुँदैन ।

आधुनिक समाज अनि प्रविधियुक्त काम गर्दा सबै काम कम्पयुटरबाटै हुँदा घण्टौँसम्म एकै स्थानमा बसेर काम गरिन्छ । तर, मानव शरीर भने एकै ठाउँमा बसेर काम गर्ने गरी विकास भएको हुँदैन ।

कुर्सीमा बसेर काम गर्नेहरुलाई ढाड, नशा, हाडजोर्नी लगायत अन्य विविध समस्याहरु देखा पर्ने गर्छन् । यसकारण दिनभर एकैठाउँमा, एकै पोजिसनमा बसेर काम गर्ने मानिसहरुलाई के कस्ता स्वास्थ्य समस्याहरुले सताउँछन् भन्ने सन्दर्भमा अर्थोपेडिक डा. हेम बहादुर लिम्बुसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीः

दिनभर एकै स्थानमा बसेर काम गर्दा के–कस्ता स्वास्थ्य समस्याहरु निम्तिन सक्छन् ?

दिनभर एकै स्थानमा बसेर काम गर्दा सामान्यतया कम्मरको मसल्स कमजोर हुने, ढाड दुख्ने समस्या हुने, बोन पेन हुने, घाम नछिर्ने ठाउँमा बस्दा भिटामिन ‘डी’को कमी हुने, नशा च्यापिने, ढाड कुप्रो हुने जस्ता समस्याहरु हुन सक्छन् ।

बस्दा हाम्रो शरीरले कुनै खास काम गर्नुपर्दैन वा व्यायामसमेत हुँदैन । यसरी बस्दा खानेकुराबाट प्राप्त शक्ति प्रयोग नभइ सञ्चित हुन्छ । जसले बोसो जमेर मोटो हुन मद्दत पुग्छ । मोटोपनको समस्या सिर्जित हुने र मोटोपन भएकै कारण पत्थरी हुने मानसिक तनाव, मधुमेह, प्रेसर लगायतका समस्याहरु निम्तिन सक्छन् ।

दिनमा आधाभन्दा धेरै समय कुर्सीमा बस्ने मानिसमा मधुमेह र मुटुसम्बन्धी रोग लाग्ने सम्भावना दुई गुणा बढ्छ । लगातार कुर्सीमा बसिरहँदा शरीरका मांसपेशीहरू सक्रिय नहुने, रक्तसञ्चारमा बाधा पुग्ने, मस्तिष्कमा अक्सिजनको कमी हुने, मोटोपन बढ्ने सम्भावना त्यत्तिकै हुन्छ ।

त्यसैगरी हड्डीसम्बन्धी समस्या आउने, पाचन प्रणालीमा अवरोध आउने सम्भावना पनि अत्यधिक हुन्छ । खाना खाने बित्तिकै कुर्सीमा बस्दा रगतमा चिनीको मात्रा बढ्ने सम्भावना पनि धेरै हुन्छ ।

हामीले यस्ता समस्या निम्तिन नदिन के गर्नुपर्छ ?

बिहान बेलुका शारीरिक कसरतको लागि समय छुट्याउने, योगा गर्ने, दुखाइमा राहत दिने तेलहरुको प्रयोग गर्ने, कुर्सीमा बस्दा यसलाई टेबलकै छेउमा जोडेर बस्ने, यसमा कुसन राख्ने गर्न सकिन्छ ।

कुर्सीमा बसेर काम गर्दा ढाडलाई सोझो पारेर बस्नुपर्छ । ढाडले पछाडिबाट पर्याप्त मात्रामा साहरा पाइरहेको हुनुपर्छ । घुँडा आसनभन्दा केही तल झुकेको हुनुपर्छ । लत्रिएर, कुप्रिएर बस्दा ढाडको समस्या आउँछ । कम्प्युटरमा काम गर्नेले किबोर्डमा हात पु¥याउँदा नाडीदेखि कुहिनोसम्मको भाग सीधा राखेर अड्याउन मिल्ने गरी कुर्सी र टेबलको साइज मिलाउनुपर्छ ।

त्यसैगरी, कुहिनोदेखि माथिको भाग शरीरको दायाँबायाँ सीधा भएको हुनुपर्छ । खुट्टा भुइँमा पूरै टेकिएको हुनुपर्छ । कम्प्युटरको स्क्रिन आँखाको उचाइमा र सामुन्ने हुनुपर्छ । स्क्रिन आँखाको लेभलभन्दा माथि वा मुनि भयो भने गर्धनको मांसपेशी र हड्डीमा समस्या आउन सक्छ ।

लामो समय एकै स्थानमा बस्दा अरु के–के कुरामा ध्यान दिन आवश्यक छ ?

मुख्यकुरा भनेको समयसमयमा एक्सरे गरेर परीक्षण गरिरहनु पर्दछ । साथै कोलेस्ट्रोल, प्रेसर पनि जाँचिरहनुपर्दछ । कुर्सीमा प्रत्येक आधा घन्टामा उठेर दुई मिनेटका लागि टहल्ने व्यक्तिहरुमा चाहिँ यस्तो समस्या पाइएको छैन ।

कुर्सीमा बसेर काम गर्ने व्यक्तिहरुले प्रत्येक आधा घन्टामा उठेर ज्यान तन्काउने गर्नु आवश्यक छ । यसो गर्ने व्यक्तिहरुमा ढाडको नशाको समस्या कमै मात्रामा देखापर्छ ।

कुर्सीमा कस्तो पोजिसनमा बस्नु उपयुक्त हुन्छ ?

पछाडि कुसन राखेर अडेस लागेर बस्दा ढाड र मेरुदण्डको समस्या कम हुन्छ । हामीमध्ये धेरैलाई घर वा अफिसको कुर्सीमा कसरी बस्ने भन्ने ज्ञान हुँदैन ।

जसकारण मेरुदण्डमा धेरैलाई समस्या देखिने गरेको छ । उनका अनुसार कुर्सी कुनै पनि आसनमा लामो समयसम्म एउटै तरिकाले बस्नु हानिकारक हुन्छ । त्यसैले समय समयमा आसनको तरिका बदल्नुपर्छ । ढाडको तल्लो भागको दुखाइ कम गर्न हरेक २० मिनेटमा हिँडडुल गर्ने अथवा आफ्नो आसन परिवर्तन गर्ने गर्नुपर्छ ।

कुर्सीमा बसेर काम गर्दा कतिपयको ढल्कने बानी हुन्छ भने कसैको घोप्टिएर बस्ने बानी हुन्छ, जुन गलत हो । कुर्सीमा बसेर पढ्दा वा काम गर्दा गर्धन सिधा हुनुपर्छ । काँध पनि सिधा हुनुपर्छ । ढाड र कम्मर सिधा हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?