काठमाडौँ– ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ नारासहित आज १७औँ राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २०६५ सालदेखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउँदै आएको हो ।
राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम शुरु भएको छ ।
सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । यहि मूल समारोह समितिको आयोजनामा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ ।
कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ । मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी छ ।
शिक्षा मन्त्रालयको २०७८–७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो ।
तीमध्ये हाल दुई सय २७ वटा पुस्तकालय मात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय सङ्घको महासचिवसमेत रहेका मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया