मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चित्रकला प्रदर्शनी

क्यानभासमा जिरीको सुन्दरता

काठमाडौं– प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण छ दोलखाको रमणिय उपत्यका जिरी । प्राकृतिक भू–बनोटसँग मिल्दोजुल्दो भएकै कारणले स्वीट्जरल्याण्डको ज्युरिचसँग तुलना गरी यसलाई नेपालको स्वीजरल्याण्ड रुपमा लिइन्छ । त्यही जिरीको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक परिवेशलाई चित्रकारहरुले आफ्नो सिर्जनामा उतारेका छन् ।

जिरीको समग्र सौन्दर्यलाई चित्रण गरिएका तीन दर्जन कलाकृतिहरु यतिबेला बानेश्वरस्थित उमोजा क्याफेमा प्रदर्शनरत छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’, कलाकार तथा कला समीक्षक रमेश खनाल, प्राज्ञ पाल्साङ्मो लामा लगायतको सहभागितामा ‘क्यानभासमा जिरी’ शीर्षकमा शुक्रवारदेखि प्रदर्शनी शुरु गरिएको हो ।

प्रदर्शनीमा केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले जिरीकै पुगेर सिर्जना गरेका कलाकृतिहरु छन् । गत वर्ष ‘दोश्रो जिरी महोत्सव’मा छ जना कलाकारहरू जिरी पुगेर महोत्सवमा स्थलगत कला कार्यशालामा सहभागी भएका थिए । कलाकार खनाल संयोजक रहेको कलाकारको समूहले तीन दिनसम्म जिरीको प्रकृति, संस्कृति, समाज, जीवनशैली, धर्म, परम्परा, इतिहास जस्ता पक्षलाई स्थलगत रुपमै अध्ययन तथा अवलोकन गरेर क्यानभासमा उतारेका थिए ।

कला सिर्जनामा जिरीलाई उतार्ने योजनाको संयोजकका रुपमा भने टुरिजम प्रमोशन फोरम नेपालका अध्यक्ष लिलाराम खड्का थिए । खड्काकै संयोजनमा अहिले कला प्रदर्शनी गरिएको हो । एक्रेलिक र जलरङका माध्यममा सिर्जना भएका चित्रहरुमा जिरीको मठ मन्दिर, ताल तलैया, झरना, हिमालको सौन्दर्य, प्राकृतिक भूगोल, संस्कृति र जनजीवनलाई चित्रण गरिएका छन् ।

जिरेल समुदायको विशेष पर्वमा परम्परागत गहना र वेशभुषासहित सहभागिता जनाउने महिलाहरुलाई कलाकार केसीले क्यानभासमा देखाएका छन् । उनले जिरेल समुदायमा नै मृत्युपश्चात् शवलाई जमीनमुनि गाडेर सम्झना स्वरुप चिहानमाथि स्तम्भ संरचना खडा गर्ने परम्परालाई हुबहु रुपमा चित्र सिर्जना गरेका छन् । संस्कृति र इतिहास होस् या आधुनिक शहरिया भन्दा मौलिक प्राकृतिक लयमै रमाइरहेका आम मानिसहरुको जीवनशैलीलाई कलाकार मिजारले कलाको रुपमा ढालेका छन् ।

त्यस्तै, कलाकार खनालले जिरीको पुरानो वास्तुकला शैलीको परम्परागत घरलाई जस्ताको तस्तै कलाको फर्ममा उतारेका छन् । ६ जना कलाकारहरुका ३६ थान कलाकृतिहरु अवलोकन गर्दै गर्दा जिरी नै पुगेको भान हुन्छ । जिरीको ऐतिहासिक र पर्यटकीय नगरको सौन्दर्यलाई उजागर गर्ने हेतुले अध्यक्ष खड्काकै पहलमा विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् ।

यिनै कार्यक्रमहरुको मेसोमा नै जिरीलाई कलाको फर्ममा ल्याएर आम मानिसमा यसको सौन्दर्य चिनाउने उद्देश्य कला प्रदर्शनीको छ । प्राकृतिक मात्र नभएर त्यहाँको वास्तुकला, भौगोलिक विविधता, जिरेल जातिको जनजीवन र तिनको सांस्कृतिक परम्पराले जिरी सजिएको छ । तिनै पक्षहरुलाई कलामा समेट्ने जमर्को गरिएको छ ।

कलामा जिरीको बाहिरी सौन्दर्यहरुलाई नै जोड दिइएको छ । जिरेल समुदायको आदिवासी लयहरु पूर्ण रुपमा बुझ्न भने जिरेल बस्तीमा नै पुग्नुपर्छ । कुनै समय सगरमाथाको प्रवेशद्वार समेत जिरी नै थियो । सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले जिरीकै बाटो प्रवेश गरेर सगरमाथा आरोहण गरेका थिए । जिरीबाटै आरोही र पदयात्रीहरु आउजाउ गर्ने भएकोले त्यहाँको माहोल बेग्लै थियो । तर लुक्ला विमानस्थल बनेपछि भने जिरीमा त्यो माहोल रहेन ।

आधुनिकीकरणकै लयमा जिरीले पछिल्लो समयमा आफ्नो प्राकृतिक तथा मौलिक लय र परिवेशहरु गुमाउँदै छ । जिरीको यो कथालाई भने कलाकृतिहरुमा समेटिएको छैन । जिरीको आफ्नो मौलिक र प्राकृतिक पक्षलाई साँच्चै संरक्षण गर्ने हो भने यी पक्षहरुलाई समेटेर नयाँ पुस्तामा जागरण ल्याउन सकिन्छ ।

जिरीलाई कला मार्फत चिनाउने पहिलो प्रयास भएकोले आगामी दिनमा समेत यस्ता कलात्मक कार्यक्रमहरुमा जोड दिने प्रदर्शनीका संयोजक खड्काले बताए । उनका अनुसार कला दृश्यमा जिरीलाई टपक्कै टिपेर राजधानीसम्म ल्याउँदा आम दर्शकहरुमा समेत जिरीको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यप्रति चाख बढेको छ ।

प्रदर्शनीले जिरीको सौन्दर्यलाई उजागर गर्न थप टेवा पुग्ने आशा उनले राखेका छन् । प्रदर्शनी आइतवारसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?