मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यक्ति

हक्की स्वभावका नेता जनार्दन शर्मा: गीत गाउन जान्दैनन्, ढाँचा मिलाएर नाच्छन्

नेपाली समाज अन्तरघुलित छ, एक अर्काको संस्कृतिलाई सम्मान गर्नुपर्छ

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ हक्की र निडर स्वभावका नेता हुन् । १४ वर्षको उमेरदेखि नै जनयुद्धमा होमिएका शर्माले समकालीन नेतामध्येमा बेग्लै छवि बनाएका छन् ।

चाहे पार्टीभित्रको आन्तरिक बहस होस् या जनताका मुद्दाको विषय नै किन नहोस् । आफूलाई लागेको विषयमा उनले खरो टिप्पणी गर्छन् । यो शैलीले उनीबाट धेरै प्रभावित पनि भएका छन् ।

जुझारु शैली, छिट्टो निर्णय गर्ने सक्ने क्षमता र पार्टी संगठन निर्माणमा पनि उत्तिकै सक्रिय रहने शर्मा व्यक्तिगत रुपमा पनि सबैसँग घुलमिल हुन्छन् । मिजासिलो र जनतासँग छिट्टै घुलमिल हुने शैलीले जन्मथलो रुकुम (पूर्व र पश्चिम) जिल्लामा पनि उनको छुट्टै पहिचान छ ।

जनयुद्धकालीन समयमा डेपुटी कमाण्डरको जिम्मा सम्हालेका शर्माले कला, साहित्य र सङ्गीतलाई पनि निकै नजिकबाट बुझेका छन् । कहिले उनी रुकुममा हुने स्थानीय कार्यक्रमहरूमा पुगेर मयुर नाचमा ताल मिलाएर नाच्छन् त कहिले बाजा बजाउँदै गरेका भेटिन्छन् ।

दश वर्षे लामो द्वन्द्वकालमा कमाण्डरको जिम्मा सम्हालेका उनले सिङ्गो मोर्चालाई उच्च मनोबल प्रदान गरेका थिए । तत्कालीन जनमुक्ति सेनाका ६ कमाण्डरमध्ये उनले कमाण्ड गरेको मोर्चाले मध्य पश्चिम क्षेत्रमा बलियो पकड जमाएको थियो ।

शर्माले विस्तृत शान्ति सम्झौतापछि भने पुनर्निर्माण, उर्जा, गृह र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

शर्माको राजनीतिक पाटोबारे धेरैलाई थाहा भए पनि उनको सांस्कृतिक पाटोबारे कमैलाई थाहा छ । उनले केही गीत परिकल्पना गरेका छन् भने रुकुम जिल्लामा चर्चित मानिने ‘मयुर नाच’ पनि उस्तै गरी नाच्छन् । केही वर्षअघि उनको मयुर नाच सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।

नेपालको समग्र सांस्कृतिक पक्षलाई नजिकबाट नियालेका प्रभाकर सानैदेखि आफू त्यस्तै परिवेशमा हुर्केको बताउँछन् । भन्छन्, ‘म रुकुममा जन्मेँ । सानैदेखि त्यतै रमाएँ । युवावस्थासम्म गाउँमा हुने हरेक कार्यक्रममा पुगियो । त्यसैको प्रभाव होला, ममा संस्कृतिप्रति छुट्टै रुचि छ ।’

जनार्दन ब्राह्मण परिवारमा जन्मिए पनि उनी मगर समुदायमै हुर्के । त्यहाँको संस्कृतिमा भिजे । बाल्यकालमा गाउँमा हुने मेलामा पनि उनी पुगे । त्यसको प्रभावले हुनुपर्छ, अहिले पनि कतै न कतै उनमा सांस्कृतिक चिन्तन देखिन्छ ।

‘पूर्वी रुकुमतिर खाम मगर संस्कृति छ । त्यहाँ भुमे पर्व लगायतका संस्कृति मान्ने गरिन्छ । त्यसको आफ्नो छुट्टै भाषा र विशेषता छ । साँस्कृतिक परम्पराहरु छन् ।,’ जनार्दन भन्छन्, ‘पश्चिमतिर पनि मगरहरु त छन् । तर, पश्चिम रुकुममा भने साँस्कृतिक रूपमा ठूलो खजाना नै छ । त्यहाँका नाच, गीत, ठाडी भाका, सिँगारु भाका, पैसेरी नाच छन् । पैसेरी नाचका पनि विभिन्न तालहरु हुन्छन् ।’

उनका अनुसार रुकुम क्षेत्रमा मयुर नाच अलिक बढी नै लोकप्रिय र प्रसिद्ध छ । फुर्तिसाथ नाच्नुपर्ने भएकाले युवाहरू यो नाचतिर बढी आकर्षित पनि छन् ।

हामीले सोध्यौँ– के मयुर नाच नाच्न सजिलो छ त?

उनी भन्छन्, ‘त्यति सजिलो पनि छैन । यसका पनि आफ्नै ताल र तरिका हुन्छन् । नाच्दा पनि ढाँचा मिलाएर नाच्नुपर्छ । यो नाच ‘अफेसन्स’ र ‘डिफेन्स’ को नाच पनि हो ।’

उनका अनुसार मयुर नाच अहिले नृत्यका रूपमा विकसित भए पनि परापूर्वकालमा यो युद्धबाट नै विकास भएको हो ।

‘ नेपालमा समाज निर्माण हुने क्रममा पौराणिक समयदेखि नै मयुर नाच विकसित हुँदै आएको हो ।,’ उनी थप्छन् ।

शर्मा रुकुममा नाचिने सिङ्गारु, पैसेरी, सोरै, झाँप्रे नाचसँग पनि परिचित छन् । उनका अनुसार रुकुममा गाउँका टोल टोलमा साँस्कृतिक समूहहरू छन् । चाडपर्व आउँदा ती टिमले साँस्कृतिक प्रस्तुति दिने गर्छन् ।

फुर्सद हुँदा शर्मा पनि त्यहाँ पुग्छन् । र, मगर समुदायको संस्कृतिको मजा लिने गर्छन् ।

‘मगर समुदायको जगेर्नाका लागि हामीले कैयन् सम्मेलन पनि गरेका छौँ । म राम्रो कलाकार भएर भन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने भएकाले पनि सबै नाचसँग मेरो साइनो छ ।,’ जोय नेपालको कुराकानीमा उनी फूर्तिका साथ सुनाउँछन्, ‘म सबै खाले संस्कृतिमा नाच्न सक्छु तर गीत गाउन मेरो अलिक खुबी पुग्दैन ।’

त्यसो त शर्मा जनतासँग सांस्कृतिक रूपमा मात्र जोडिएका छैनन् । उनले भूकम्पका बेला करीब ४५ दिन प्रभावित क्षेत्रमा गएर श्रमदान गरेका थिए । जनतासँगै बिताएका थिए । त्यहीँ बसेका थिए । भन्छन्, ‘म नाच्न मात्र होइन, दु:ख पर्दा पनि जनताकै वरिपरि हुन्छु । भूकम्प जाँदा होस् या अस्थायी आवास बनाउने क्रममा होस्, मेरो बास नै उतै थियो ।’

उनलाई लाग्छ, जनताले मात्र श्रम गर्न सक्ने तर आफूले नसक्ने हुँदैन । आफू जुनसुकै परिवेशमा पनि जनताको नजिक हुनुपर्छ ।

जनतासँगको सम्बन्ध साँस्कृतिक टिमजस्तो, काम गर्दा कामदारको टिमजस्तो सम्बन्ध भएको उनी बताउँछन् ।

‘जनतासँग ठूलो माननीय भएर ‘अर्कै को हो’ भन्ने खालको सम्बन्ध छैन ।,’ उनी भन्छन् ।

परिआएको अवस्थामा श्रम गर्न पनि उनलाई आनन्द लाग्छ । बाल्यकालमा आफूले त्यस्तै काम गरेर हुर्केकाले पनि हुनुपर्छ । उनलाई त्यसरी काम गर्दा छुट्टै किसिमको अनुभूति हुन्छ ।

***

वि.सं. २०२० मा तत्कालीन रुकुमको सेरीगाउँमा जन्मिएका शर्मा जनयुद्धमा होमिनुभन्दा पहिले शर्माले गाउँकै उकाली ओरालीहरूमा घरायसी काम गर्थे । गाइवस्तु पाल्ने, घरको काम गर्ने, घाँस काट्ने । यस्तै यस्तै काम ।

घरको जेठो छोरा थिए । घरको जिम्मेवारी उनकै थाप्लोमा आइलाग्थ्यो । श्रम गरेरै मध्यम वर्गीय परिवार चलाएका थिए ।

‘म सानैदेखि श्रम गर्थेँ । गाउँमा सबैको अवस्था उस्तै त हो । शहर बजारमा केही फरक होला तर गाउँघरमा त जहाँ पनि त्यस्तै त हो नि । खेतीपाती गर्नैपर्ने, घाँसदाउरा गर्नैपर्ने, गाईवस्तु पाल्नैपर्ने, गोबर मलपात फाल्नैपर्ने, मल बोकेर खेतमा हाल्नैपर्ने ।,’ उनी आफ्नो विगत सम्झिन्छन् ।

आफूले साँझ बिहान काम भ्याएर दिउँसो स्कूल जाने गरेको जनार्दन सुनाउँछन् । कुनै दिन त घरमा काम पर्‍यो भने स्कूल नै नजाने गरेको त्यो समय अहिले पनि उनी मानसपटलमा ताजै छ ।

‘बाल्यकालदेखि नै हामी श्रममा हुर्कियौँ । धारोबाट पानी ल्याउने, मकै बोकेर खोलामा घट्ट पिस्न जाने गर्‍यौँ । गाइवस्तुलाई घाँस काटेर पनि हाल्यौँ । रुख चढेर डाले घाँस पनि काट्यौँ ।,’ शर्मा आफ्नो विगत सम्झिन्छन्, ‘त्यसैले पनि होला मलाई श्रम गर्न कुनै आनाकानी या हिचकिचाहट छैन । म श्रमलाई सम्मान गर्ने मान्छे हो । म हलो पनि जोत्छु । आफै खेती पनि गर्छु ।’

राजनीतिमा आएपछि पनि आफूले केही समय फलफूल खेती गरेको तर अहिले त्यसलाई निरन्तरता दिन नसकेको उनी बताउँछन् ।

शर्मालाई धेरैले जनयुद्धका कमाण्डर र नेताका रूपमा चिने पनि उनले स्कूले जीवनमा नाटक पनि लेख्थे । स्कूलमा पढ्दाताका उनले करीब एक दर्जन नाटक लेखेका थिए ।

‘पञ्चायत कालमा पनि मैले नाटकहरू लेखेँ । अहिले त ती मसँग छैनन् । तर, मैले दर्जनौँ नाटक लेखेको थिएँ । स्कुलको वार्षिकोत्सवमा नाटकहरु प्रस्तुत गरिन्थ्यो ।,’ उनी आफ्नो किशोरावस्था स्मरण गर्दै सुनाउँछन्, ‘बन्दुक बोकेर लड्ने कुरा मात्रै आन्दोलन होइन । कसैले कसैमाथि अत्याचार गरिरहेको छ भने सहेर बस्न सकिँदैन । त्यो किन गरेको भनेर प्रश्न गर्नुपर्‍यो । एक हिसाबले हामीले नाटकबाट पनि जनतालाई सचेत गरायौँ ।’

शर्माले जनयुद्धको तयारी नै सांगीतिक कार्यक्रम र नाटकमार्फत गरेको बताउँछन् । उनका अनुसार त्यति बेलाका नाटक प्रगतिशील हुन्थे । र, ती नाटकले समाजमा कुनै न कुनै छाप छाड्थे ।

शर्मा भन्छन्, ‘मैले लेखेका नाटकहरू पनि प्रगतिशील हुन्थे । ती नाटकहरू विद्यार्थी मात्र नभएर अभिभावकसमेत आएर हेर्थे ।’

यो चालीसको दशकको कुरा हो । त्यतिबेला नेपालमा जनयुद्ध शुरु नै भएको थिएन ।

अहिले सोच्दा उनलाई लाग्छ कि, एक हिसाबले सामाजिक आन्दोलन त्यतिबेला नै गरिएको थियो । भलै त्यो ताका जनयुद्धमा होमिएन होला तर समाज परिवर्तनका लागि अरू माध्यम अपनाइएको थियो ।

नाटक त एउटा माध्यम भयो । त्यतिबेला उनले सांगीतिक प्रस्तुतिलाई पनि विशेष महत्त्व दिन्थे । उनको बुझाइमा समाज परिवर्तन गर्ने सबैभन्दा सहज माध्यम भनेकै गीत संगीत हो । एकातिर काँधमा बन्दुक बोकेका थिए । अर्कातिर उनले सांस्कृतिक रूपमा पनि आन्दोलन गरिरहेका थिए ।

माओवादी आन्दोलनमा जनवादी गीतहरूले समाज परिवर्तनमा अहम् भूमिका खेलेको जनार्दन बताउँछन् । भन्छन्, ‘समाजलाई बुझाउने महत्त्वपूर्ण माध्यम भनेकै गीत सङ्गीत हो । त्यसले हतियारले भन्दा छिटो समाज बुझाउन मद्दत गर्छ ।’

उनका अनुसार जनयुद्धकालीन समयमा माओवादीका आफ्नै सांस्कृतिक कम्पनी थिए । उनीहरूको काम लड्ने हुँदैनथ्यो । सांस्कृतिक समूहमा भएका जनवादी गायक गायिकाले नेपालका विभिन्न भेगमा पुगेर आफ्नो कौशलता प्रदर्शन गर्थे ।

‘मैले जनतालाई ५ सय जनाको नृत्य देखाउने गरेको थिएँ, सुदूरपश्चिममा ।,’ उनी भन्छन् ।

त्यो बेला जनार्दनले तराईको थारु समुदायको नाचलाई पहाडमा लगेर प्रस्तुत गर्थे भने पहाडको छलिया नाचलाई तराईमा प्रस्तुत गर्थे । उनको बुझाइमा जनताको मनोबल उठाउनका लागि ती गीतले पनि निकै ठूलो भूमिका खेलेको छ ।

चौध वर्षको कलिलो उमेरदेखि नै जनयुद्धमा होमिएका जनार्दनले आफू त्यसअघि पनि अन्यायका विरुद्ध लडेको बताउँछन् । उनले जनयुद्धलाई सामाजिक आन्दोलनका रूपमा हेर्छन् । त्यतिबेला आफू अन्यायका विरुद्ध लडेको उनको दाबी छ ।

‘त्यतिबेला दमन, अन्याय, अत्याचारविरुद्ध लडियो । आफूलाई नभए पनि अर्काका विरुद्ध अन्याय भयो भने पनि साथ दिन पर्‍यो नि । साथ दिँदा त्यहाँ सङ्घर्ष पनि हुन्छ ।,’ उनी भन्छन् ।

उनको बुझाइमा गीतमा जनतालाई छिटो बुझाउने तागत हुन्छ । सङ्गीतले सहजै मानिसलाई परिवर्तन गराइदिन सक्छ ।

‘तीनै गीत प्रस्तुत गर्दै र नाच्दै नै हामीले जनतालाई संगठित गरेका हौँ । बरु एउटा मान्छेले गर्ने भाषणको केही अर्थ छैन तर गीतले मान्छेलाई यस्तो बनाइदिन्छ कि गीत सङ्गीतको भावनालाई बुझेर मान्छेले जे पनि गर्न तयार हुन्छ ।,’ उनी भन्छन् ।

जनयुद्धले जनतालाई कतै कुण्ठित पार्ला कि भन्ने मैले बुझेर साँस्कृतिक अभियान चलाएको उनी बताउँछन् । आफूले नेतृत्व गरे पनि परिवर्तन र लडाईँका गीत जनता आफैँले सिर्जना गरेको उनी बताउँछन् ।

‘जनताले आफै गीत बनाए । आफै गाए । वातावरण बनाएपछि त्यस्तो बन्दो रहेछ ।,’ उनी अगाडि थप्छन्, ‘सङ्गीतले हजारौँ जनतालाई आकर्षित गरेको छ र संगठित गरेर आफ्नो रक्षा गर्न, त्यतिबेलाको जनमुक्ति सेनाको रक्षा गर्न ठूलो महत्त्व पुगेको छ । त्यसको तयारीका क्रममा पनि हामीले साँस्कृतिक कार्यक्रमहरु गर्थ्यौँ ।’

उनी भन्छन्, ‘हामी हरेक दिन राजनीतिक कार्यक्रम र साँझ साँस्कृतिक कार्यक्रम गर्थ्यौँ । साँस्कृतिक कार्यक्रममार्फत् जनतालाई हाम्रो उद्देश्य, हामी कसरी अघि बढ्ने भन्ने बुझाउन धेरै सजिलो थियो ।’

त्यसो त देशमा गणतन्त्र स्थापना भइसकेपछि पनि उनले कैयन् जनवादी गीतहरूको परिकल्पना गरेका छन् । उनका गीतमा समाज परिवर्तन र क्रान्तिको झलक भने भेटिन्छ ।

‘बन्छ बन्छ नेपाल, समृद्ध बन्छ नेपाल’ गीतमा उनको परिकल्पना छ ।

जब जनार्दन आन्दोलनमा होमिए । त्यतिबेला नेपालमा पञ्चायती शासन थियो । उनको बुझाइमा त्यतिबेला नेपालको ग्रामीण क्षेत्र कस्तो थियो भने सामाजिक, साँस्कृतिक, आर्थिक सबै रुपले ठूलो उत्पीडनमा थियो । स्थानीय सामन्त र जाली फटाहाहरूको ठूलो शोषण थियो । सामाजिक रूपमा खुलेर बोल्न सक्ने अवस्था पनि थिएन । अझ प्रतिवाद गर्ने त कुरै भएन ।

त्यो बेला नै विद्रोही स्वभावका थिए । जनयुद्धमा लाग्नुअघि नै उनलाई धेरै विद्रोही स्वभावको युवकका रूपमा चिन्थे । सामाजिक विभेद हुनुहुँदैन भन्नेमा उनी सचेत थिए ।

‘जनता मनभित्र आक्रोश पालेर बसिरहेका थिए । पञ्चहरुको शासनको ठूलो बिगबिगी थियो । अलि राम्रो बाली देख्यो भने त्यो पनि बुझाउनुपर्ने, भैँसी देख्यो भने त्यो पनि दिनुपर्ने, चेलीबेटीमाथि पनि आँखा लगाउने अवस्था थियो ।,’ उनी भन्छन् ।

त्यही नकारात्मक सामन्तीवादका विरुद्ध नाटक लेखेर हुन्छ कि, गीतका माध्यमबाट हुन्छ । जनतालाई सूचित गरेको उनी सुनाउँछन् ।

‘जनयुद्धमा हतियार बोकेर मर्न र मार्न हिँडेको कमाण्डरलाई यस्तो गीत र नाटकको भाव कसरी आयो? हतियार बोकेको कमाण्डर त क्रुर हुनु स्वभाविक होइन र?,’ हामीले सोध्यौँ ।

‘मार्क्सवादीहरू भनेका वास्तवमा कला, सँस्कृति, सामाजिक पहिचान, सामाजिक अवस्थालाई बुझरै हुने हो । त्योभन्दा बाहिरबाट हुँदैन ।,’ उनले भने ।

‘हामीले अन्तिम लडाइँ लड्नुपर्‍यो । राजासँग लड्नुपर्‍यो । त्यहाँ त निर्मम हुनुपर्‍यो नि । राजतन्त्रका विरुद्ध लड्ने कुरा त सामान्य पनि थिएन । निर्मम भएर पो लडिएको हो त ।,’ उनी अगाडि थप्छन्, ‘जनतासँग त निर्मम हुने कुरा आएन । परिस्थितिले निर्मम बनाइदिन्छ । जनतासँग कोमल हुनुपर्‍यो फेरि । यो त परिस्थितिले बनाउने हो ।’

भन्छन्, ‘मान्छेले ‘मरता क्या नहीँ करता’ भन्ने ठाउँमा पुग्दा एकथरी गर्छ । सहज अवस्थामा अर्को गर्छ । यही त कुरा हो ।’

उनको बुझाइमा मान्छे निर्मम पनि बन्न सक्छ । कोमल पनि बन्न सक्छ । त्यो सबै परिस्थितिले बनाउने कुरा हो ।

जनार्दन सांस्कृतिक रूपमा समाजसँग नजिकबाट जोडिए पनि फिल्म हेर्ने या पुस्तक पढ्ने भने गर्दैनन् । हेर्नैपर्ने फिल्म रहेछ भने पनि युट्युब या अन्य डिजिटल माध्यमबाट घरमै हेर्छन् । पुस्तकमा पनि आर्थिक र जीवनसँग सम्बन्धित सामग्री मात्र खोजेर पढ्छन् ।

‘म सिनेमा धेरै हेर्दिन तर विशेष खालका राजनीतिक महत्त्वका सिनेमाहरू हेर्छु । तैपनि हलमा गएर त हेर्दिनँ । युट्युब या अन्य डिजिटल प्लेटफर्ममा आएका सिनेमा हेर्ने हो ।,’ जोय नेपालको कुराकानीमा उनी भन्छन्, ‘मैले समयको व्यवस्थापन गर्दा हुने कुरा त हो । शायद गर्न नसकेको होला । समय पनि पुग्दैन । हलमा गएर एकाध सिनेमा हेरेको होला । तर हेरेकै छैन भन्दा पनि हुन्छ ।’

उनी आफूले आवश्यक विषयका किताब मात्र पढ्ने गरेको बताउँछन् । विश्व अर्थतन्त्रका बारेमा जान्नुपर्‍यो भने त्यो कहाँ के सामग्री छ? विश्वको पछिल्लो विकासक्रम के छ, त्यसका आधारमा मात्र पुस्तक पढ्न समय छुट्याउने उनको भनाइ छ ।

‘म अर्थतन्त्र मात्रै होइन, आजको राजनीति के छ अरु पनि के भइरहेको छ भन्ने हेर्छु । अहिले कहाँ युद्ध भइरहेको छ, विश्वयुद्ध हुने हो कि के हो भन्ने छ, अब त्यता ध्यान दिनुपर्ने हुन्छ ।,’ उनी भन्छन् ।

विश्वमा भइरहेका युद्धले नेपालको अर्थतन्त्रमा नै फरक पो पार्छ कि भन्नेमा पनि आफ्नो चासो हुने उनी बताउँछन् । आर्थिक मात्र होइन, सामाजिक रूपमा पनि यसले कस्तो प्रभाव पार्छ भन्नेमा जनार्दन सचेत छन् ।

‘म खासगरी घटना विशेषसँग सम्बन्धित र नीति निर्माणसँग सम्बन्धित विषयहरु हेर्छु । धेरै कथा उपन्यासहरू पढ्न पनि भ्याउँदिनँ ।,’ उनी थप्छन् ।

गाउँबाट आएका बिरामीलाई अस्पतालमा भेट्न जाने गरेको पनि उनी सुनाउँछन् । कहिलेकाहीँ भने जान चाहँदा चाहँदै पनि कति बिरामीलाई भेट्न पाउँदैनन् । उनीहरूको स्वास्थ्य उपचार कसरी भइरहेको छ भन्नेमा चासो भने राख्छन् ।

त्यसो त उनलाई देशभरबाट भेट्न आउने कार्यकर्ताका लागि पनि समय छुट्याउनुपर्ने हुन्छ । कतिपय राजनीतिक भेटघाट हुन्छन् । कहिले संसद बैठकमा पनि पुग्नै पर्‍यो ।

‘फिल्म हेर्न र पुस्तक पढ्न समय मिलाउनै गाह्रो छ ।,’ उनी मुस्कुराउँदै सुनाउँछन् ।

उनको बुझाइमा नेपाली जनता संवैधानिक रूपमा अधिकारसम्पन्न भए पनि आफूले पाएको अधिकारको उपयोग गर्न पाउन अझै सकेका छैनन् ।

‘समृद्धिको उचाइ अझै पनि हासिल हुन सकेको छैन । मात्रात्मक रुपले त विकास प्रगति भएको छ । सडक, विद्युत खानेपानी जस्ता कुरामा सुधार भएको छ । तर, गुणात्मक रुपमा त्यस्तो भएको छैन ।,’ उनी सुनाउँछन् ।

जनताको जीवनस्तरमा सुधार हुन राज्यको अर्थतन्त्रमा सुधार हुनुपर्ने उनको भनाइ छ ।  

‘जनता प्रजाबाट नागरिक त भए, सार्वभौम त भए तर त्यो अधिकार प्रयोग गर्ने स्तरमा देश पुगेको छैन । समाजमा अहिले पनि सामाजिक विभेद छ । महिला, दलित, बालबालिका, वृद्धवृद्धा अपाङ्गहरुमाथिको विभेद अझै छ ।,’ उनी अगाडि थप्छन् ।

उनको बुझाइमा नेपाल विविध संस्कृतिको संगम हो । तर अहिलेको अवस्थामा त्यो संस्कृतिमा पनि कसैले केही खायो, कसैले केही गर्‍यो भने पनि टिकाटिप्पणी हुने अवस्था छ ।

नेपाली समाज अन्तरघुलित समाज हो । यहाँ विविध भाषा, धर्म र जातिको आफ्नै पहिचान छ । यो समाजमा एक अर्काको संस्कृतिलाई सम्मान गरे मात्र समाज अघि बढ्न सक्छ । सांस्कृतिक रूपले हेर्दा अझै पनि यदाकदा यो तालमेल नमिलेको जस्तो पनि देखिन्छ ।,’ उनी भन्छन् ।
उनी नेपाल संघीयताको प्रक्रियामा आएको ६/८ वर्ष त भएको र परिवर्तनका लागि समय लाग्ने बताउँछन् ।

‘नेपालीलाई छिटो नतिजा चाहिन्छ । नेपालीमा धैर्यताको अलिकति कमी छ । तालमेल अझै मिलेको छैन । हामीले चाहेको भनेको सामाजिक न्याय हो ।,’ उनी अगाडि थप्छन् ।

उनको दैनिकी पनि निकै सामान्य छ । बिहान उठेर केही समय शारीरिक व्यायाम गर्छन् । कहिलेकाहीँ त त्यति गर्न भ्याउँदैनन् । उनी आफूलाई समय परिस्थिति अनुसार चल्ने व्यक्ति भएको बताउँछन् ।

‘म त्यस्तो चिया कफी पनि खादिनँ । बिहान उठेर पानी खाने हो । त्यसपछि एकैपटक खाना खाने हो । साँझ अर्कोपटक खाना खाने हो । दालभात रोटी के पाउँछ त्यो खाने हो । मेरो कुनै स्पेशल रोजाइ पनि छैन । दिउँसो पनि म छुट्टै नास्ता खादिनँ ।,’ उनी आफ्नो दैनिकी सुनाउँछन्, ‘बिहान खाना खान्छु, साँझ खाना खान्छु । कहिलेकहीँ साथीभाइहरुसँग हुँदाखेरी दिउँसो पनि खाइन्छ । जनताको घरमा जे भेटिन्छ, त्यही खाने बानी परेको छ । के मीठो के नमीठो मलाई लाग्दैन ।’

उनी अगाडि थप्छन्, ‘कहिलेकाहीँ नेताहरूले तेरो लवाइ मिलेन भनिरहेका हुन्छन् । यस्तै हो मेरो । म यस्तै छु भन्छु । यतातिर त्यति धेरै ध्यान पुग्दैन । मिलाउन त सकिने कुरा हो त्यो । एउटा लगाउने हो, शरीर ढाक्ने कुरा हो । न्यानो चाहिने हो । सामान्य बुझाइ छ मेरो । कहिले संसदमा भनेकै कोट लगाएर जानुपर्छ भन्ने कुरा हो नत्र म सामान्य लगाएरै काम चलाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?