प्रायजसो मान्छेहरू उज्यालोमा टेलिभिजन हेर्न रुचाउँदैनन् । यसकारण बत्ती बालेर हेर्दा त्यति मजा हुँदैन भनेर राती भए बत्ती निभाएर र दिउँसो भए झ्याल ढोका बन्द गरेर अँध्यारोमा टेलिभिजन हेर्ने गरिन्छ । के तपाईँ पनि त्यस्तै गर्नुहुन्छ ?
के तपाईँको परिवारमा पनि बच्चाहरू अँध्यारोमा नै टेलिभिजन हेर्छन् ? यस्तो हो भने सावधानी अपनाउन आवश्यक छ ।
यदि तपाईँ अँध्यारोमा टेलिभिजन हेर्ने गर्नुहुन्छ भने तपाईँ गल्ती गर्दै हुनुहुन्छ । अँध्यारो कोठामा बसी टेलिभिजन हेर्नु भनेको आफ्नो आँखालाई चाँडै नै बिगार्नु हो । अँध्यारो कोठामा बसी टेलिभिजन हेर्दा हाम्रो लागि चम्किलो प्रकाशको स्रोत टेलिभिजनको स्क्रिन मात्र हुन्छ ।
जब हामी टेलिभिजनबाट अन्य ठाउँमा आँखा पुर्याउँछौ, तब अँध्यारोको कारणले हाम्रो आँखाभित्रको आइरिस मांसपेशीले आँखाको नानीलाई ठूलो पारेको हुन्छ ।
यदि पुनः हामी अँध्यारोबाट टेलिभिजनको पर्दामा आँखा पुर्याउँछौं भने त्यतिखेर हाम्रो आँखाभित्रको आइरिस मांसपेशीले त्यति छिटो आँखाको नानीलाई सानो पारिसकेको हुँदैन ।
टेलिभिजनको पर्दाबाट आएको चम्किलो प्रकाश धेरै मात्रामा हाम्रो आँखाको नानीबाट छिरेर गई रेटिनासम्म पुग्दछ । साधरणतया अँध्यारोमा हाम्रो आँखाको नानीलाई आइरिस मांसपेशीले ठूलो र उज्यालोमा सानो पारेको हुन्छ ।
चारैतिर अँध्यारो, तर कुनै एक ठाउँमा मात्र अत्यन्त बढी चम्किलो प्रकाशको स्रोत छ भने त्यसलाई हेर्न पुग्दा आँखाको नानी तत्कालै सानो हुन नसक्ने भएकोले प्रकाशको किरण आँखाले धान्न सक्नेभन्दा बढी मात्रामा आँखाको नानीमा छिरेर गई रेटिनामा पुग्दछ ।
यसबाट आँखामा बढी बल पुग्न जान्छ र यस्तो घटना बारम्बार हुँदै जाँदा आँखामा आघात पुग्न गई आँखा बिग्रन पुग्छ । त्यसैले अँध्यारोमा टेलिभिजन हेर्नु आँखाको लागि घातक हुने चिकित्सकहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया