काठमाडौँ– नेपालमा वर्षेनी एक सयको हाराहारीमा फिल्म निर्माण हुन्छन् । तीमध्ये बढीमा एक दर्जन फिल्मले मात्र आफ्नो कमाइ सुरक्षित गर्छन् भने बाँकी निर्माताको लगानी ‘बालुवामा पानी’ हाले झैँ हुन्छ ।
निर्माताले स्वीकार नगरे पनि एउटा ‘तीतो यथार्थ’ के हो भने उनीहरुले फिल्म त निर्माण गर्छन् । तर, यसबारेमा अध्ययन नै गर्दैनन् । भलै औँलामा गन्न सकिने केही निर्माता तथा निर्देशक भने विश्व स्तरकै फिल्म निर्माणमा लागिपरेका छन् । र, उनीहरूले विभिन्न फेस्टिभलमा भाग लिएर चर्चा पनि कमाइरहेका छन् ।
नेपालमा धेरैजसो फिल्म मिडियाबाजीकै कारण चल्ने भएकाले पनि निर्मातालाई फिल्मको राम्रो चर्चा भयो भने अवश्य हिट हुन्छ भन्ने भ्रम छ । अझ फ्लप फिल्म दिएका कतिपय निर्माता/निर्देशकको तर्क हुन्छ, मिडियामा आएका समाचारकै कारण फिल्म हेर्न दर्शक हलसम्म आएनन् ।
गत जेठ १० गते अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ को समीक्षालाई लिएर समीक्षकलाई निर्माण टिमले धम्की दिएको चर्चा सिनेमा वृत्तमा खुबै चुलियो । निर्माण टिमले ‘पैसा खान नपाएर समीक्षा लेखेको’ आरोप लगाए भने समीक्षा लेखेका अनिल यादवले आफूले इमान्दारिताका साथ समीक्षा लेखेको प्रतिक्रिया दिए ।
त्यसो त फिल्म वृत्तमा समीक्षा लेखेकै कारण मिडिया र पत्रकारमाथि गाली गलौजसहित धम्की दिने प्रवृत्ति कुनै नौलो भने होइन । फिल्म समीक्षाकै विषयलाई लिएर फिल्मी क्षेत्रमा फिल्मकर्मी र समीक्षकहरुबीच यस्ता विवाद र बहसहरू भइ नै रहन्छन् ।
त्यसो त आफ्नो बारेमा टिकाटिप्पणी भएको मन नपराउनुलाई कतिपयले स्वभाविक रूपमा नै लिने गरेका छन् ।
फिल्म वृत्तमा समीक्षा लेखेको भरमा समीक्षकलाई धम्की दिइने गरेका विषय बाहिरिए पनि कतिपय निर्माताले भने समीक्षकले पक्ष र विपक्षमा समीक्षा लेख्ने गरेको आरोप पनि लगाउँदै आएका छन् । एक निर्माता भन्छन्, ‘नेपालमा के छ भने यदि फिल्मको विज्ञापन पाएन भने यो फिल्मलाई त जसरी पनि ठोक्नुपर्छ भन्ने सोच हाबी भएको छ, त्यसैको विरुद्धमा पनि हामीले बेलाबेलामा प्रश्न उठाउने गरेका छौँ ।’
त्यसो त बेलाबेलामा समीक्षकमाथि दर्शक या अरु समकालीन समीक्षकबाटै पनि प्रश्न उठ्ने गरेका छन् । दर्शकले स्वार्थका लागि समीक्षा लेखेको आरोप पनि लाग्दै नलागेका होइनन् । यो क्रम निरन्तर चल्दै आएको छ । र, फिल्म पनि बनेकै छन् ।
निर्देशक निश्चल बस्नेत फिल्म समीक्षालाई फिल्मकर्मीले नै नदेखेको पक्षलाई केलाउने एक सशक्त पक्षका रूपमा हेर्छन् । उनी भन्छन्, ‘हामीले फिल्म एउटा दृष्टिकोणबाट बनाएका हुन्छौं । समीक्षकले त्यहाँ आउन नसकेका कुरा देखाइदिँदा या फिल्म भित्र भएका कमजोरी औल्याइदिँदा हामी सजग हुन्छौं तर समीक्षकले फिल्मको बारेमा समीक्षा गर्ने हो, फिल्मकर्मीका बारेमा होइन ।’
फिल्ममेकरले कुन उद्देश्यले फिल्म बनाएको हो, उसले उक्त फिल्ममा कुन मान्यता राखेको छ, त्यसलाई नबुझिकनै समीक्षा गर्न नहुने उनको तर्क छ । यी पक्षहरुलाई बेवास्ता गर्दै मनलाग्दी समीक्षा गरिन्छ भने त्यसलाई उनी नकारात्मक पक्षका रूपमा लिने उनी बताउँछन् ।
उनी थप्छन्, ‘आफ्नो कामबारे कसैले टिकाटिप्पणी गर्यो भने चित्त दुख्छ । यदि फिल्मलाई बुझेको मानिसले फिल्म समीक्षा गर्छ भने त्यो मेकरका लागि सिक्ने मौका पनि हो ।’
उनका अनुसार जसरी फिल्ममेकरले एउटा नैतिकताभित्र रहेर फिल्म बनाएको हुन्छ । त्यसै गरी समीक्षकले पनि केही नीतिमा बसेर समीक्षा गर्नुपर्ने उनको तर्क छ । यसअघि उनको निर्देशनमा बनेको फिल्म ‘दिमाग खराब’मा उनले राजनीतिक सेरोफेरोमा संघर्ष गरिरहेको पात्रलाई देखाउन खोजिएको थियो ।
कतिपयले उनलाई पार्टीका लागि फिल्म बनाएको भन्ने आरोप समेत लगाएका थिए । आफ्नो त्यस्तो अभिप्रायः नभए पनि एउटा झण्डाको रङ्गले यस्ता कुरा आउँदा आफू सजग भएको उनी सुनाउँछन् ।
फिल्म समीक्षा कडा र आलोचनात्मक गर्नु राम्रो भए पनि समीक्षकलाई राम्रो लागेको पक्षलाई थोरै भनेर मन नपरेको पक्षलाई लिएर पूरै फिल्म नै झुर भयो भन्ने प्रवृतिलाई चाहिँ उनी नराम्रो मान्छन् । समीक्षकले दर्शक बनेर फिल्म समीक्षा गर्न नहुने सुझाव बस्नेतको तर्क छ ।
अर्का निर्देशक दिपेन्द्र लामा भने फिल्मबारे आएका सकारात्मक तथा नकारात्मक दुवै आलोचनालाई फिल्मकर्मीले आत्मसात गर्न सक्नुपर्ने धारणा राख्छन् । यद्यपि आलोचना स्वस्थ हुनुपर्छ भन्ने मान्यतामा भने उनी अडिग छन् ।
नेपाली फिल्मी क्षेत्रमा नकारात्मक आलोचनालाई सहज रुपमा लिन नसक्नु दुर्भाग्य नै भएको उनको तर्क छ । कतिपय फिल्ममेकरलाई आफ्नो फिल्ममा भएको बलियो पक्ष र कमजोर पक्ष दुवै थाहा नभएको उनको बुझाइ छ ।
उनका अनुसार नेपाली फिल्मकर्मीले प्रायः फिल्म नै बुझेका हुँदैनन् । फिल्मकर्मीले आफ्ना दर्शकले फिल्मको कुन पक्षलाई मन पराएको हो भन्ने खासै ध्यान दिन नसकेको हो कि भन्ने उनलाई लाग्छ ।
केही समयअघि प्रदर्शनमा आएको केकी अधिकारीको पछिल्लो फिल्म ‘बोक्सीको घर’ ले बक्सअफिसमा राम्रै आम्दानी गर्यो । यसरी फिल्म चल्नुको कारण के हो ? दर्शकले के कुरामा बढी नोटिस गरे या मन पराए’ भन्नेबारे फिल्मकर्मीले गम्भीर भएर नसोचेको उनको भनाइ छ ।
उनको बुझाइमा नेपाली फिल्मकर्मीले आफ्नो फिल्म र अर्को फिल्मको अन्तर नै थाहा नपाएको देखिन्छ । फिल्ममा हुने यिनै समग्र पक्षमा फिल्म समीक्षकले केलाउन खोजेको पाइन्छ ।
लामा भन्छन्, ‘नेपाली फिल्मी क्षेत्रको घेरा सीमित छ । वर्षभरिमा मुस्किलले आठ/दश वटा फिल्म बन्छ । यसमा पनि फिल्म प्रदर्शन गर्न वर्षौसम्म कुर्नुपर्ने बाध्यता छ । यसरी प्रदर्शनमा आएका फिल्मको समीक्षा गर्ने समीक्षक पाँच/छ जना छन् । यसरी सानो घेरामा घुमेको नेपाली फिल्मको बारेमा भएका टिकाटिप्पणीप्रति फिल्मकर्मीले चासो राख्नु कुनै नौलो विषय होइन ।’
उनको अनुभवमा अन्तर्राष्ट्रिय फिल्मी क्षेत्रमा समीक्षालाई फरक ढङ्गमा लिने गरिन्छ । अन्तर्राष्ट्रिय फिल्मी क्षेत्रमा वर्षमा सयौं निर्माण हुन्छन् । फिल्मबारे टिकाटिप्पणी गर्नेहरु हजारौं संख्यामा हुन्छन् । यसरी ठूलो प्रतिष्ठा कमाइसकेका फिल्मीकर्मीहरुले आफ्नो बारेमा कसैले केही आलोचना गरे पनि कुनै प्रतिक्रिया देखाउँदैन् ।
आफूले कमाइसकेको इज्जत घट्ला भन्ने डर उनीहरुमा भएको लामा सुनाउँछन् । उनका अनुसार प्रतिस्पर्धात्मक बजार रहेको अन्तर्राष्ट्रिय फिल्मी क्षेत्रमा समीक्षालाई स्वतन्त्र रुपमा छोडिएको हुन्छ ।
अर्का समीक्षक तथा फिल्म लेखक सुशील पौडेल पनि १५ वर्ष अगाडि आफूले समीक्षा गर्दा फिल्मीकर्मीहरुले सिध्याउनै लाग्यो भन्ने आरोप लगाएको स्मरण गर्छन् ।
उनका अनुसार पछिल्लो समय फिल्मकर्मीहरुमा पनि समीक्षा पनि चाहिने रहेछ भन्ने आभास भएको छ ।
‘यो पनि फिल्मकै एक पाटो रहेछ भनी समीक्षाको महत्व बुझेको पाइन्छ । अहिले फेयर र तटस्थ भएर लेखेको समीक्षामा फिल्मकर्मी खुसी नै भएको देखिन्छ,’ उनी भन्छन् ।
समीक्षा भन्ने बित्तिकै गाली मात्र गरेर वा नकारात्मक पक्षलाई मात्र देखाउनु होइन भन्ने उनलाई लाग्छ ।
उनका अनुसार समीक्षा गर्नु भनेको कामप्रतिको जिम्मेवारी बोध पनि गराउनु हो । यसमा सबै पक्ष सरल ढङ्गले जानुपर्ने बताउँदै उनी आफूले गरेको गल्ती चाहिँ ठीक हो भन्ने सोच राख्नुभन्दा सबैले गल्ती स्वीकार गर्न सक्नुपर्छ भन्ने पक्षमा छन् ।
कुनै फिल्मप्रति समीक्षकको बुझाइ कम हुँदा पनि कहिलेकाहीँ द्वन्द्वात्मक स्थितिहरु आइपरेको उनले देखेका छन् ।
समीक्षक भन्ने बित्तिकै फिल्कर्मीले भन्दा एक स्टेपमाथि उठेर लेख्न सक्नुपर्छ भन्ने उनको जोड छ । उनी फिल्मकर्मीले पनि समीक्षालाई आफ्नो कामको मूल्याङकन हो भने स्वीकार गर्न सक्नुपर्छ भन्ने धारणा राख्छन् ।
उनको विचारमा एउटा नियममा बसेर समीक्षा गर्यो भने समीक्षक र फिल्मकर्मीबिच द्वन्द्व नै हुँदैन ।
सबै फिल्मकर्मीहरुले आफूले गरेको गल्ती स्वीकार गर्न सक्ने क्षमता विकास हुनुपर्ने उनको मत छ ।
उनी भन्छन्, ‘कुनै फिल्मकर्मप्रति समीक्षकको बुझाइ कम हुँदा पनि कहिलेकाहीँ द्वन्द्वात्मक स्थिति आउँछ । समीक्षक भन्ने बित्तिकै फिल्मकर्मीभन्दा एक स्टेप माथि उठेर लेख्न चाहिँ सक्नुपर्छ ।’
नेपाली फिल्मलाई समीक्षाको पाटोमा हेर्दा तीन किसिमको धार पाइन्छ । सकारात्मक, नकरात्मक वा यसको दुई वटै पाटालाई फिल्मकर्मीले लिने गरेका छन् ।
फिल्मकर्मीले फिल्म बनाउँदा दर्शकको लागि फिल्म बनाएको भन्ने गरिन्छ । दर्शकसँगै समीक्षक पनि आफ्ना फिल्मकै हिस्सा हुन् भन्ने बिर्सने गरेको पनि समीक्षकको तर्क छ ।
कतिपय फिल्मकर्मीले फिल्म हलमा दर्शक नआउनुमा समीक्षकले नै बाधा पुर्याएको हो समेत भन्ने गरेको सुनिन्छ । आफूले बनाएको फिल्म कुन स्तरमा बनेको भन्दा पनि फिल्म दर्शकसँगै र समीक्षकहरुले निमित्त पनि बनाउन लागिएको सोच्नुपर्ने समीक्षहरुको एकै मत छ ।
निर्देशक प्रकाश सायमीले फिल्मका केही बाधक तत्त्वमा समीक्षकलाई पनि लिएका छन् । उनले हलमा सिनेमा चल्न नसक्नुको कारण तीन पक्षलाई देखाएका छन् । जसमा सिनेमा हलका माफिया, अर्धबौद्घिक फिल्म समीक्षक र नेपाली सिनेमाभन्दा विदेशी सिनेमा हेर्ने एलिट क्लास भनेर उनले वर्गीकरण नै गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया