मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना-प्रविधि

विश्वमा सबैभन्दा बढी प्रयोग हुन्छन् एप्पलका स्मार्टफोन, यी हुन् ग्लोबल मार्केट ओगटेका कम्पनी

काठमाडौँ– अहिले स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्गझैँ बनिसकेको छ । आफन्त र साथीभाइसँग सम्पर्कमा रहन, गेम खेल्न, फिल्म हेर्न, गीत सुन्नमात्रै होइन, अल्छी लागेको समयमा यसो टाइम पासका लागि पनि हामीले स्मार्टफोनको प्रयोग गर्दै आएका छौँ ।

हामी स्मार्टफोनमा यति अभ्यस्त र निर्भर बन्दै गएका छौँ कि एउटा तथ्यांकअनुसार औसत प्रयोगकर्ताले दैनिक ५८ पटक स्मार्टफोन चलाउँछ । दिनमा फोन चलाएरै औसत मान्छेको ३ घण्टा १५ मिनेट समय बित्छ ।

अहिले बजारमा विभिन्न ब्राण्डका फरक फरक सुविधा भएका फोनहरु किन्न पाइन्छ । मान्छेहरु आफ्नो खर्च र आवश्यकता अनुसार फरक किसिमका फोन प्रयोग गर्छन् । यद्यपि प्रविधिको विकास हुँदै जाँदा अत्याधुनिक प्रविधि भएका फोन पनि सस्तो हुँदै गएका छन् । एक तथ्यांकअनुसार सन् २०२४ को अन्त्यसम्म बजारमा आउने ५० प्रतिशत फोनमा ५ जी सपोर्ट गर्ने क्षमता रहेको हुनेछ ।

प्रविधिको जतिसुकै विकास भएपनि विश्वमा स्मार्टफोन बजारमा केही औँलामा गन्न सकिने ब्राण्डको दबदबा पाइन्छ । यी ब्राण्डमाझ यस्तो तीव्र प्रतिस्पर्धा छ कि स्मार्टफोन बनाउने नयाँ कम्पनीहरु उनीहरुका अघि टिक्नै सक्दैनन् । आज हामी विश्व बजारमा कुन स्मार्टफोन ब्राण्ड कति लोकप्रिय छन् भन्नेबारे सामग्री प्रस्तुत गर्न गइरहेका छौँ ।

यसका लागि हामीले विश्वका १० लोकप्रिय स्मार्टफोन ब्राण्डको सूची लिएर आएका छौँ । स्मार्टफोन ब्राण्डको लोकप्रियता निर्धारण गर्नका लगि हामीले विश्वमा हाल प्रयोग भइरहेका स्मार्टफोनको कति प्रतिशत हिस्सा ती ब्राण्डले ओगटेका छन् भन्ने तथ्यांकमा आधारित रहनेछौँ ।

हुवावे

सन् १९८७ मा स्थापना भएको हुवावे चिनियाँ प्रविधि कम्पनी हो । हुवावेले शोध र विकासमा ठूलो लगानी गर्दै आएको छ । हुवावेले आफ्नै अपरेटिङ सिस्टममा काम गरिरहेको छ । सन् २०२१ यता बिक्री घट्दै गएपनि अझै हुवावेले बजारमा प्रतिस्पर्धा गरिरहेको छ ।

यो ब्राण्डका फोन विश्वका १ सय ७० भन्दा धेरै मुलुकमा किन्न पाइन्छ । विश्व बजारमा हुवावेको हिस्सा ४ प्रतिशत आसपास छ । यो फोन सबैभन्दा धेरै चीनमा लोकप्रिय छ । चीनमा हुवावेको बजार हिस्सेदारी २३ प्रतिशत छ ।

रियलमी

विश्व बजारमा सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्डको सूचीमा रियलमी नवौँ स्थानमा रहेको छ । सन् २०१८ मा स्वतन्त्र स्मार्टफोन ब्रण्डका रुपमा स्थापित हुनुअघि यो ओप्पो कम्पनी मातहतमा रहेको थियो । रियलमीले स्मार्टफोनसँगै टेलिभिजन, हेडफोन, स्मार्टवाच जस्ता उत्पादन बजारमा ल्याउने गरेको छ ।

रियलमीका स्मार्टफोन एशिया, युरोप, अस्ट्रेलिया, अफ्रिकाजस्ता मुलुकमा पाइन्छ । खासगरी भारतीय बजारमा रियलमीको उपस्थिती निकै ठूलो मानिन्छ । विश्व स्मार्टफोन बजारको कुल हिस्सामध्ये रियलमीले पनि ४ प्रतिशत ओगट्छ ।

मोटोरोला

कुनै समय निकै लोकप्रिय रहेको मोटोरोला ब्राण्ड सन् २०११ यता चिनियाँ कम्पनी लेनोभोको स्वामित्वमा छ । अमेरिकाको शिकागोमा मुख्यालय रहेको मोटोरोला विश्वभर लोकप्रिय छ । मोटोरोलाका मोटो जी, मोटो वान, मोटो रेजर, मोटो एजजस्ता स्मार्टफोन लोकप्रिय छन् ।

मोटोरोलाले स्मार्टफोन मात्रै नभइ ट्याबलेट, स्मार्टवाचजस्ता उत्पादन पनि बजारमा ल्याउने गरेको छ । मोटोरोलाले पनि शोध र विकासमा ठूलो धनराशि खर्च गर्दै आएको छ । विश्व स्मार्टफोन बजारमा मोटोरोलाको हिस्सा पनि ४ प्रतिशतकै हाराहारीमा रहेको छ ।

हनर

सन् २०१३ मा स्थापना भएको हनर एक समय हुवावेको मातहतमा रहेको थियो । हुवावेले सन् २०२० मा सेन्जेन झिसिन न्यू इन्फोरमेसन टेक्नोलोजीलाई यो ब्राण्ड बिक्री गरेको थियो । सेन्जेन झिसिन न्यू इनफोरमेसन टेक्नोलोजी चीन सरकारको निकट रहेको विश्वास गरिन्छ । यो ब्राण्डका फोन विश्वका १ सयभन्दा धेरै देशमा बिक्री हुँदै आएको छ ।

स्मार्टफोन उत्पादनका लागि हनरले १० हजारभन्दा धेरै कामदारलाई परिचालन गर्दै आएको छ । हनरले हनर १०एक्स, हनर एक्स ३०, हनर म्याजिक भीजस्ता स्मार्टफोन बजारमा ल्याएको छ । विश्व बजारमा यो ब्राण्डको कुल हिस्सा ५ प्रतिशत आसपास छ ।

भिभो

विश्वमा सबैभन्दा धेरै लोकप्रिय स्मार्टफोन ब्राण्डको छैठौँ स्थानमा भिभो रहेको छ । सन् २००९ मा स्थापना भएको यो भिभोले भी, वाई, एक्सजस्ता स्मार्टफोन सिरिज ल्याउने गरेको छ । स्मार्टफोनसँगै भिभोले सफ्टवेयर र अनलाइन सेवा पनि प्रदान गर्दै आएको छ । सेलिब्रेटी इन्डोर्समेन्ट र प्रायोजनका कारण यो ब्राण्डले विश्व बजारमा आफ्नो पहिचानलाई कायम राखेको छ ।

आफ्ना स्मार्टफोनमा नयाँ नयाँ प्रविधि र डिजाइनको प्रयोगका लागि पनि यो ब्राण्ड चिनिन्छ । विश्व स्मार्टफोन बजारमा भिभोको कुल हिस्सा ८ प्रतिशत छ ।

ट्रान्सियन

विश्व बजारमा ट्रान्सियन ब्राण्डको पनि आफ्नै पहिचान छ । खासगरी अफ्रिकी मुलुकहरुमा यो ब्राण्डका फोनहरु धेरै बिक्री हुने गरेको छ । त्यसबाहेक पछिल्लो समया दक्षिण र दक्षिणपूर्वी एशियाली बजारमा पनि यो ब्राण्डले आफ्नो उपस्थिती बढाउँदै लगेको छ । यो ब्राण्डका आईटेल, इन्फिनिक्स र टेक्नोजस्ता स्मार्टफोन सिरिज लोकप्रिय मानिन्छन् ।

यो ब्राण्डका स्मार्टफोन अरुभन्दा सस्तो हुन्छ । यो ब्राण्डको स्थापना सन् २००६ मा हङकङमा भएको हो । विश्व स्मार्टफोन बजारमा यो ब्राण्डको हिस्सा ९ प्रतिशत हाराहारीमा छ ।

ओप्पो

विश्व स्मार्टफोन बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल अर्को ब्राण्ड हो ओप्पो । ओप्पो निकै सस्तोदेखि धेरै महङ्गो स्मार्टफोन बनाउने ब्राण्डमा पर्छ । सन् २०११ मा स्थापना भएको यो ब्राण्डका फोनको गुणस्तर पनि उत्तिकै आकर्षक हुने गर्छ । खासगरी यो ब्राण्डले स्मार्टफोनका क्यामेरामा धेरै महत्व दिँदै आएको छ ।

कुनै समय ओप्पो भारतीय क्रिकेट टिमको आधिकारिक प्रायोजक समेत भएको थियो । त्यसबाहेक अन्य खेलकुद प्रतियोगितामा पनि ओप्पोले प्रायोजन गर्दै आएको छ । यसबाट यो ब्राण्डको विश्वसनियता र पहिचान पनि बढ्दै गएको छ । विश्व स्मार्टफोन बजारमा यो ब्राण्डको स्वामित्व ९ प्रतिशत हाराहारीमा रहेको छ ।

साओमी

सन् २०१० मा चिनियाँ उद्यमी लेइ जुनले स्थापना गरेको साओमी विश्वको तेस्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्ड हो । साओमीले रेडमी र मी सिरिजका स्मार्टफोन बनाउँदै आएको छ । यो ब्राण्डका स्मार्टफोन खासगरी भारत र चिनियाँ बजारमा लोकप्रिय मानिन्छन् । चीनमा त साओमीलाई ‘चीनको एप्पल’ को संज्ञा पनि दिइन्छ ।

त्यसबाहेक सिंगापुर, ब्राजिल, टर्कीजस्ता मुलुकमा पनि सिओमीका स्मार्टफोन प्रयोगकर्ता धेरै छन् । आक्रामक बजारीकरण रणनीतिका कारण तीव्रताका साथ यो ब्राण्डले व्यापार गरिरहेको छ । विश्व स्मार्टफोन बजारमा साओमीको हिस्सा १३ प्रतिशत छ ।

सामसुङ

विश्वमा सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्डको सूचीमा सामसुङ रहेको छ । दक्षिण कोरियाली व्यापारिक घराना सामसुङको स्मार्टफोन नयाँ नयाँ प्राविधिक आविष्कार र प्रयोगका लागि चिनिन्छ । सामसुङका ग्यालेक्सी स्मार्टफोन सिरिज विश्वभर नै लोकप्रिय छ । सामसुङले स्मार्टफोनको शोध र विकासमा पनि ठूलो धनराशि खर्च गर्दै आएको छ ।

त्यसबाहेक सामसुङले सस्तो दाममा उत्कृष्ट स्मार्टफोन पनि बजारमा ल्याउने गरेको छ । पछिल्लो समय सामसुङले फोल्ड गर्न मिल्ने फोल्ड सिरिजका स्मार्टफोनलाई अझ परिष्कृत बनाउन काम गरिरहेको छ । विश्व स्मार्टफोन बजारमा सामसुङको हिस्सा १९ प्रतिशत हाराहारीमा रहेको छ ।

आइफोन

अमेरिकी प्रविधि कम्पनी एप्पलको आइफोन विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्ड हो । एप्पलले सन् २००७ देखि हरेक वर्ष नयाँ आइफोन बजारमा ल्याउने गर्छ । हालैमात्र एप्पलले आइफोन १६ सार्वजनिक गरेको छ । आइफोनमा आफ्नै आईओएस अपरेटिङ सिस्टम चल्छ ।

आइफोनका हार्डवेयर र सफ्टवेयर अरु स्मार्टफोनको तुलनामा विशिष्ट मानिन्थ्यो । यो स्मार्टफोनको लोकप्रियता विश्वका सबै ठाउँमा पाइन्छ । विशेषगरी अमेरिकामा यो स्मार्टफोन चलाउने प्रयोगकर्ता धेरै छन् । विश्व स्मार्टफोन बजारमा आइफोनको हिस्सा २० प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?