नेपालमा अपार्टमेन्ट किनबेचको चलन आएको धेरै नभए पनि धेरैलाई यो चासोपूर्ण विषय हो । अपार्टमेन्ट व्यवस्थित आवासीय क्षेत्र हो । अपार्टमेन्टमा फ्ल्याट भाडा वा खरिद गरेर बस्न सकिन्छ ।
नेपालमा अपार्टमेन्ट खरिद गर्न र घर बनाउन खर्चको हिसाबले उस्तै–उस्तै पर्ने भए पनि सुरक्षा लगायतका थप सुविधाको हिसाबले अपार्टमेन्टमा बस्ने संस्कृति पछिल्लो समय बढ्दो छ ।
तर अहिले पनि मानिसहरू घर किन्ने कि अपार्टमेन्ट भन्नेमा भने अलमलमा देखिन्छन् । आज हामी यही प्रश्नको उत्तर दिने प्रयास गर्ने छौँ ।
फाइदा र बेफाइदा विभिन्न तरिकाले विश्लेषण गर्न सकिन्छ । घरमा बस्दाका आफ्नै फाइदा छन् भने अपार्टमेन्टमा बस्दाको पनि छुट्टै फाइदा छ ।
यसअघि नै उल्लेख गरियो अपार्टमेन्ट सुरक्षित हुन्छन् । यसका अलावा यसभित्रै अभ्यास गर्ने ठाउँ, स्वीमिङ पुल र ग्रोसरी सुविधा पाइन्छ । अपार्टमेन्टमा बस्दा बालबच्चा कम्पाउण्डमा हिँडडुल गर्न सहजै सक्ने र गुडिरहेको गाडीले ठक्कर दिने जस्ता जोखिम कम हुन्छ ।
सबै तरिकाको सुरक्षाको लागि अपार्टमेन्टमा सुविधा बढी हुन्छ । तर यो घरको तुलनामा बढी खर्चिलो हुन्छ ।
अपार्टमेन्टमा बस्दा पानी, सुरक्षाकर्मी, स्वीमिङ पुल आदि सबै सुविधाको लागि नियमित पैसा तिरिरहनुपर्छ जुन निजी घरमा पनि नियमित शुल्क तिर्नुपर्छ तर यो तुलनात्मक रूपमा अपार्टमेन्टको भन्दा कम पर्न आउँछ ।
कोही मानिस सामाजिक रूपमा घुलमिल भएर बस्न रुचाउँछन् भने कोही एक्लोपनमा रमाउने गर्छन् । छिमेकीसँग राम्रो सम्बन्ध बनाएर बस्न रुचाउनेको लागि घर फाइदाजनक हुन सक्छ भने एक्लै रमाउनेका लागि अपार्टमेन्ट राम्रो हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया