मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यक्ति

बुबाको पदचाप पछ्याउँदै क्यानभास कोरिरहेकी शारदा

बुबा तेजबहारले छोरीका हातमा पूजाको थाली होइन, कलम र मसी थमाए

काठमाडौँ– नेपाली आधुनिक चित्रकलाको फाँटमा मूर्धन्य कलाकार तेजबहार चित्रकारको नाम अग्र स्थानमा आउँछ । पहिलोपटक भारतको कलकत्तामा औपचारिक कला शिक्षा अध्ययन गरेर नेपालमा पश्चिमा वस्तुवादी यथार्थपरक कला भित्र्याउने श्रेय चन्द्रमानसिंह मास्के र तेजबहादुरलाई जान्छ ।

उनीहरूले नै परम्परागत धारमा चलेको कलालाई नयाँ युगतर्फ अघि बढाएका थिए । उनै मूर्धन्य कलाकार तेजबहारकी छोरी हुन्, शारदा चित्रकार ।

बुवा तेजबहादुरको कला सिर्जनाको छत्रछायाँमा हुर्किएकी उनले पनि बुवाकै लय समातिन् र आफूलाई पनि नेपालको कला क्षेत्रमा मूर्धन्य कलाकारकै सूचीमा आफ्नो नाम लेखाएकी छिन् । उनी मात्र होइन उनका भाइ मदन चित्रकार पनि कला सिर्जनासँगै कला लेखनमा समेत उत्तिकै सक्रिय छन् ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ई–आर्ट्स नेपालले गरेको हिमालयन आर्ट फेस्टिभलमा १५० भन्दा बढी कलाकारहरुका कलाकृतिहरु मात्र होइन त्यसैमा ८४ वर्षीया कलाकार शारदाका कलाकृतिहरुलाई विशेष स्थान दिएर प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीमा वि.सं. २००९ देखि हालसम्म सिर्जना गरिएका उनका दुई दर्जनभन्दा बढी चित्रहरु प्रदर्शित थिए । उनको कला सिर्जना यात्रा, तत्कालीन समय र परिवेशमा उनले समाएको कला सिर्जना विषयकै सेरोफेरोमा कुराकानी गर्न पंक्तिकार आर्ट काउन्सिल पुग्दा उनी प्रदर्शनीमा सहभागीहरुलाई आफ्ना सिर्जनाहरु बुझाउनैमा व्यस्त थिइन् ।

बुढ्यौली शरीर लठ्ठीकै सहारामा भए पनि उनी प्रदर्शनीको माहोलमा दिनदिनै जसो उपस्थित भइरहेकी थिइन् । त्यही मेसोमा गरिएको छोटो समयको भलाकुसारीमा उनले आफ्ना कला अनुभूतिहरुसँगै बुवा तेजबहादुरसँगका स्मरण बाँडिन् ।

वि.सं. १९९७ सालमा काठमाडौँ तँलाछेँमा नेवार समुदाय त्यसमा पनि चित्रकार परिवारमा जन्मिएकी उनले बाल्यकाल देखि नै कलालाई नियालिन् । समुदायमा सामाजिक, सांस्कृतिक तथा धार्मिक चित्रहरु बनाउने परम्परा नै थियो ।

त्यसमाथि उनको त बुवा नै चित्रकलामा पोख्त कलाकार थिए । उनका अनुसार बुवा तेजबहादुरले उनलाई चित्र सिर्जना गर्नतिर नै बढी उत्प्रेरित गरे ।

त्यसकारण बुवा नै उनका लागि पहिलो कला गुरु हुन् । बुवाकै उत्प्रेरणाका कारण आफू कला क्षेत्रमा लागेको उनले सुनाइन् ।

‘मेरी आमा बिहानै उठेर घर सफा गर्ने र पूजा गर्ने गर्नुहुन्थ्यो । आमाले गरेको काम सिक्न खोज्दा बुवाले मलाई पूजाको थाली होइन, कलम र मसी पो दिनुभयो,’ उनले स्मरण गरिन् ।

आजभन्दा सात/आठ दशकअघिको त्यो परम्परागत नेपाली समाजमा घरको काम छोडेर चित्र सिर्जनामा लाग्छु भन्दा महिलालाई त्यति सहज पक्कै थिएन । शारदालाई भने बुवा नै कलाकार भएपछि केही सहज वातावरण मिल्यो । उनी धाराबाट पानी ल्याउने, धान कुट्ने जस्ता काममा आमालाई सघाएर पनि बुवा सँगसँगै बसेर चित्र कोर्थिन् ।

चित्रकलाको शुरुवाती समयमा बुवाले उनलाई फलफूल, विभिन्न फूलहरु अगाडि राखेर चित्र कोर्न लगाउँथे । उनले पनि बुवाले भनेजस्तै गरी चित्र कोरेर देखाउँथिन् ।

‘यसले अब चित्र कोरेर नै खान सक्छे,’ उनले शुरुवाती समयमा कोरेको केरा तथा फूलको चित्र हेरेर बुवा तेजबहादुरले दङ्ग पर्दै भनेको उनलाई भर्खरैजस्तो लाग्छ ।

महिला भनेको खाली घरको काम गर्ने र बच्चा जन्माउने मात्र होइन, आफ्नो लागि आफैं कमाएर आत्मनिर्भर बन्नुपर्छ भन्ने उनको बुवा तेजबहादुरको मान्यता थियो ।

एक्ली छोरी उनले बुवाको ममतासँगै कला सिर्जनालाई अगाडि बढाउँदै लगिन् । उनले बुवाको स्मरण गर्दै गर्दा उनको सामुन्ने नै भित्तातिर पोट्रेट आर्ट(मुहार चित्र)मा शान्त र सौम्य रुपमा उनका बुवा आमा सजिरहेका देखिन्थे । बुवाआमाको उक्त मुहार चित्र उनले झण्डै २०/२५ वर्षअघि नै बनाएकी थिइन् ।

मुहार चित्रतिर नजर लगाउँदै उनले भनिन्, ‘बुवा त मेरो आर्टहरु हेरेर औधी खुशी मान्नुहुन्थ्यो । आमा(मनकेशरी)ले पनि राम्रै मान्नुहुन्थ्यो । चित्र बनाएको भनेर कहिल्यै गाली गर्नुभएन ।’

१३/१४ वर्षको उमेरमा नै कला सिर्जनामा लागेकी शारदाले कलाको औपचारिक ज्ञान भने जुद्धकला पाठशालमा लिइन् । उनका अनुसार पद्मकन्या क्याम्पसमा मानविकी संकायमा स्नातक गरेकी उनले बुवाकै प्रेरणामा जुद्धकला पाठशालामा गएर कला शिक्षा लिएकी थिइन् ।

जनक शिक्षा सामग्री केन्द्रमा पाठ्यपुस्तकमा आवरण तथा दृष्टान्त चित्र बनाउने काममा समेत उनी नियुक्त भइन् । पछि २०२४ सालमा ललितपुरको जावलाखेलका कोमल चित्रकारसँग विवाह बन्धनमा बाँधिएपछि उनले जागीर छोडिन् तर चित्र सिर्जना कार्यलाई भने निरन्तरता दिइन् ।

शुरुवाती समयमा फलफूल तथा फूलका तस्वीर कोर्ने उनी वि.सं. २०११ सालदेखि आफ्नो कलामा प्रकृति, संस्कृति र समाजलाई पनि समावेश गरिन् । तिनताका बनेका उनका चित्रहरुमा प्रकृतिका सौन्दर्यसँगै आम मानिसको दैनिकी र महिलाका जिम्मेवारीहरु चित्रण भएका छन् । बीसको दशकमा सिर्जना भएका उनका कलाकृतिहरुमा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पक्षहरु अझै बलियो भएर आएर छन् ।

जसमा ल्याण्डस्केप चित्र, काठमाडौँ उपत्यकाका जात्रा, पर्वहरु इंगित भएका छन् । यसमा फूल, कागका बिम्बहरु अझ विशेष रुपमा आएका छन् । आफ्ना कलाकृतिहरु देखाउने क्रममा उनले २००९ सालमा सिर्जना भएको सेतो मछिन्द्रनाथको रथ र जात्रा चित्रण गरिएको कलाकृति सिर्जनाको पृष्ठभूमिबारे स्मरण गरिन् ।

‘असनको अन्नपूर्ण मन्दिर नजिकै हुलमा छिरेर एउटा दही पसलमा बसेर मैले यो आर्ट बनाएकी थिएँ । बिहान ९ बजे बनाउन थालेको ११ बजे बल्ल सकियो ।’

उनले विशेष गरी नेपाली परम्परागत लोककला संरक्षणमा जोड दिइन् । धार्मिक, सांस्कृतिक तथा संस्कारजन्य गाईजात्रा, नागपञ्चमी, लक्ष्मी पूजा जस्ता विभिन्न संस्कार र कर्म काण्डमा बनाइने चित्रकला सिर्जना, संरक्षण र सम्वर्धनमा उनले महत्वपूर्ण योगदान पुर्‍याएकी छिन् । नेवार लोककला संरक्षणलाई अभियानकै रुपमा अगाडि बढाएकी उनलाई यसमा अभियन्ताको रुपमा समेत लिइन्छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा उनी पहिलो महिला प्राज्ञ समेत बनिन् । प्रतिष्ठानमा प्राज्ञ भएको समयमा लोककला विभाग सम्हालेर नेपालका विभिन्न समुदायका लोककलाहरुलाई खोज तथा अनुसन्धान गरेको उनले सुनाइन् । उनी प्रतिष्ठानमा रागिनी उपाध्यायको कार्यकाल(२०७१–२०७५)मा उपकुलपति समेत भइन् ।

एक्रेलिक, वाटर कलर, पेन एण्ड इन्क, मिस्क मिडिया जस्ता माध्यममा बनेका कलामा सरल प्रस्तुति तर गम्भीर भाव मिसाउनु उनको सिर्जनाको विशेषता मानिन्छ । सरल रेखा र रङ संयोजनको सौन्दर्य उनको कलाकृतिहरुमा देखिन्छ । उनका लागि कला सिर्जना एउटा सुन्दर कविता पनि हो ।

त्यसकारण एकजना कलाकारमा कवि भाव हुनुपर्छ भन्ने उनको मान्यता छ । मनबाट सिर्जना भएको कलाले समाजलाई पनि छुनुपर्छ भन्ने उनको मत छ । त्यसकारण महिलालाई चित्रण गरेका उनका चित्रहरुमा तत्कालीन समाजसँगै महिलाको जिम्मेवारी र अवस्थालाई चित्रण गरेको देखिन्छ ।

उनका अनुसार समाज बुझ्नलाई कलाकार समाजको दायराभित्र छिर्नैपर्छ । तब मात्र समाजलाई छुने सिर्जना बन्न सक्छ । अहिलेका युवा पुस्ताका कलाकारहरुमा अध्ययन कम भएको हो कि भन्ने उनलाई लाग्छ ।

उनले भनिन्, ‘अहिलेका कलाकार छिटो–छिटो जम्प हुन खोजेका छन् । सबैलाई छिटो काम चाहिएको छ । कलाकार भनेको कवि जस्तो हुनुपर्छ । मनबाट आएपछि राम्रो काम बन्छ । यसमा अध्ययन पनि चाहिन्छ ।’ आफ्नो मौलिक कला, संस्कृति र यसको इतिहासको अध्ययन गरेर कला सिर्जनामा लाग्न उनले सबै युवा पुस्ताका कलाकारलाई आग्रह गरिन् ।

पछिल्लो समयमा कला क्षेत्रमा महिलाहरुको उल्लेख्य उपस्थिति देखेर उनलाई निकै खुशी लाग्छ । यद्यपि अझै पनि महिलाहरुमा अझै पूर्ण जागरण नआएको उनले सुनाइन् । जति महिलाहरुमा जागरण आयो त्यति नै परिवार र समाज पनि बलियो हुन्छ भन्ने उनको भनाइ छ ।

अहिले पनि उनी बिहान उठेर धर्मकर्मको काम सकाएपछि समय व्यतितसँगै मन बहलाउन चित्र नै कोर्छिन् । कला क्षेत्रले उनलाई दिएको नाम र सम्मानले अहिले उनी सन्तुष्ट छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?