मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा

काठमाडौँ– बाह्रखरी मिडियाले ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ ।

बाह्रखरीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस वर्षको कथा प्रतियोगिताको घोषणा गरेको हो । बाह्रखरीले लेखकहरुलाई कथा पठाउन आह्वान समेत गरेको छ ।

कथा लेखन सिर्जनाको सम्बद्र्धन र प्रवद्र्धनमा बाह्रखरीले विगत पाँच वर्षदेखि अभियानकै रुपमा कथा प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । कथा प्रतियोगिताको यो छैटौँ संस्करण हो ।

आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने प्रतियोगिताको उद्देश्य रहेको छ ।

समालोचक तथा लेखक प्रा.डा. ज्ञानू पाण्डे, लेखक तथा समालोचक डा. गीता त्रिपाठी र साहित्यकार श्री धीरेन्द्र प्रेमर्षि निर्णायक मण्डल रहेको प्रतियोगिताका लागि सम्पूर्ण प्रतियोगी कथाकारहरूले कात्तिक ५ गतेसम्ममा नेपाली भाषाका सर्जकहरूले संसारभरबाट आफ्नो कथा बाह्रखरीमा इमेलमा पठाउनुपर्नेछ ।

नेपाली भाषामा लेखिएको कतैपनि प्रकाशित र प्रसारित नभएको १५ सय देखि ४ हजार शब्दमा लेखिएको कथा प्रतियोगितामा समावेश हुनेछन् । छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।

प्रतियोगितामा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीको पूर्वस्वीकृति अनिवार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छनोट गरी आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।

ती ५० कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८०’ का लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा संग्रहीत पुस्तक प्रकाशन गरिनेछ ।

संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर १४ गते शुक्रबार एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ भने सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८१ को लोकार्पण समेत गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?