रोलेक्स एक विश्वप्रसिद्ध घडी ब्राण्ड हो। घडीमा रुची राख्ने जो कोहीले पनि यस घडीलाई राख्ने सपना देख्छन्।
परम्परागत शैलीमा बनाइने रोलेक्सलाई घडीका सौखिनहरूले प्राचीन समयको सभ्यतासँग तुलना गर्दै यो घडी निकै मूल्यवान रहेको पनि बताउँछन् ।
रोलेक्स एसए नाम गरेको बिलासी स्विस घडी निर्माता कम्पनीले बनाउने रोलेक्स घडी सन् १९०५ देखी लन्डनमा बनाउन शुरु गरिएको थियो । तर, सन् १९१९ देखि यो घडीको उत्पादन स्वीट्जरल्याण्डबाट गर्न थालिएको हो ।
रोलेक्स ‘होममेड’ घडी हो । जुन दक्ष तथा अनुभवी ‘वाचमेकर’ले बनाउँछन् । रोलेक्सको एउटा घडी मात्र बनाउन पनि ठूलो लगानी चाहिन्छ । साथै कला पनि उत्तिकै चाहिन्छ । किनभने यसमा सयौँ प्रकारका आन्तरिक ‘पार्टपुर्जा’हरू जोड्नुपर्छ ।
त्यस्तै क्राफ्टबाट बन्ने यस घडीको डिजाइन निकै खर्चिलो हुन्छ । यो होममेड घडी भएकोले यसका लागि चाहिने सामग्री पनि अत्याधिक महँगा हुन्छन् ।
रोलेक्समा लाग्ने स्टिलको मापदण्ड नै ३१६ एल देखि ९०४ एलसम्म तोकिएको हुन्छ । यस्तोखाले स्टिलबाट बनेको घडी बलियो, चम्किलो र बढी महँगो हुन्छ । सिरामेकका लागि रोलेक्स घडीको डायल ह्वाइट गोल्ड र बेजल्सबाट बनाइएको हुन्छ ।
यस ब्रान्डको घडीका अधिकांश भागहरू स्याण्डब्लास्टेड प्लाटिनम र जेमस्टोन्सबाट निर्मित हुन्छ । त्यसैले यसलाई मानिसले महँगो मात्र नभई दर्शनसँग पनि जोड्ने गर्छन् ।
तर आजभन्दा ५०औँ दशक अघिसम्म पनि रोलेक्स घडी खासै महँगा थिएनन् । यस ब्रान्डका घडीको मूल्य वर्षैपिच्छे बढ्दै गएको मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया