पछिल्लो पुस्तामा भर्खर जन्मिएका शिशुहरूलाई डाइपर लगाइदिने गरिन्छ । पहिला–पहिला बच्चाहरूलाई कपडाको टालो बनाएर लगाइदिने प्रचलन थियो ।
तर अहिले भने सर्वत्र डाइपरको प्रयोग गरिन्छ । तर शिशुलाई डाइपर लगाइदिँदा केही कुराहरूमा ध्यान दिइएन भने स्वास्थ्य समस्या पनि निम्तन सक्छ ।
डाइपर रसायन र सिन्थेटिक सामग्रीबाट बनेको हुन्छ । धेरै अभिभावकले बच्चालाई रातभर डाइपर लगाइदिन्छन् । रातभर डाइपर लगाइदिँदा बच्चाको छाला लामो समयसम्म केमिकलको सम्पर्कमा रहन्छ, जसकारण शरीरलाई हानि पुर्याउन सक्छ । यसले बच्चाको शरीरमा विषाक्तता बढाउन सक्छ ।
डाइपरको प्रयोग लामो समयसम्म गर्दा बच्चालाई ब्याक्टेरियल, फंगल इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । किनकि डाइपर पिसाब अवशोषित गर्ने सामग्रीबाट बनेको हुन्छ ।
यसले छालामा अक्सिजनको प्रवाह पनि कम गर्छ । जसकारण ब्याक्टेरिया र अन्य कीटाणुहरू बढ्ने सम्भावना रहन्छ । यसले बच्चाको छालालाई नोक्सान पुर्याउन सक्छ र छालामा सङ्क्रमण हुनसक्छ ।
पटक–पटक इन्फेक्सन भयो भने बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यसबाट बच्न, बच्चाको डाइपर बारम्बार परिवर्तन गर्नुपर्छ ।
बच्चाको छाला धेरै कोमल हुन्छ । डाइपरमा पाइने हानिकारक सिन्थेटिक फाइबर, रङ वा अन्य रासायनिक पदार्थका कारण बच्चाको छालामा एलर्जी, दाग र चिलाउने समस्या हुनसक्छ । धेरै पटक बच्चा डाइपर लगाउँदा रुन थाल्छन् किनभने यो उनीहरूका लागि सहज हुँदैन ।
धेरै समयसम्म डाइपर लगाउनाले बच्चालाई चिडचिडेपन हुनसक्छ । बच्चालाई लामो समयसम्म डाइपर लगाइदिइरह्यो भने बच्चाको दिसा–पिसाबमा समस्या हुनसक्छ ।
किनभने बच्चालाई डाइपरमा पिसाब र शौच गर्ने बानी हुन्छ । डाइपरको प्रयोग धेरै गर्नु वातावरणका लागि पनि हानिकारक हुनसक्छ ।
बच्चालाई डाइपर लगाइदिँदा ध्यान दिनुपर्ने कुरा
–उमेरअनुसार बच्चाको डाइपर दुईदेखि तीन घण्टाको अन्तरालमा परिवर्तन गर्नुपर्छ । धेरै मात्रामा पिसाब सोस्न सक्ने डाइपरको प्रयोग गर्नुपर्छ । बच्चालाई प्लास्टिकको डाइपर लगाइदिनुको साटो सुतीको डाइपर लगाइदिनु राम्रो हुन्छ । त्यो सम्भव छैन भने पनि कम मात्रामा प्लास्टिकको प्रयोग भएको र केमिकल प्रयोग नभएको डाइपर लगाइदिनुपर्छ ।
–रातको समयमा त आमा र बच्चाको राम्रो निद्राका लागि डाइपर लगाइदिन सकिन्छ । तर दिउँसो बच्चालाई डाइपर नलगाइदिनु राम्रो हुन्छ ।
–दिसा गरेपछि तुरुन्तै बच्चाको डाइपर सफा गर्नुपर्छ । बच्चाले पिसाब गरेपछि वा दिसा गरेपछि डाइपर हटाएर पानी र कपासले सफा गरिदिनुपर्छ । डाइपर लगाउनुअघि नरिवलको तेल वा मोइस्चराइजर लगाइनु राम्रो हुन्छ, जसले बच्चालाई एलर्जी हुनबाट बचाउन सकिन्छ ।
–डेढ वर्षबाट बच्चालाई पिसाब फेर्ने तालिम दिन सकिन्छ । त्यसपछि डाइपरको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया