काठमाडौँ– रङ्गमञ्चमा यतिबेला मौलिक पहिचान, संस्कृति र कथा बोकेका विभिन्न समुदायका नाटक उपस्थितिको लहर छ । किराती च्याब्रुङ होस् या तामाङ समुदायको डम्फुको लय, साकेला र सेलो धुनहरुले रङ्गमञ्च गुञ्जयमान छ ।
आदिवासी कथा बोकेका ती नाटकहरुमा संस्कृतिको लय त छँदैछ, त्यसैमा युगौंदेखि सीमान्तृकत आवाजहरु समेत मुखतृत भएर आएका छन् । त्यही लयमा साथमा साथ मिलाउँदै मगर समुदाय भने यतिबेला ‘सोरठी’को गाथालाई रङ्गमञ्चमा सुनाइरहेका छन् ।
बत्तीसपुतलीस्थित गोठाले नाटकघर शिल्पी थिएटरमा भदौ ७ गतेदेखि मञ्चन शुरु गरिएको नाटक ‘सोरठी’मा यसको संस्कृति र संस्कारको झंकार मात्र होइन सोरठी रानीको गाथा समेत समेटिएको छ । त्यसो त ‘सोरठी’लाई नृत्य र गीतमा नसुन्ने जमात विरलै छन् ।
मगर एवं गुरुङ सुमदायले यसलाई परम्परागत नृत्यका रुपमा मात्र होइन, आफ्नो मौलिक संस्कृतिको अभिन्न पाटोका रुपमा अङ्गाल्दै आएका छन् ।
‘सोरठी’लाई केवल समुदायको परम्परागत नृत्यका रुपमा मात्र परिभाषित गरिरहेको जमातमा यतिबेला यसभित्रको लुकेको सोरठी रानीको जीवनसँग समेटिएको मिथकीय र पौराणिक गाथालाई रङ्गमञ्चमा नाटक मार्फत समेट्ने जमर्को गरिएको छ । लेखक सन्जय काउछा मगरले आफ्नो प्रकाशोन्मुख उपन्यास ‘सोरठी’मा आधारित रहेर यसैलाई नाटकको स्वरुपमा ढालेर ल्याएका हुन् ।
नाटकको निर्देशनमा भने उनीसँगै रङ्गकर्मी संगीता थापामगर छिन् ।
एक त समुदाय विशेष कथा अर्कोतिर समुदायभित्र नै नाटक तथा रङ्गमञ्चीय परम्परा नभएको अवस्थामा रङ्गकर्मी थापामगर जस्ता तन्नेरी युवा पुस्ताहरु निर्देशककै बागडोर सम्हाल्ने जोशले रङ्गमञ्चमा होमिरहेका छन् ।
उनी जस्ता पुस्तालाई काउछा मगरहरुले सहायताको हात दिइरहेका छन् । र त यी युवा पुस्ताहरुले आफूले बाँचेको समकालीन समय मात्र नभएर आफ्नो समुदायमा मिथक बनेर बसेको इतिहासलाई समेत खोतल्ने हिम्मत जुटाएका छन् ।
यही हिम्मतले नै मिथकीय रुपमा समुदायमा युगौंदेखि बाँचिरहेकी सोरठी रानी आज रङ्गमञ्चमा यो पुस्तामाझ नाटक ‘सोरठी’का दृश्यहरुमा समेटेकी छिन् ।
समुदायमा गीतसङ्गीत, नृत्यको लयमा बाँचिरहेकी सोरठी रानीलाई रङ्गमञ्चमा ल्याएको एक साताको दौरानमा समुदाय र गैर समुदायले सोरठी गाथालाई हेरिसकेका छन् । आफ्नै सुमदायको गाथा र संस्कृतिलाई नाटकमा देखाउन र बुझाउन काउछा मगर, थापामगर तथा सिङ्गो सोरठी नाट्य टोली अझै आतुर छन् । उनीहरु नाट्यप्रेमी मात्र होइन आफ्नो मौलिक संस्कार तथा संस्कृति प्रेमीको स्वागतका लागि शिल्पीको प्राङ्गणमा प्रतीक्षारत छन् ।
नाटकको मूलकथा मगर समुदायले मान्दै आएको जैसिङ्गे राजा, हैमती रानी र राजकुमारी सोरठीको वरीपरी घुमेको छ । सोरठी नृत्य, सङ्गीत, मौलिक संस्कृति र कथन अनुसार सोरठी रानीको विषयमा अनगिन्ती किम्वदन्तीहरु भेटिन्छन् ।
ती मध्ये पनि सोरठी रानी राजकुमारीका रुपमा रहेपनि कसरी माझी परिवारको लालनपालनमा सामान्य युवतीकै रुपमा हुर्किइन् र दरवारमा उनको पुनरागमन कसरी भयो भन्ने पाटोलाई नाटकले प्रस्तुत गरेको छ । सोह्र वटी रानीमध्ये कान्छी हैमती रानीको कोखबाट जन्म लिएकी सोरठीले राजदरवारको सुखसयललाई बाल्यकालमा भोग गर्न पाइनन् ।
दरवारभित्रै जालझेलले उनी माझी दम्पत्तिकी छोरी हुन पुगिन् । नदी किरानामा बसेर जाल हान्दै प्रकृतिको लयमा उनको बाल्यकाल यौवनकालमा परिणत भयो । जालमा नदीका माछाहरु समाउँदै फुर्लुङ भर्दाभर्दै उनले मायाप्रेमको भाका सिकिन् । फुर्लुङमा भरिएका माछाहरु भागबण्डा लगाउँदै आइतेलाई उनले प्रेम पनि गरिन् । यद्यपि उनको त्यो प्रेम पूरा भएन ।
जैसिङ्गे राजाको आँखामा परेर उनी दरवार पुगिन् । आफूलाई सन्तान मानी पालेका माझी दम्पत्तिलाई छोडेर उनी दरवार त पुगिन्, तर त्यता पनि जैसिङ्गे राजा र हैमती रानी(बुवाआमा)बाट प्रेमभन्दा वियोग पाइन् । यसरी दरवारसँगको बिछोदेखि वियोगसम्मका सोरठीको वियोगान्त कथालाई नाटकमा देखाइएको छ ।
कतै सोरठीको लय त कतै माझी जीवनका परिवेशहरु नाटकमा सुन्दर ढंगले बुनिएका छन् । सोरठीको लयमा गुञ्जिने भाका होस् या प्रकृतिको लयमा बाँचिरहेका माझी समुदायको शान्त र सौम्य जीवनका रङहरुलाई नाटकले सफल रुपमा समेटेको छ ।
मगर र माझी समुदायलाई तत्कालीन परिवेशमा पुर्याउने संवादको लय, कस्ट्युम र प्रयुक्त प्रप्सहरुमा उत्तिकै लयात्मक छन् । हजुरआमाको स्मृतिबिम्वहरुमा बाँचेका ती आदिमबासीहरुको जीवनको सौन्दर्य साँच्चै प्रकृति जस्तै कञ्चन र सौम्य देखिन्छ ।
मगर र माझी समुदायले बोल्ने भाषाको लवजमा आदिम लयात्मक सौन्दर्य मिसिएको छ । खस नेपाली भाषामा प्रस्तुत गरिएको नाटकमा ती सुमदायका आफ्नै मातृभाषाका विशुद्ध लयहरु मात्र भएको भए कस्तो लयात्मक धुन गुञ्जिन्थ्यो होला भन्ने कुरा नाटक हेर्दै गर्दा कौतुहलता उत्पन्न हुन्छ ।
नाटकलाई हजुरआमा मार्फत फ्ल्यासब्याकलाई नै जोडेर समकालीन समयलाई समेत जोडिएको छ । राजकुमारी कसरी माझी बस्तीमा पुगिन् भन्ने मूल कथालाई शुरुवाती दृश्यमै साङ्गीतिक धुनकै लयमा देखाइएको छ । कथावाचककै रुपमा रहेकी हजुरआमाको कथनबाट नाटकलाई अगाडि बढाइएको छ ।
दरवारको कथालाई संक्षेपमा ल्याएर नाटकको समयलाई छोट्याउन खेलेको निर्देशकको भूमिका उल्लेखनीय देखिन्छ । कथामा भनिएजस्तै सोह्र वटी नै रानीहरु र अनि दरवारको जालझेलको दृश्यलाई नसमेटिकन सोरठीको कथालाई अर्थपूर्ण रुपमा टुङ्ग्याएको छ ।
जसमा आम दर्शकले सोरठीको को हुन्, कसरी माझीसम्म पुगिन्देखि जैसिङ्गे राजाको राजसत्ता त्यागसम्मको गाथा बुझ्छन् ।
दरवारदेखि माझी परिवार होस् या प्रकृतिको लयात्मक ताललाई बुझाउन निर्माण गरिएको मञ्च परिकल्पना अझ विशेष लाग्छ । दरवार, राजाको सिकार दृश्य, नदीकिनारामा जाल हान्दै माछा मारिरहेका माझी समुदाय, नदीको पानीको तरङ्ग, पानी पँधेरोको दृश्य लगायतका प्रयुक्त प्रकाश परिकल्पनाहरुले आदिम जीवनका रङहरु भरेका छन् ।
हैमती रानी होस् या जैसिङ्गे राजाको मगर लवजसहितको अभिनय, यता सोरठी लगायत माझी बस्तीको शान्त तलाउ जस्तो जीवनलाई कलाकारहरुले जीवन्त रुपमा उतारेका छन् । त्यो समयलाई यो समयको तालमा मिलाउँदै हजुरआमाको भूमिकामा देखिएकी कलाकार कविता आलेको अभिनयले दर्शकको मन छुन्छ ।
उनकै माध्यममा आम दर्शकहरु सोरठी गाथा सुनेर यो समयसम्म आइपुग्छन् ।
रङ्गमञ्चमा आफ्नो गाथालाई लिएर नाटक ‘सोरठी’ले बलियो उपस्थिति जनाएको छ । जसले रङ्गमञ्चमा मगर समुदाय मात्र होइन बहुल भाषा र जातिको संस्कृतिहरु पनि जीवितै छन् भन्ने प्रमाण स्वरुप पेश गरेको छ ।
काउछा क्रियशनको प्रस्तुतिमा बिम्व आर्ट्स तथा हलेसी डेकोरको सहकार्यमा प्रस्तुत गरिएको नाटक भदौ ३० गतेसम्म मञ्चन हुनेछ ।
मञ्चमा:
कविता आले मगर, रमिला मोक्तान, मान बहादुर राई, विशाल पुलामी, आरुष जङ्ग सारु, पुनम लक्ष्मी मगर, हेमन्त लामिछाने मगर, निस्सोम मगर, गङ्गा मगर, रमिता राई, सुनिल राई, प्रवीन मगर, अस्मिता बुढा मगर, सञ्जीत थुलुङ राई र खुसी सुनुवार ।
मञ्च परिकल्पना: संगीता थापामगर र इँगिहोपो काँइच सुनुवार
मञ्च निर्माण: शिव परियार, सुनिल राई, मानबहादुर राई, निस्सोम मगर
प्रत्यक्ष सङ्गीत: एलिना राई, युकेश राई र सन्देश मानन्धर
ध्वनी परिचालन: अजय लामा
प्रकाश परिकल्पना: इँगिहोपो काँइच सुनुवार
प्रकाश परिचालन: संजीव योगी
कोरियोग्राफर: मणि के. राई
सङ्गीत, शब्द संयोजन, भेषभुषा: संगीता थापा मगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया