मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल आर्ट काउन्सिलमा कलाको मेला

काठमाडौँ– यतिबेला बबरमलमहलस्थित नेपाल आर्ट काउन्सिलमा कला सिर्जनाको मेला चलिरहेको छ । कला सिर्जनाका सर्जक तथा कलाप्रेमीहरु एकसाथ कला माहोलमा रमाइरहेका छन् ।

ई–आर्ट्स नेपालले भदौ २३ गतेदेखि शुरु गरेको ‘हिमालय आर्ट फेस्टिभल’मा १२० जना भन्दा बढी कलाकारका कलाकृतिहरु प्रदर्शन गरिएका छन् ।

नेपाली कलाकृतिहरुलाई नेपालीहरुको घरमा सजिओस् र दशैं जस्तो पर्वको छेकोमा अन्य सामान किने जसरी नै कलाकृतिहरु खरिद गर्ने माहोल सिर्जना गर्न ई–आर्ट्स नेपालले सन् २०१७ देखि नै कला प्रदर्शनी गर्दै आएको छ । यस प्रखर्शनीलाई ललितकलाका सर्जकहरुले उत्सवका रुपमा मनाउँदै आएका छन् । महोत्सवमा कला प्रदर्शनी मात्र नभएर कला बहस तथा विभिन्न साङ्गीतिक प्रस्तुतिहरु समेत गरिँदै आएको छ ।

यस कला प्रदर्शनीमा नेपाली तथा विदेशी कला पारखीहरुले आफ्नो घरमा सजाउनको लागि किन्न सक्ने मूल्यमा विभिन्न कलाहरु राखिएका छन् । जसमा मूर्तिकला, चित्रकला, प्रतिस्थापन कला तथा परम्परागत पौभा कला समेत रहेको छ ।

नेपालका वरिष्ठ देखि युवा पुस्ताका कलाकारहरु प्रदर्शनीमा सहभागी छन् । कलाकृतिहरुलाई एकै थलोमा समावेश गरी प्रदर्शनी गर्नाले कलाकारहरुको स्तर मापनमा समेत यसले सघाउ पुग्ने आयोजकको विश्वास छ । प्रदर्शनीकै अवसरमा आर्ट फेस्टिभलमा हरेक वर्ष नेपालमा रहेर नेपाली कलाको विकासमा योगदान पु¥याउने मूर्धन्य स्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको छ ।

यस वर्ष भने वरिष्ठ कलाकार तथा महिला सशक्तीकरणको क्षेत्रमा योगदान पुर्‍याएकी अग्रज कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति ८४ वर्षीया शारदा चित्रकारलाई सम्मान गरिएको छ भने उनका वि.सं. २०१० सालदेखि २०७० सम्म सिर्जना भएका दर्जनभन्दा बढी कलाकृतिहरुलाई विशेष स्थान दिएर प्रदर्शन गरिएको छ ।

सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरुका विभिन्न संस्थाहरुसँग छलफल तथा सहकार्य गरेर कलाका हरेक विधाहरुलाई समेट्द प्रदर्शनीलाई बृहत मेलाको रुपमा वर्षेनी गर्दै आइरहेको छ ।

प्रदर्शनीले कलालाई हेर्ने दृष्टिकोण सँगै कलाकारहरुलाई आर्थिक रुपमा समेत बलियो बनाउन सघाउँछ भन्ने आयोजकको विश्वास छ । यसले नयाँ पुस्तामा कला सिर्जनाका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

यस वर्षको कला प्रदर्शनीको क्युरेसन भने कलाकारहरु सागर मानन्धर र प्रतिमा थकालीले गरेका छन् । प्रदर्शनीकै अवसरमा मंगलवार साहित्य, रङ्गमञ्च र ललितकला विधामा आधारित रहेर बहस गरिएको थियो । बहसमा कवि विप्लभ प्रतीक, रङ्गकर्मी अनुप बराल र कलाकार तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्सका सहायक डिन सुजन चित्रकार,सहभागी थिए ।

यी तीनै जनाले साहित्य, रङ्गमञ्च र ललितकलाको सम्बन्ध, सहकार्यदेखि यी विधाहरुमा भइरहेको सिर्जना र समीक्षा सम्मका पक्षहरुमा रहेर बहस गरे । कला, साहित्य र थिएटरको सम्बन्धलाई केलाउँदै रङ्गकर्मी बरालले थिएटरलाई आफैंमा एउटा साहित्य नै रहेको जिकिर गरे ।

प्रस्तुतिका हिसबाले थिएटर र चित्रकलाको स्वभावमा अलिकति फरक भएकोले यसको गहिराइसम्म पुगेर अन्तरघुलन हुनुपर्ने धारणा उनले राखे । कवि प्रतीकले भने साहित्य र कला जगतका अग्रज व्यक्तित्वहरु उत्तम नेपाली, शशी शाह, शंकर लामिछानेलाई स्मरण गर्दै यी विधाहरुमा हुने सहकार्यको बारे स्मरण गरे ।

‘म त कला र थिएटरमा उत्तिकै नजिक छु र मेरो लेखनमा सधैं थिएटर जस्ता अरु विधाको इमेजहरु देख्छु,’ उनले भने, ‘त्यसैले म त सबैलाई यही भन्छु कि आफूभन्दा फरक विधामा काम गर्ने स्रष्टाहरुसँग बुझ्न र सङ्गत गर्नुपर्छ ।’

पछिल्लो समयमा कलाकारहरु आफ्नै कला विधार काममा मात्र रमाउने प्रवृत्तिले कला, साहित्य र थिएटर विधा एकै हुन नसकेको चित्रकारले सुनाए । उनले भने, ‘हामीले एक अर्काको कामलाई माया गर्ने र सहकार्य गरेर हामी सँगै जोडियौं भने मात्र फराकिलो बन्न सक्छौं । हामी अलग हुनु भनेकै हाम्रो कला खुम्चिनु हो ।’

तीनै जना वक्ताहरुले जुनसुकै विधाका कलाको स्तर उन्नतिका लागि सर्जकहरु आत्मप्रशंसामा रमाउने र गुटबन्दीमा लाग्न नहुने धारणा राखे ।

भदौ २९ गतेसम्म जारी रहने कला प्रदर्शनीमा कलाकारहरु वत्स गोपाल वैद्य, मदन चित्रकार, शशिकला तिवारी, श्यामलाल श्रेष्ठ लगायत जीवन राजोपाध्याय, लय मैनाली, देवेन्द्र सिंख्वालदेखि नवेन्द्र लिम्बु, मनिष लाल श्रेष्ठ, जुपिटर प्रधान, रविन्द्र श्रेष्ठ, लक्ष्मण बज्र लामा, इसान परियार, सविता डंगोल, कुन्ती श्री थापा, सुन्दर लामा लगायतका १२० भन्दा बढी कलाकारहरुका सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?