मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तामाङ समुदायको ‘पिवाङ’ बाजा संरक्षणमा लोकबाजा सङ्ग्रहालय

काठमाडौँ– तामाङ समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने थुप्रै बाजाहरु छन् । समुदायको डम्फू, टुङना, ढ्याङग्रो, काङलिङ, स्याङ जस्ता थुप्रै बाजाहरु छन् । ती मध्ये ‘पिवाङ’ बाजा खासै प्रचलनमा देखिँदैन ।

लोपोन्मुख अवस्थामै रहेको यस बाजाको संरक्षणमा अहिले त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको लोकबाजा सङ्ग्रहालय लागिपरेको छ । अघिल्लो हप्ता सङ्ग्रहालय अवलोकनका लागि पुग्दा सङ्ग्रहालयका संस्थापक तथा अध्यक्ष रामप्रसाद कँडेल पिवाङ बाजा तयारीमा व्यस्त थिए ।

बाजामा प्रयोग हुने तारहरु कसेर उनले बाजाको आकार र ध्वनी निकाल्दै थिए । ‘धेरैले पिवाङलाई नचिनेपनि खासमा यो बाजा तामाङ समुदायकै हो,’ उनले भने, ‘उत्तरी भेगका मानिसहरुले बजाउने यो बाजा अहिले हराउन लागिसकेको छ । त्यसैले हामीले बनाउँदै छौं ।’

पिवाङ उच्च हिमाली भेगमा बस्ने तामाङ समुदायले बजाउने बाजा भएपनि यसलाई शेर्पा जातिको बाजाका रुपमा चिनिँदै आएको सङ्ग्रहालयका संस्थापक कँडेलले बताए । उनको अध्ययन अनुसार गुराँसको काठबाट बनाइने यो बाजा रसुवा तथा सिन्धुपाल्चोकको हिमाली भेगमा पाइन्छ ।

यसको तार कस्ने तोक (मुर्रा) भोज पत्रको बनाइन्छ भने यसमा दुई वटा तार हुन्छ । तारलाई धनुले रेटेर ध्वनी निकालिन्छ । धनु भने घोडाको पुच्छरबाट बनाइन्छ । बजाउँदा रौं चिप्लिने भएकोले कँडेल त्यसमा गोब्रे सल्लोको खोटो समेत लगाइरहेका थिए ।

 लोकबाजा सङ्ग्रहालयमा अहिले २० वटा भन्दा बढी पिवाङ बाजाहरु तयारी अवस्थामा छन् भने यसमा कँडेल अरु संख्या पनि थप्दै छन् । एक सय वटा पिवाङ बाजाहरु तयार गरेर बाजासँगै धुन प्रदर्शन गर्ने सुरमा उनी छन् । यसका लागि बाजा बजाउनेहरुलाई प्रशिक्षण समेत दिने योजनामा उनी लागेका छन् ।

‘एउटा सार्वजनिक कार्यक्रममा २० जनाले मात्र यो बाजा बजाएर सुनाएमा यसको संरक्षण र समुदायका नयाँ पुस्ताले समेत बाजा चिन्ने मौका पाउने थिए ।,’ उनले भने ।

यसमा तामाङ समुदायका सांस्कृतिक संघ–संस्थाहरु तथा अगुवाहरुको सहकार्य रहेका सहज हुन्थ्यो कि भन्ने उनको आशा छ । यसका लागि उनले समुदायकै लेखक तथा अध्यताहरुसँग कुराकानी अगाडि बढाएको सुनाए । 

बाँसबाट बनेका सामग्रीहरुको किनबेच कार्यबाट नै ललितपुरको गोदावरी नगरपालिका–११ मा रहेको पुरानो गाउँको नाम नै ‘प्याङ गाउँ’ को रुपमा नामाकरण भएको छ ।

जुन गाउँमा परम्परागत रुपमा बाँसबाट नै भाँडाकुँडाहरु बनाइँदै आएको छ । यही ‘प्याङ गाउँ’, बाँसको कलालाई भने तामाङ सभ्यता, संस्कृतिका अध्यता तथा अनुसन्धाता रवीन्द्र तामाङले ‘पिवाङ’सँग जोडेर यो बाजा तामाङ समुदायकै भएको अनुमान लगाएका छन् ।

‘प्याङ गाउँ’ बासीहरुका अनुसार ‘प्याङ गाउँ’को इतिहासलाई खोतल्दा मल्लकालीन समय जोडिन्छ । मल्लकालीन राजाले नै देशभरका जुनसुकै ठाउँमा गई तामाबाँस काटेर त्यहाँका नागरिकलाई प्याङ बनाएर बेचिविखनका लागि आदेश दिएका थिए । अध्यता तामाङ र सोनी तामाङको संकलन तथा सम्पादनमा प्रकाशित भएको ‘तामाङ लोक कथाहरु’ सङ्ग्रहमा पनि मल्ल राजा र ‘प्याङ गाउँ’को सन्दर्भ जोडिएको छ ।

सङ्ग्रहमा रहेको ‘रणजीत मल्ल र प्याङ पाथि’ लोक कथा अनुसार भक्तपुरका राजा रणजीत मल्ल घुम्दै जाने क्रममा काभ्रेको संखुमा पुग्छन् । त्यहाँ बाँसबाट माना, पाथी, बट्टाहरु बनाइरहेका एक जना तामाङ युवतीसँग उनको प्रेम बस्छ र विवाह हुन्छ ।

लोकलाजकै कारण सन्तान भएपनि राजाले रानीलाई दरवारमा नलगी हालको प्याङ गाउँमा लगेर राखे । त्यसपछि राजाले रानीसँगै उनका आफन्तहरुलाई प्याङ बाँसको कलालाई राजकीय मान्यता दिँदै उनीहरुलाई मकवानपुरको तीन मङ्गले, च्याऊ च्याऊबाट निःशुल्क बाँस काट्ने लालमोहर समेत दिए ।

यसरी उनीहरुको प्याङ कला उपत्यकाभरी फैलिएको थियो । त्यतिबेला राजालाई खुसी पार्न उपहारकै रुपमा प्याङ बासी तामाङहरुले ‘पिवाङ’ बाजा बनाएको हुन सक्ने अध्यता तामाङले जोय नेपालसँगको कुराकानीमा सुनाए । उनका अनुसार यसकै थप खोज र अनुसन्धानमा समेत उनी लागिरहेका छन् ।

ऐतिहासिक सन्दर्भहरु हेर्दा ‘पिवाङ’ बाजा तामाङ समुदायकै देखिएकोले यसको खोज, अनुसन्धान, संरक्षण र संवद्र्धन गरी नयाँ माझ लैजानुपर्ने कुरामा उनले जोड दिए ।

सङ्ग्रहालयको प्रयासलाई समुदायको साथ र सहयोगको अपेक्षा कँडेलले राखेका छन् । उनले नेवारी समुदायको लोपोन्मुख लोक बाजा ‘पिँवाचा’ समेत बनाउने तयारी गरिरहेका छन् । झण्डै तीन दशकको इतिहास बोकेको सङ्ग्रहालयमा हाल ६ सय ५७ थरिका लोकबाजाहरु सङ्ग्रहित छन् ।

वि.सं. २०५४ मा जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाको रुपमा दर्ता भई २०५८ सालमा भद्रकालीमा कोठा भाडामा लिएर सङ्ग्रहालयको स्वरुपमा आएको थियो । २०६४ सालमा गुठी संस्थानबीच सम्झौताअनुसार महादेव मन्दिर परिसरको सतलमा सङ्ग्रहालय सारिएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?