काठमाडौँ – थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पुगेको मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ ।
यो फिल्मको बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कश्यप समेत सहभागितामा गत आइतबार काठमाडौँमा प्रिमियरमा गरिएको थियो । त्यस्तै फिल्मको विश्व प्रिमियर भने बर्लिन् फिल्म फेस्टिभलमा भएको थियो, जसको कारण विश्वभर यसले ठुलो चर्चा बटुल्न सफल भयो।
चर्चामा रहेको यो फिल्मलाई नेपाली मल्टिप्लेक्सहरुले पनि विश्वास गरेका छन । फलत : नेपालकै ठुलो चेन क्युएफएक्सले आफ्ना सिनेमा घरहरूमा करिब ५० शो प्रस्तुत गरेको छ। त्यस्तै, बिग मुभिज, एफक्युब, रञ्जना, सिके, कीर्तिपुर सिनेमा लगायतका मल्टिप्लेक्स हलहरूमा पनि ‘शाम्बाला’को आकर्षक शोहरू उपलब्ध गराएका छन्।
फिल्मले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गरेको छ। ३ जना दाजुभाइसँग विवाह गरेकी युवती गर्भवती भएको थाहा पाएपछि उनी ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमानलाई खोज्न दोस्रो श्रीमानसँग यात्रामा जान्छिन्।
सांसारिक खोजको रूपमा शुरू भएको यो यात्रा कसरी आत्मज्ञान र मुक्तिको बाटोमा रूपान्तरण हुन्छ भन्ने नै ‘शाम्बाला’को कथा हो।
नेपाली र तिब्बती भाषाको मिश्रणमा बनेको यस चलचित्रलाई नेपाल रिलिजको लागि अङ्ग्रेजी र नेपाली सबटाइटलसहित प्रस्तुत गरिएको छ। नेपाल प्रदर्शनपछि थुप्रै देशमा फिल्म प्रदर्शनमा आउनेछ।
फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायतका कलाकारहरूको अभिनय छ। साथै, प्रसिद्ध गायिका आनी छोइङ डोल्माले पनि विशेष भूमिका निभाएकी छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया