काठमाडौँ– कालिकास्थानस्थित सर्वनाम थिएटरमा मंगलवार कला, साहित्य, लेखन तथा पत्रकारिता क्षेत्र लगायत देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो । थिएटरमा अग्रज रङ्गकर्मी अशेष मल्लको निमन्त्रणामा सबैजना नाटक ‘भिक्षाम् देहि’को प्रिमियर शो मा सहभागी थिए ।
नाटकले अहिलेको समकालीन राजनीतिक तथा प्रशासनिक विकृति र विसङ्गतिलाई उदाङ्गो रुपमा प्रस्तुत गरेको भन्दै सबैले मल्लको सिर्जनालाई प्रशंसा गरे ।
मल्लको लेखन र सर्वनामकै २० औं ब्याचका प्रशिक्षार्थीहरुको निर्देशनमा नाटक प्रस्तुत गरिएको थियो । नाटकमा मूलतः मुलुकमा मौलाउँदै गएको भष्टाचार र त्यसैमा जिम्मेवार राजनीतिक दल र नेता कार्यकर्ताहरुको भ्रष्ट प्रवृत्तिको चिरफार गरिएको छ ।
भष्ट्राचारमा लिप्त राज्यका विभिन्न निकायदेखि कर्मचारीहरुकै कारण मुलुक कसरी जर्जर बनिरहेको छ भन्ने तीतो यथार्थलाई नाटकले समेटेको छ । भष्टाचारी प्रवृत्तिकै कारण देशमै केही गर्छु भन्ने युवाहरुले किन अवसर पाइरहेका छैनन् भन्ने कारणलाई नाटकमा खोतल्ने जमर्को गरिएको छ ।
परदेश गएका एक युवा जो देश खोज्दै आफ्नै जन्मभूमि आइपुग्छ । खासमा नेपालको कथा र सौन्दर्यलाई फिल्म मार्फत देखाउन उनी आफ्नै देशमा फिर्छन् । हिमाल र प्रकृतिको सुन्दरता खिच्न हिँडेको युवाले देशभित्रै रुमलिरहेका अँध्यारा कथाहरुलाई देख्छन् ।
तिनै युवाले देशभित्र देखेका, भोगेका कथाहरुलाई उनकै दृष्टिमार्फत नाटकका रुपमा प्रस्तुत गरिएका छन् । नाटकका सुत्रधार तिनै युवाले हिमालको सौन्दर्य मुनि बेरोजगार भएर आफूलाई भुलाउन नसामा झुलिरहेका युवा देख्छन् । साहुलाई ऋण मागेर कतार पठाएको छोरोलाई कुर्दै बसेको बुवाहरुको दुःख पनि उनैले देख्छन् ।
आम जनताको एउटा फाइलमा हस्ताक्षरकै लागि घुस माग्ने कर्मचारी, सत्ताको आँडमा खुलेयाम वन तस्करी गरिरहेका तस्कर, त्यसैलाई टुलुटुलु हेर्न विवश प्रहरी प्रशासन, विपन्न वर्गको जमीनलाई ललाइफकाई कब्जा गरिरहेका दलाल जस्ता सबै प्रवृत्तिहरुलाई ती युवाले नियाल्छन् ।
तीन तहको सरकार, त्यसमा सत्तासिनहरुको नियत, कार्यकर्ताहरुलाई एक–आपसमा भिडाएर भित्रभित्रै साँठगाँठ मिलाइरहेका नेताहरु, बजेट विनियोजन हुँदा देखिने तीन तहको सरकारको प्रवृत्तिलाई समेत उनले देख्छन् । यही उनीहरुको प्रवृत्तिले गरीबहरु झन मारमा परिरहेका छन् । उनीहरुको भ्रष्ट नीति जेष्ठ नागरिकको वृद्धाभत्तामा समेत छ । सत्ता र सरकारलाई गरिबी नै मुख्य स्रोत बन्छन् ।
गरिबी र अभावलाई देखाएर नै उनीहरुले अन्तर्राष्ट्रिय जगतका दातृ निकायहरुसँग अनुदान मागिरहेका छन् । उनीहरुको गरिबीको नाममा भिक्षा मागेर आफ्नो व्यक्तिगत सत्ता र स्वार्थ पूरा गरिरहेका छन् । सत्ताधारीहरु भनिरहेका छन्, ‘ओइ गरीब तँ मर्न पाउँदैनस् । तँ नै हाम्रो स्रोत, अस्तित्व होस् । तँ त झन गरीब हुनुपर्छ । अनि पो हामीले अनुदान पाउँछौं । अनुदान दे, भिक्षाम् देहि, भिक्षा देऊ ।’
यही बिडम्वनालाई देखेका युवाले प्रश्न गर्छन् ‘यस्तो अवस्थामा म मेरो देशको प्रकृतिको सुन्दरतालाई खिचुँ कि यी कथाहरुलाई ?’
यसरी ती युवाको नजरबाट देखेको नेपालको जर्जर अवस्थालाई आम दर्शकहरुले नाटकका दृश्यहरुमा देख्छन् । विश्वमा प्राकृतिक सौन्दर्य र विविधताले भरिएको देशका रुपमा परिचित नेपालको समकालीन दर्दनाक अवस्था यथार्थमा यसरी जेलिएको छ भनेर नाटकले देखाएको छ ।
समग्रमा नाटकको विषयवस्तु राजनीतिक भ्रष्ट चरित्रमाथि व्यंग्य हो । राजनीतिक रुपमा भइरहेको भ्रष्टाचार जस्ता विकृतिहरुले देश बासीले दर्दनाक अवस्था भोगिरहेका छन् भन्ने नाटकको मूल ध्येय हो । खासमा यो नाटक मल्लले सात÷आठ वर्ष अघि नै लेखेका थिए ।
सर्वनामले यसभन्दा अघि नै प्रस्तुत गरिसकेको नाटकलाई पुनः विद्यार्थीहरु निर्देशन र अभिनयमा मार्फत मञ्चन गरिएको हो । नेपाल गणतान्त्रिक मुलुक भएपछि सिर्जना भएको यस नाटक पुरानै भएपनि राजनीतिक सत्ता र सत्ताधारीहरुको प्रवृत्तिमा आज पनि उस्तै मेल खान्छ । हिजो देशमा जसरी सत्ता र सरकारको हालीमुहाली थियो, आज त्यो भन्दा बढी समस्या विकराल भएर गइरहेको छ ।
त्यसकारण यो समयमा पनि नाटक उत्तिकै समयसापेक्ष लाग्छ । जतिबेला सम्म राजनीतिक दल र सत्ताको भ्रष्टाचारी प्रवृत्ति परिवर्तन हुँदैन तबसम्म नाटकको विषयले समकालीन समयमा मेल खाइरहन्छ ।
रङ्गमञ्चमा रङ्गकर्मी मल्लको ध्यानाभिनय सिद्धान्त र मितव्ययी रङ्ग दर्शनको अवधारणा अलग्गै शैलीको रुपमा स्थापित छ । यो नाटकमा पनि उनले त्यही शैलीको अनुसरण गरेका छन् । मल्लको मान्यतामा के छ भने, रङ्गमञ्चलाई भोलिसम्म दिगो राखिरहन ध्यानाभिनय सिद्धान्त र मितव्ययी रङ्ग दर्शनको आवश्यकता आज निकै छ ।
रङ्गमचलाई व्यावसायिक र पेसागत रुपमै अगाडि लैजान सक्ने वातावरण अझै तय भइसकेको छैन । यस्तो अवस्थामा रङ्गकर्मीहरुको रङ्गकर्म प्रतिको हुटहुटी र नाटक प्रेमले मात्र नेपाली नाट्य क्षेत्र यहाँसम्म आइपुगेको धारणा राख्ने मल्ल थिएटरलाई कम खर्च गरौं भन्ने पक्षमा छन् ।
थिएटरलाई कलात्मक बनाउन न्यूनत्तम स्रोत प्रयोग गरेर पनि अर्थपूर्ण नाट्य सिर्जनाहरु गर्न सकिन्छ भन्ने मल्लकै अवधारणा अनुसार नाटकमा विस्तृत सेट, वेषभुषा, कस्ट्युम, प्रप्स, प्रत्यक्ष सङ्गीत, उच्च प्राविधिक पक्षहरुको प्रयोग गरिएको छैन ।
नाटकमा शून्य मञ्चमै हिमाली भेग, खेत, किसान, कर्मचारी, कार्यालय, प्रहरी चौकीलगायत केन्द्रदेखि स्थानीय तहको सरकार र सत्ता अनि तिनको प्रवृत्ति देखाइएको छ । जसमा शारीरिक गति, शिल्प सौन्दर्य जस्ता पक्षलाई जोड दिइएको छ । मुख्य रुपमा शरीरको तादाम्यता र संवादमा अझै बल गरिएको छ । सुत्रधारले सम्पूण कथाहरुलाई बलिया रुपमा बाँध्न जमर्को गरे पनि अहिलेको व्यावसायिक थिएटरको स्वाद लिएका दर्शकहरुलाई भने प्रस्तुति केही फितलो लाग्न सक्छ ।
किनकी नाटकमा कथा र परिवेश दृश्यमा भन्दा पनि शारीरिक हाउभाउ र शब्दमा समेटिएको छ । यद्यपि कलाकारहरुले नाटकको भाव र शब्द अनुसार अभिनय कलामा तादम्यता मिलाउने जमर्को गरेका छन् । नाटकमा प्रयुक्त प्रकाशहरु सामान्य छन् ।
कथा र पात्रको मनोदशा, प्रकाशसँगै यसको सौन्दर्यलाई त्यति जोड दिइएको देखिँदैन । प्रप्सको रुपमा लठी र प्लास्टिक कुर्सी प्रयोग गरिएको छ ।
रङ्गमञ्च हिजोदेखि आजसम्म आइपुग्दा नयाँ पुस्तासँग मल्लको ध्यानाभिनय सिद्धान्त र मितव्ययी रङ्ग दर्शनको अवधारणामा भने मेल खाँदैन । रङ्गमञ्चको मञ्च व्यवस्थानपनकै लागि मात्र पनि लाखौं खर्च गरिरहेका युवापुस्ताहरु मल्लको सिद्धान्त र रङ्ग दर्शनको अवधारणालाई मान्न तयार छैनन् ।
नयाँ पुस्तामा रङ्गमञ्चलाई हिजो जसरी होइन, आजको समयमा दौडाउनुपर्छ भन्ने हुटहुटी देखिन्छ । त्यसैले उनीहरु नाटक रिहर्सलकै लागि महिनौं समय खर्च गरिरहेका छन् ।
नाटक लेखन, निर्देशन र मञ्चनका लागि उनीहरु शारीरिक रुपमा मात्र होइन आर्थिक, सामाजिक र मानसिक रुपमा समेत तयार छन् । यसर्थमा मल्लको पछिल्लो नाटक सिर्जना र शैली यस पुस्ताका रङ्गकर्मीहरुलाई झनै खल्लो लाग्न सक्छ । उनीहरु नाटकलाई शून्य रङ्गमञ्चका रुपमा होइन यसमा सिङ्गो दुनियाँको झलक नै नयाँ–नयाँ अवधारणा र प्रयोगमा देख्न चाहन्छन् ।
यस्तो अवस्थामा ‘रङ्गमञ्च नै कतै दुईधार त देखिने होइन ? भन्ने प्रश्न आम नाट्यकर्मी र नाट्यप्रेमीहरुमा उठ्न सक्छ । भदौ २४ गतेसम्म मञ्चन हुने नाटकमा प्रकाश परिकल्पना तथा परिचालनमा विध्यक तिलक, कोरियोग्राफमा प्रमिला कार्की उप्रेती, ध्वनी संयोजन र परिचालनमा उत्सव पौडेल छन् ।
मञ्चमा
सञ्जय तिमिल्सिना, सञ्जय शाही, अभिषेक फुयल, अप्सना चौलागाईं, अजय पन्त, सौगात त्रिपाठी, प्रतिष्ठा अधिकारी, रञ्जित बस्नेत, अशोक बन्जारा, आषिक चम्लागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया