मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना प्रविधि

थप बुद्धिमानी बन्दै एआई, जोखिम पनि उस्तै

एआईले कुन कुन क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ?

काठमाडौँ– प्रविधिको द्रुत विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हाम्रो दैनिक जीवनको अभिन्न अङ्गजस्तै बन्दै गइरहेको छ । यसको प्रभाव यसरी बढिरहेको छ कि, चाँडै नै एआईले स्वास्थ्य उपचारमा डाक्टरहरूलाई मद्दत गर्नेदेखि लिएर हामीले दैनिक प्रयोग गर्ने प्राविधिक उपकरणमा नै क्रान्तिकारी परिवर्तन ल्याउन गइरहेको छ ।

तीमध्ये केही परिवर्तनहरु हामीले अहिलेको समयमा पनि महसूस गरिरहेका छौँ ।

उदाहरणका लागि गीत, समाचार, निबन्ध, आलेख लेख्न अहिले जेनेरेटिभ प्रि–ट्रेन्ड ट्रान्सफर्मर (जीपीटी) को उपयोग तीव्र गतिमा भइरहेको छ । त्यसैगरी, कृत्रिम तस्वीर बनाउन, गीतमा स्वर र सङ्गीत भर्न पनि एआईले मद्दत गर्दै आएको छ । त्यसबाहेक एआईले छोटो समयमा नै स्वास्थ्य, मनोरञ्जन, वित्त, शिक्षा यातायातजस्ता क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याउन गइरहेको छ ।

यस्तो अवस्थामा यसको भविष्य, यसले पार्न सक्ने सम्भावित जोखिम लगायतका विषयमा धेरै कोणहरुबाट बहस पनि भइरहेका छन् ।

एआईको प्रयोग सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा प्रभावकारी रहने विज्ञहरूको अनुमान छ । उदाहरणका लागि महामारीबारे पूर्वानुमान गर्न एआईको प्रयोग गरिन्छ । संसारभरका नमूना र डेटा सङ्कलन गरेर एआईले वैज्ञानिक र स्वास्थ्य अधिकारीहरूलाई रोग कहिले र कहाँ फैलिन सक्छ भन्नेबारे जानकारी प्रदान गर्न सक्छ ।

यसले स्वास्थ्य प्रकोपलाई नियन्त्रण र समाधान गर्नका लागि समयमा नै पूर्वतयारी गर्न र तत्कालै आवश्यक प्रतिक्रिया दिइहाल्न समेत मद्दत गर्छ ।

एआईले स्वास्थ्य सेवामा ल्याउने अर्को परिवर्तन व्यक्तिगत उपचार पनि हो । एआईले बिरामीको आनुवंशिक जानकारी र रोगको विस्तारबारे गम्भीर विश्लेषण गरेर विशिष्ट उपचार योजना बनाउन मद्दत गर्छ । एआईले फरक बिरामीका लागि विशिष्ट उपचार योजना पनि तयार पार्न मद्दत गर्छ ।

एआईले प्रत्येक बिरामीको विशिष्टतालाई ध्यानमा राख्ने भएकाले यसले तयार पार्ने उपचार योजना प्रचलित उपचार पद्दतीभन्दा बढी प्रभावकारी हुने बताइन्छ ।

एआईले वित्तीय क्षेत्रमा पनि आमूल परिवर्तन ल्याउन गइरहेको छ । एआईले बैंक र वित्तीय संस्थालाई पैसा व्यवस्थापन गर्न ठूलो मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । त्यसैगरी लगानीकर्तालाई उपयुक्त ठाउँमा लगानीका लागि उचित निर्णय पनि एआईले मद्दत गर्न सक्छ ।

एआईले आम मानिसको तुलनामा अत्यन्त तीव्र गतिमा डेटा प्रशोधन गर्न सक्छ । यसले शेयर बजारका साथै अरु लगानीका क्षेत्रको सूक्ष्म मूल्याङ्कन गरी सही समयमा सटिक निर्णय गर्न लगानीकर्तालाई सहयोग पुर्‍याउँछ ।

बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको सेवाका लागि पनि एआईको प्रयोग गर्न सक्छन् । विश्वका धेरै बैंकहरूले एआईबाट सञ्चालन हुने च्याटबटको प्रयोग गरी ग्राहकलाई सेवा दिँदै आएका छन् ।

यसले गर्दा ग्राहकले बैंकबारे थप जानकारी लिन गुनासो पोख्न र पैसाको कारोबारबारे चौबिसै घण्टा विवरण प्रदान गर्न सहयोग गर्छ । यी च्याटबटहरूले प्रश्नहरूको जवाफ दिन सक्छन्, खाता व्यवस्थापनमा मद्दत गर्न सक्छन् र सही आर्थिक योजना बनाउन पनि सहयोग गर्न सक्छन् ।

त्यसबाहेक एआईले वित्तीय क्षेत्रमा हुने जालसाजी पनि पत्ता लगाउन मद्दत गर्छ । एआई प्रणालीहरूले कारोबारको सूक्ष्म विश्लेषण गरेर शंकास्पद व्यवहारलाई पहिचान गर्न पनि सक्छन् । यसबाट मानिसहरूको वित्तीय सम्पत्तिको पैसाको सुरक्षा हुनुका साथै आर्थिक कारोबारलाई थप पारदर्शी बनाउन समेत मद्दत गर्छ ।

यातायातको क्षेत्रमा पनि एआईले आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । खासगरी एआईमा आधारित सेल्फ ड्राइभिङ कारले यातायात क्षेत्रमा नयाँ क्रान्ति नै ल्याइदिने सम्भावना रहेको विज्ञहरु बताउँछन् । अहिले विश्वमा विद्युतीय कारको उत्पादन र प्रयोग बढिरहेको सन्दर्भमा एआईको प्रयोग गरी ती कारलाई आफैँ गुड्ने बनाउन पनि सकिन्छ ।

एआईमा आधारित कारले बाटोको परिवेश बुझेर निर्णय लिने हुँदा चालकविना नै सुरक्षित रुपमा आफैँ दौडन सक्छन् ।

पछिल्लो समय विकास गरिएका सेल्फ ड्राइभिङ कारहरू अत्याधुनिक सेन्सर र उच्च क्षमताका क्यामेरा जडान गरिएको हुन्छ । यसबाट ती कारहरुले सडकको अवस्थिति सडकमा गुडिरहेका अन्य सवारी साधन र पैदल यात्रीहरूको बारेमा डेटा सङ्कलन गरी गाडीलाई सुरक्षित रुपमा चलाउन र गाडी गुड्ने प्रक्रियामा तत्कालै उचित निर्णय गर्न सक्छन् ।

यो प्रविधिले दुर्घटना घटाउने र ड्राइभिङलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

एआईलाई सार्वजनिक यातायातमा पनि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि एआईले सार्वजनिक सवारीको गुणस्तर वृद्धि गरी सटिक समयतालिका निर्धारण गर्न र यात्रुको प्रतीक्षा समय कम गर्न मद्दत गर्छ । त्यसैगरी एआईको प्रयोग गरी शहरको ट्राफिक प्रवाह व्यवस्थापन गर्न पनि सकिन्छ । यसबाट सडकको भीड कम गर्न र यात्रालाई अझ सजिलो बनाउन सकिन्छ ।

एआईले हामीले मनोरञ्जन लिने तरिका पनि परिवर्तन गर्दैछ । नेटफ्लिक्स, युट्युबजस्ता भिडियो स्ट्रिमिङ प्लेटफर्मले हामीले पहिले हेरेका वा सुनेका सामग्रीलाई मध्यनजर गर्दै सोही किसिमका नयाँ चलचित्रहरू, टिभी कार्यक्रमहरू र सङ्गीतहरू सुझाव दिन पनि एआई प्रभावकारी हुनसक्छ ।

यसले हामीलाई मन पर्ने नयाँ सामग्री फेला पार्न सजिलो बनाउँछ । एआईले मनोरञ्जन क्षेत्रमा आमूल परिवर्तन ल्याउने एउटा पाटो भिडियो गेम पनि हो । डेभलपरहरु एएआईको प्रयोग गरेर गेमलाई थप यथार्थपरक र चुनौतीपूर्ण बनाउन गइरहेका छन् ।

साँच्चै भन्दा एआईको भविष्य सम्भावनाहरूले भरिएको छ । तर, एआईले भविष्यमा पार्न सक्ने प्रभाव पनि कम छैन । खासगरी रोजगारीको क्षेत्रमा एआईले ठूलो चुनौती उत्पन्न गर्ने जोखिम छ । अटोमेसन र मेशिन लर्निङको विकाससँगै धेरै कामदारले गर्ने काम लाई विस्थापित गरेको छ ।

एआईको विकासले यसलाई अझै धेरै असर पार्न सक्छ । यसबाट आर्थिक असमानता बढ्ने र कालान्तरमा गएर सामाजिक अस्थीरता नै निम्तिन सक्ने जोखिम रहेको विज्ञहरु बताउँछन् । विशेष गरी एआईका कारण अदक्ष श्रमिकले नयाँ अवसर पाउन कठिन हुनसक्ने देखिन्छ ।

त्यसबाहेक एआईले प्रयोगकर्ताको गोपनियतामा पनि असर पार्नसक्ने अर्को जोखिम छ । एआई फेसियल रेकग्निशन र डाटा एनलाइसिसजस्ता प्रविधिमा आधारित छ । यस्ता डेटा निकै संवेदनशील मानिन्छन् ।

व्यक्तिगत विवरण संकलन र विश्लेषणका लागि एआईले विना अनुमति नै डेटा संकलन गर्ने जोखिम छ । यसबाट नागरिक स्वतन्त्रतामा हस्तक्षेप हुने अर्को चुनौती देखिन्छ ।

एआईले साइबर सुरक्षाको क्षेत्रमा पनि चुनौतीलाई जन्म दिएको छ । एआईको प्रयोग गरी साइबरस्पेसमा कमजोरीहरू पहिचान गर्ने र सोही आधारमा गलत व्यक्ति वा समूहले साइबर आक्रमण गर्ने जोखिम पनि उत्तिकै छ ।

एआईका फाइदा धेरै भए पनि यसबाट उत्पन्न हुने चुनौती पनि कम छैनन् । यसका लागि एआईबारे गहन र खुला बहसको आवश्यकता छ । खासगरी सरकारले समाज अनुकूल एआईको विकास र प्रयोग सुनिश्चित गर्न सक्नपर्ने विज्ञहरु बताउँछन् ।

सरकारले पारदर्शिता कायम राख्दै उचित नीति लागू गर्न सके एआईबाट उत्पन्न हुने जोखिम कम गर्न र यसबा फाइदालाई सही ढंगले प्रयोग गर्न सकिने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?